close

‘नो भ्याक्सिन, नो टुरिजम’

‘नो भ्याक्सिन, नो टुरिजम’

Trulli
ADVERTISEMENT

 
कास्की– पोखराका पर्यटन व्यवसायीले कोरोना भाइरसविरुद्ध भ्याक्सिन मागसहित व्यवसाय जीवनरक्षा कोषमा असन्तुष्टि जनाउँदै भद्र आन्दोलन थालेका छन् । ‘नो भ्याक्सिन नो टुरिजम’ मागसहित सोमबार दिनभर व्यवसायी र मजदुर जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसे ।

 

पोखराका पर्यटन सम्बद्ध संघ–संस्थाको छाता संगठन पोखरा पर्यटन परिषद्को नेतृत्वमा भएको प्रदर्शनपछि सहभागीले कोरोनाका कारण पर्यटन व्यवसायमा परेको प्रभाव, यसको असर, व्यवसाय पुनर्जागरण, जीवनरक्षा कोष, बैंक तथा वित्तीय संस्थाको भूमिकासहित सरकारको भूमिका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाए ।

 

पोखरा पर्यटन परिषद् अध्यक्ष गोपीबहादुर भट्टराईले अहिले एकसूत्रीय माग खोप रहेको बताए । पर्यटन क्षेत्रमा आबद्ध व्यवसायी, कर्मचारी, मजदुरसहित ३० हजारलाई तत्काल खोप उपलब्ध हुनुपर्ने उनीहरूको माग छ ।


कोरोना महामारीका कारण डेढ वर्षदेखि पोखराको पर्यटन क्षेत्र शिथिल छ । यसको पुनरुत्थानका लागि प्रदेश सरकारले जीवनरक्षा कोष सञ्चालन गरेको थियो । यसले सबै व्यवसायी नसमेटेको भन्दै कार्यविधि परिमार्जन गर्न उनीहरूले सुझाए ।


जिल्लामा निषेधाज्ञा कायमै रहँदासमेत बाध्य भएर प्रदर्शनमा उत्रिनुपरेको अध्यक्ष भट्टराईले बताए । सरकारी नीतिले वास्तविक व्यवसायीको हित नहुने र यसलाई संशोधनसहित सबैले लाभ पाउने गरी कार्यविधि बनाउन माग गरेका छन् । 


परिषद् उपाध्यक्ष पोमनारायण श्रेष्ठले संवेदनशील क्षेत्र पर्यटन रहेकाले यसलाई जीवन भर्न खोप अनिवार्य आवश्यक रहेकामा जोड दिए ।


उनले खोप नभएसम्म व्यवसाय सञ्चालन गर्न नसकिने उनको भनाइ छ । जिल्ला प्रशासनले पछिल्लो समय २ महिना लामो निषेधाज्ञा खुकुलो बनाउँदै तोकिएकाबाहेक अन्य पसल व्यवसाय सञ्चालन गर्ने अनुमति दिएको छ । 


तर, पोखराका पर्यटन व्यवसायीले खोप नआए पर्यटन क्षेत्र नखोल्ने अडानमा छन् । पोखराको पर्यटन क्षेत्रमै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गरी ६० देखि ७० हजारले रोजगारी पाएका छन् । 
कोरोना कहरले दैनिक १६ करोड रुपैयाँ घाटा हुने अध्यक्ष भट्टराईले जानकारी दिए ।


कास्कीमा २५ असारसम्म कायम निषेधामा गाडीमा जोरबिजोर प्रणाली लागूु गरिएको छ । तर, पर्यटनको ठूलो हिस्सा ओगेटेको होटलसहित रेस्टुरेन्ट, पार्टी प्यालेस, चिया तथा खाजा पसल, मोटेल, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, पार्क, स्विमिङ पुल, स्पा सञ्चालन रोकमा लगाइएको छ ।

 

विदेशी पर्यटकमा भर पर्ने पोखराको टुरिजम क्षेत्रमा डेढ वर्षदेखि तेस्रो मुलुकका पर्यटक देख्न पाइएको छैन । खोप लगाएका पर्यटकलाई निर्धक्कसँग घुम्ने वातावरण मिलाइदिन व्यवसायीले माग गरेका छन् ।