close

पहिरो पीडितलाई पालिकाको घर उपहार 

पहिरो पीडितलाई पालिकाको घर उपहार 

Trulli
ADVERTISEMENT

गोरखा- २०७२ को भुकम्पले घर लडेपछि गोरखास्थित अजिरकोट गाउँपालिका १ साउनेपानीकी आशमाया गुरुङको दिनचर्या त्रिपाल मुनि नै करिब ६ वर्ष वित्यो । जसोतसो घर बनाइन्, भुकम्पले नभत्काउने गरी । यो बीचमा सानातिना भुकम्प आए पनि । भुकम्पका कैयन परकम्पनले  नभत्किएको घर २०७७ को असोजमा पहिरोमा पर्‍यो । ९ महिनासम्म टहरो बनाएर गुजारा चलाइन् । गुरुङको पछिल्ला दिन घरमा बस्ने आस हराइसकेको थियो । तर आस मारेको वर्षदिनभित्रै उनले नयाँ चिटिक्कको घर पाएकी छन् । 

 

घर भत्किएपछि उनलाई नयाँ घर बनाउने जाँगर थिएन । सँधै घर बनाउने पैसा जुटाउन मुस्किल हुने नै भयो । यसपालि भने आशमायालाई घर बनाउने पैसा स्थानीय सरकारले दियो । पालिकाको तीन लाख सहयोगमा पहिरोले लगेको भन्दा राम्रो घर बनाएकी छिन् उनले । 

 

तीन-तीन लाख रुपैयाँका दरले सहयोग उपलब्ध गराएको थियो । अहिले सबैले नयाँ घर बनाइसकेका छन् । सुख्खा पहिरोले घर बगाएपछि बिस्थापित भएका आशमाया जस्तै गणेश गुरुङ, सनमाया गुरुङ, लक्ष्मण गुरुङ र पूर्णबहादुर गुरुङलाई आर्थिक सहायता गरिएको हो । 

 

‘प्रत्येक घरधुरीलाई ३ लाख दियौं । घर उनीहरुले नै बनाए । डिजाईन चाहिँ भुकम्पको मापदण्डअनुसार बनाएका छन्,’ गाउँपालिका अध्यक्ष फणिन्द्र धितालले भने, ‘वडा नम्बर ५ मा अरु दुईवटा घर बस्न योग्य छैनन् । उनीहरुको पनि निर्माण प्रक्रियामा अघि बढेको छ ।’  सरकारले बाढी पहिरोबाट घर भत्केका परिवारलाई हिमाली भेगमा ५ लाख, पहाडमा ४ लाख दिने भनेको छ । थप रकम आए पीडित परिवारलाई उपलब्ध गराउने धितालले सुनाए । 


‘जनताको घर छैन भने सरकार भएको महसुस कसरी गर्छन् ? घरबारविहीन भएका नागरिकलाई घर बनाउन आर्थिक सहयोग गर्ने योजना अनुसार नै रकम दिएका हौं,’ उनी भन्छन्, ‘घर नहुँदा टहरामा, छाप्रोमा, भत्किएको घरमा कष्टकर गुजारा चलाउनुपर्ने अवस्था थियो । अब त समस्या छैन ।’ घर बनाउने पैसा पाएपछि पीडित परिवार पनि खुसी छन् । पालिकाले आर्थिक अवस्था कमजोर भएका पीडित परिवारलाई सहयोग गर्ने नीति बनाएको छ ।