close

भरतपुर महानगरद्वारा स्वास्थ्य स्वयंसेविकालाई ५० हजार नगदसहित बिदाइ

भरतपुर महानगरद्वारा स्वास्थ्य स्वयंसेविकालाई ५० हजार नगदसहित बिदाइ

Trulli
ADVERTISEMENT

चितवन– चितवनको भरतपुर महानगरले नेपालमै पहिलो पटक ६० वर्ष उमेर कटेका महिला स्वास्थ्य स्वयंसेविकालाई नगदसहित बिदाइ गरेको छ ।

 

लामो समय महिला स्वास्थ्य स्वयंसेविका भएर महिलाको स्वास्थ्यका क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै महानगरले ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र र खादाले सम्मान गरेको हो ।

 

नगरमा कार्यरत २ सय ७ मध्येबाट महानगरको मापदण्ड पूरा गरेका ३६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई नगदसहित सम्मान र बिदाइ गरिएको हो ।

 

कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले ३५ वर्ष बढी लगातार सेवामा रहेका आमा तथा दिदीलाई खाली हात पठाउन मनले नमानेपछि महानगरपालिकाले नीति नै बनाएर नगदसहित सम्मान र बिदाइ गरिएको जानकारी दिइन् ।

 

‘सधैँ सेवामै खटिने आमा तथा दिदीहरूका लागि ५० हजार रुपैयाँ नगद खासै ठूलो नभएपनि महानगरले नमुना कामको थालनी गरेको र आगामी दिनमा महिला स्वास्थ्य स्वयंसेविकाको हितमा निरन्तर लाग्नेछौँ’, दाहालले भनिन् । महिला स्वास्थ्य स्वयंसेविकाका लागि चाडपर्व भत्तादेखि अरू कहाँ, के गर्न सकिन्छ, यसबार छलफल भइरहेको उनको भनाइ छ ।

 

उपप्रमुख पार्वती शाह ठकुरीले स्वयंसेविकाले सेवाबाट अवकाश लिए पनि नयाँ पुस्तालाई आफ्नो ज्ञान दिन र आवश्यक परेका बेला समाजमा सेवा गरिरहन आग्रह गरिन् । आगामी दिनमा महानगरमा कार्यरत स्वास्थ्य स्वयंसेविकाको हितमा काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन् ।

 

‘सम्मान सानो भए पनि त्यसले ठूलो महत्त्व राख्छ’, उनले भनिन्, ‘सम्मानले आगामी दिनमा थप ऊर्जा प्रदान गर्नेछ ।’ 

 

महानगरका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले निःस्वार्थ भावले लामो समयसम्म काम गरेका आमा तथा दिदीबहिनीलाई सम्मान गरिनु आफैंमा सार्थक कामको सुरुआत भएको बताए ।

 

स्वास्थ्य स्वयंसेविका सञ्जाल भरतपुर महानगर अध्यक्ष सुभद्रा श्रेष्ठले महानगरले आफूहरूका समस्या समाधानमा ध्यान दिएको र आगामी दिनमा पनि थप सहयोग हुनेमा आशावादी रहेको बताइन् ।

 

भरतपुर महानगर वडा नम्बर २७ की महिला स्वास्थ्य स्वयंसेविका लक्ष्मी भुसालले महानगरले नगदसहित सम्मान गरेपछि भाग्यमानी महसुस गरेको सुनाइन् । सहयोग रकमले सुनको गहना किन्ने बताइन् । भरतपुर वडा नम्बर १६ मा कार्यरत लीलादेवी पौडेलले महानगरले सम्मान गरेको रकम धार्मिक कार्यमा खर्चिने चाहना रहेको सुनाइन् ।

 

भरतपुर महानगरका नजस्वास्थ्य अधिकृत केशव भट्टले महानगरमा कार्यरत २ सय ७ मध्ये पछिल्लो कार्यविधिमा उल्लेख्य भएको व्यवस्थाअन्तर्गत ३६ जनालाई नगद सम्मानसहित बिदाइ गरेको जानकारी दिए । अझै केही स्वयंसेविका ६० वर्ष उमेर पुगेका र बिदाइ हुन नचाहनेलाई अर्को वर्ष बिदाइ गरिने उनकोे भनाइ छ

 

भरतपुर महानगर जनस्वास्थ्य प्रवद्र्धन शाखाका निमित्त प्रमुख सूर्य तिवारीले मातृ मृत्युदर र बाल मृत्युदर घटाउन स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

 

२०४५ देखि राज्यले स्वास्थ्य स्वयंसेविका नियुक्त गर्ने र परिचालन गर्ने योजना बनाएकाले सोहीअन्तर्गत महानगरमा महिला दिदीबहिनीहरूले निरन्तर काम गरिरहेको उनको धारणा थियो ।