close

हेलिकोप्टरले जोगायो दर्जनौँ महिलाको ज्यान

हेलिकोप्टरले जोगायो दर्जनौँ महिलाको ज्यान

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङमा समयअगावै सुत्केरी व्यथा लागेकी महिलालाई हेलिकोप्टरबाट उद्दार गरेर अस्पताल लगिएको छ ।


सामान्यतः ४० सातामा सुत्केरी व्यथा लाग्नुपर्नेमा ३२ सातामै व्यथा लागेकी साकेला गाउँपालिका वडा नम्बर ४ मात्तिम मानेभन्ज्याङकी २५ वर्षीया सरस्वती कटवाललाई सोमबार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई सेवाबाट खर्च बेहोर्ने गरी हेलिकोप्टरमार्फत उद्दार गरिएको हो ।


जिल्ला अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएलगत्तै कटवालको स्वास्थ्य अवस्थालाई लक्षित गरी राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरेर काठमाडौं पठाइएको हो । 

 

जिल्लामा उपचार हुन नसकेको र गम्भीर स्वास्थ्य समस्या निम्तिने खतरा देखिएपछि जिल्ला अस्पतालले पठाएको पत्रको आधारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाइ सिंहदरबार काठमाडौंलाई आग्रह गरेर सुत्केरी व्यथा लागेकी महिलाको उद्दारका लागि हेलिकोप्टर व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

 

सामान्यतः ९ महिना नपुग्दै जन्मिएका नवजात शिशुको फोक्सो परिपक्व भइसकेको नहुने र एनआइसियुमा राख्नुपर्ने हुनाले कटुवाललाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्दार गरेर काठमाडौं पठाइएको जिल्ला अस्पताल खोटाङका मेडिकल सुपरिटेन्डेन्ट डा. वैभव मल्लिकले बताए । 

 

‘समयअगावै जन्मिएको बच्चाको शारीरिक अवस्था परिपक्व भइसकेको हुँदैन । त्यस्तो बच्चा जन्माउनु ठूलो कुरो होइन, केयर गर्नु महत्त्वपूर्ण हो,’ डा. मल्लिकले भने, ‘त्यो अवस्थामा गर्भवतीलाई गाडीमा अस्पताल पठाउँदा ढिला हुन सक्छ । बीच बाटोमा बच्चा जन्मिए भने झनै ठूलो समस्या आउन सक्ने भएकाले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकोप्टर झिकाइएको हो ।’


यसअघि पनि सरस्वतीले समय अगावै सुत्केरी व्यथा लागेर बच्चा जन्माएको बताइएको छ । यसअघि गर्भवती भएको ८ महिनामै सुत्केरी व्यथाले च्यापेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ८ दोर्पा बुवालुङकी २४ वर्षीया शान्ता कटवाललाई पनि ८ असारमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्दार गरेर प्रसूतिगृह थापाथली पुर्‍याइएको थियो ।

 

दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्दार गर्ने राष्ट्रपति महिला उत्थान कार्यक्रम सुरु भएपछि जिल्लाका दर्जनौं सुत्केरी तथा गर्भवती महिला र नवजात शिशुको ज्यान बचिसकेको छ । 

 

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हालसम्म जिल्लाका १० महिलाको उद्दार गरिएको जनाइएको छ । अधिक रक्तश्रावका कारण सिकिस्त भएकी दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर ५ सछितापोखरीकी रेनुका वन गिरीलाई ११ साउन २०७७ मा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हेलिकोप्टरमार्फत काठमाडौं पुर्‍याइएको थियो ।

 

सछितापोखरी बर्थिङ सेन्टरमा जुम्ल्याहा बच्चालाई जन्म दिएकी रेनुकाको अधिक रक्तश्रावका कारण शारीरिक अवस्था नाजुक बनेपछि उद्दार गरिएको थियो । 

 

यस्तै, बच्चा सकुशल जन्मिए पनि सालनाल अड्किँदा ज्यान जोखिममा परेपछि जन्तेढुंगा गाउँपालिका वडा नम्बर ६ दिप्लुङ केराबारीकी २१ वर्षीया तारा राईलाई ४ असार २०७७ मा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्दार गरिएको थियो । 

 

अधिक रक्तश्राव हुँदा बिरामी परेकी ऐँसेलुखर्क गाउँपालिका वडा नम्बर ३ की सिर्जना तामाङलाई १५ चैत २०७६ मा सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो । त्यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ दिक्तेल हाटडाँडाकी २६ वर्षीया एलिना कार्की (श्रेष्ठ), हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ३ च्यास्मीटारकी २३ वर्षीया रविता विक र खोटेहाङ गाउँपालिका वडा नम्बर ३ सावाकटहरेकी विममाया विकको पनि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्दार गरिएको थियो ।