close

कोरोनाले सुनसान भए इटहरीका पर्यटकीय स्थल

कोरोनाले सुनसान भए इटहरीका पर्यटकीय स्थल

Trulli
ADVERTISEMENT

सुनसरी– सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको पर्यटकीय स्थल तालतैयामा कोरोना महामारीको असर परेको छ ।

 

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लागू गरेको निषेधाज्ञाका कारण तालतलैयालाई आर्थिक तथा भौतिक विकासमा असर पारेको ताललैया विकास तथा संरक्षण समितिका अध्यक्ष वीरबहादुर लिम्बूले जानकारी दिए ।

 

पटक–पटक समय थप गरी लागू गरिएको निषेधाज्ञाका कारण करिब ७६.७५ हेक्टर क्षेत्रफलमा फैलिएको यो पर्यटकीय स्थल यतिबेला सुनसान छ ।

 

यही क्षेत्रफलभित्रका प्राकृतिक सम्पदा र मानव निर्मित मनमोहक दृश्यले तालतलैयाको लोकप्रियता बढाएको छ । यही मनमोहक दृशय हेर्न यहाँ आन्तरिक तथा केही भारत तथा बंगलादेशी पर्यटकको घुइँचो लाग्ने गरेको थियो ।

 

तिनै पर्यटकबाट उठेको पैसाले यहाँका भौतिक विकास, कर्मचारीको तलब र पशुपक्षीको आहारा जुट्दै आएको थियो । अहिले सुनसरीमा निषेधाज्ञा परिमार्जन गरेर खुकुलो बनाइएको छ । पसल तथा व्यवसाय सञ्चालनमा आएका छन् । 

 

यातायातका साधन पनि सञ्चालन भइरहेका छन् । अन्यले कोरोनाको असरलाई ‘ओभरकम’ गर्न लागिपरे पनि पर्यटन व्यवसाय भने लयमा फर्कन सकेको छैन ।

 

तालतलैयाजस्ता पर्यटकीय स्थलमा बढी भीडभाड हुने भन्दै अहिले नै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसीं) ले सञ्चालन अनुमति दिएको छैन । फलस्वरूप यसमा आबद्ध सबैलाई असर परेको छ । पहिलो चरणको कोरोनाका कारण ठूलो असर बेहोरेको पर्यटन क्षेत्र अझै उक्सिन सकेको छैन ।

 

सामान्य समय दैनिक हजारदेखि १ हजार ५ सयसम्म पर्यटक आउने तालतलैयामा कोरोना संक्रमणका कारण घुम्न आउने पर्यटकको संख्या शून्य भएको अध्यक्ष लिम्बू बताउँछन् ।

 

‘कोरोनाले तालतलैयाको पर्यटनलाई असर पर्यो । यहाँ निषेधाज्ञाअघि दैनिक हजारदेखि १ हजार ५ सयसम्म पर्यटक आउने गरेका थिए’, अध्यक्ष लिम्बूले भने, ‘तर कोरोनाले त्यो संख्या शून्यमा झरको छ । पर्यटक नआउँदा यहाँको आय शून्य भएको छ ।’ 

 

यहाँको मुख्य आमदानी नै घुम्न आउने आगन्तुकबाट उठाइएको दस्तुर हो । यसबाट यहाँका कर्मचारीको तलब, संरक्षित पशुपक्षीको आहारा र भौतिक विकासलाई धान्दै आएको थियो । 

 

अहिले आम्दानी शून्य भएको र मौज्दात पनि कम भएकाले आर्थिक संकट आइपर्न लागेको अध्यक्ष लिम्बू बताउँछन् । आम्दानी हुन छाडेपछि तालतलैयामा काम गर्ने कर्मचारी आलोपालोमा आउने गरेका छन् । यहाँ कुल १७ कर्मचारी कार्यरत छन् । 

 

उनीहरूमध्ये आधालाई एक साता र आधालाई अर्को साता गरी आलोपालो प्रणालीमा काममा लगाइँदै आइएको छ । अहिलेको मौज्दात आम्दानीले साउनभरि आहाराको व्यवस्थापन गर्न पुग्ने अध्यक्ष लिम्बूले जानकारी दिए ।

 

‘हामीसँग १७ जना कर्मचारी छन् । उनीहरूलाई आलोपालोमा बोलाउँछौँ’, अध्यक्ष लिम्बूले भने, ‘तलब दिन पनि धौधौ हुन थालेको छ । आहारा पनि दुःखसुख व्यवस्थापन गर्दै छौँ । साउनभर पुग्छ । त्यसपछि कता माग्न जानुपर्ने हो थाहा छैन ।’ 

 

त्यति मात्र होइन, यहाँ हेर्नलायक अन्य भौतिक संरचनाको विकासमा पनि कोरोनाले ठूलो असर परेको छ । अहिले जीर्ण हुँदै गएका संरचनाको सामान्य मर्मतबाहेक समितिले अन्य केही गर्न सकेको छैन ।

 

यस्तै, यहाँ रहेका ताल तथा पोखरीको सामान्य सरसफाइको मात्र समितिले काम गर्न सकेको छ । ‘अन्य कुरा जेनतेन चलिहरको छ’, अध्यक्ष लिम्बूले भने, ‘यहाँको विकासको काम ठप्प नै भएको छ । वृक्षारोपण र सरसफाइबाहेक केही गर्न सक्ने अवस्था छैन ।’

 

तालतलैयाको आफ्नै नर्सरीबाट अहिले विभिन्न जातका बिरुवा रोप्ने काम भइरहेको अध्यक्ष लिम्बूले जानकारी दिए । अहिले इटहरी उपमहानगरले पशुपक्षीलाई आहारा खुवाउन आवश्यक पर्ने डुँड सहयोग गरेको छ । 

 

यस्तै, उमहानगरले फोहोर फाल्न आवश्यक डस्टबिन पनि सहयोग गरेको छ । उपमहानगरले कुहिने फोहोर हाल्न ६ वटा र नकुहिने फोहोर हाल्न ६ वटा गरी १२ वटा डस्टबिन तालतलैया विकास तथा संरक्षण समितलाई हस्तान्तरण गरेको छ ।

 

पर्यटकीय स्थल तालतलैयामा बोट–बिरुवा रोप्न आवश्यक पर्ने गमला पनि उपमहानगरले सहयोग गर्ने भएको छ । उपमहानगरले ५० वटा गमला दिने प्रतिबद्धता जनाएको अध्यक्ष लिम्बूले जानकारी दिए ।