close

बढ्दै छ सामुदायिक विद्यालयमा विद्यार्थीकाे आकर्षण

बढ्दै छ सामुदायिक विद्यालयमा विद्यार्थीकाे आकर्षण

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरका सविन श्रेष्ठ च्याम्हासिंहस्थित बागिश्वरी माध्यमिक विद्यालयमा अध्ययन गर्छन् । निजी विद्यालयमा पढ्दै आएका उनी अभिभावकको निर्णयसँगै सामुदायिक विद्यालयमा पढ्न पुगे । सानै कक्षादेखि निजी विद्यालयमा गएका दीपज्ज्वल बानिया कोरोना सुरु भएसँगै पञ्चकन्या माध्यमिक विद्यालयमा पढ्न थाले । चाँगुनारायण नगरपालिका वडा नम्बर ८ बस्ने उनी पढ्नलाई कमलविनायकस्थित विद्यालयमा जान्थे । तर, कोरोना बढेसँगै नजिकैको विद्यालय पढ्न थाले ।

 

‘निजी स्कुलमा पैसा तिर्न गाह्रो भयो । पढाइ पनि अहिले उस्तै हो । के सरकारी, के निजी ?’ उनी भन्छन्, ‘आजभोलि सामुदायिक विद्यालयमा पनि पढाइ राम्रो छ । नेपाली÷अंग्रेजी दुवै माध्यमबाट पढाइ हुन्छ ।’ ‘सरकारी स्कुलमा खासै पैसा तिर्नुपर्दैन । घर नजिकै भएकाले केही समस्या परे तुरुन्तै विद्यालय पठाउन सक्ने हुँदा सामुदायिक विद्यालयमा भर्ना गरिदिएँ । राम्रैसँग पढ्दै छ,’ उनका अभिभावकले थपे ।

 

सोही पालिकाकी अनुष्का श्रेष्ठ बागिश्वरी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययन गर्दैछन् । कक्षा ८ सम्म निजी विद्यालय अध्ययन गर्दै आएकी उनी कोरोना सुरु भएसँगै सामुदायिक विद्यालयमा पढ्ने निधो गरिन् । ‘स्कुल बन्द भएको समय पनि शुल्क लिने कुरा भयो । अनि, आमाले सामुदायिक विद्यालयमा भर्ना गरिदिने कुरा गर्नुभयो,’ उनी भन्छिन्, ‘मलाई पनि मन पर्ने भएकाले खुसी–खुसी भर्ना हुन गएँ । पढाइ पनि पहिलाको विद्यालयभन्दा राम्रो छ ।’

 

पहिलेको तुलनामा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढेको बताउँछन्, सामुदायिक विद्यालयका शिक्षक । खरिपाटीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयमा यो वर्ष मात्रै विद्यालयमा करिब सय जना विद्यार्थी बढेका छन् । विद्यालय प्रशासनका अनुसार कुनै समय एउटा कक्षामा विद्यार्थी नै थिएनन् । कक्षा नै शून्य रह्यो । यो क्रम ३ वर्षसम्म निरन्तर भयो । तर, अहिले सोही कक्षामा २८ जना विद्यार्थी छन् । 

 

विद्यालयका निवर्तमान प्रधानाध्यापक अरुणकुमार चौधरी विद्यालयले भौतिक पूवार्धारलाई मात्रै नभई शैक्षिक गुणस्तरमा समेत जोड दिइएको बताउँछन् । कुनै समय बाहिर र स्थानीय विद्यार्थीको संख्या शून्य रहेको विद्यालयमा अहिले ५० प्रतिशत स्थानीय र ५० प्रतिशत बाह्य जिल्लाका विद्यार्थी रहेको उनले सुनाए । 

 

पछिल्लो समय निजी विद्यालयका विद्यार्थीको आकर्षण सामुदायिक विद्यालय रहेको बताउँछन्, मेधा माध्यमिक विद्यालयका प्रधानाध्यापक गंगाधर हाडा । उनका अनुसार नाम चलेकै निजी विद्यालयका विद्यार्थी पनि सामुदायिक विद्यालय आउन थालेका छन् । विद्यालयका शिक्षकको कार्य र सिकाइमा आएको गुणस्तरले अभिभावकको मन जितको उनको बुझाइ छ । 

 

धेरै विद्यार्थीको चाहना हुँदाहुँदै पनि विद्यालयको भवन सीमित भएकाले सबै विद्यार्थीलाई भर्ना गर्न नसकिएको उनको भनाइ छ ।

 

जनप्रतिनिधि आएसँगै फेरिए सामुदायिक विद्यालयका मुहार

संघीय सरकार आएसँगै माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय सरकारलाई दिइएको छ । सोही अधिकारलाइै टेक्दै स्थानीय सरकारले विद्यालय सिकाइ विकासका लागि तालिमसँगै विभिन्न योजनासमेत कार्यान्वयन गर्दै आएका छन् । चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्रका अनुसार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका लागि पालिकाले केही विद्यालय गाभेको छ । नगरभित्रका सामुदायिक र निजी विद्यालयलाई प्रतिस्पर्धी बनाउँदै लगेको छ । 


‘कक्षा ८ को परीक्षा समान खाले प्रश्नपत्रबाट गर्न लगायौँ । अतिरिक्त क्रियाकलाप पनि गर्न लगायौँ,’ उनले भने, ‘सुरुमा निजी विद्यालयका विद्यार्थी अगाडि आए । अहिले सामुदायिक विद्यालयका विद्यार्थी नै प्रतिस्पर्धा जित्न थालेका छन् ।’ 

 

स्थानीय जनप्रतिनिधि आएसँगै विद्यालयको भवन बनेका, राम्रा शिक्षक ल्याइएको र विद्यालय व्यवस्थापन समिति गठन गरिएको उनले बताए । ‘शिक्षकलाई तालिम दियौँ अनि सिकाइमा ध्यान दिन लगाएकाले नै ४ वर्षयता सामुदायिक विद्यालयको गुणस्तर उल्लेखनीय रूपमा बढेको छ,’ उनले भने । सूर्यविनायक नगरपालिकाले ४ वर्षयता अधिकांश विद्यालयको भौतिक संरचना निर्माण गरेको बताउँछिन्, उपप्रमुख जुना बस्नेत । ४ वर्षमा विद्यालय मर्जका साथै सिकाइ विकासमा ध्यान दिएको उनले उल्लेख गरिन् ।

बस्नेतले सामुदायिक विद्यालयमा नयाँ पुस्ताका शिक्षकलाई अवसरका दिन पुराना पुस्ताका शिक्षकलाई पुरस्कारसहित बिदाइ गरिँदै आएको जानकारी दिइन् । मध्यपुर थिमिका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले पालिकासँगै शिक्षकको प्रयासले सामुदायिक विद्यालयको सिकाइमा परिवर्तन आएको बताउँछन् । नाम चलेका नाम चलेका निजी विद्यालयका विद्यार्थी नै सामुदायिक विद्यालयमा आएर पढ्न लागेको उनले सुनाए । 

 

कोरोनाले थपिएको ऊर्जा 

कोरोना महामारी आएसँगै सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढेको प्रधानाध्यापकहरू बताउँछन् । कोरोनाले विद्यार्थी मात्रै होइन, अभिभावकले पनि चासो दिन थालेको महेन्द्रग्राम माध्यमिक विद्यालयका प्रधानाध्यापक सोम श्रेष्ठले बताए । 
नयाँ भर्ना अभियान सञ्चालन गरेको केही दिनमै करिब ५० जना विद्यार्थी बढेको उनले जानकारी दिए ।

 

उनका अनुसार अनलाइन कक्षामा नानीसँगै अभिभावक पनि बस्नुपर्छ । यसले सामुदायिक विद्यालयका शिक्षकले गरेको मिहिनेत अभिभावकले पनि देखेकाले नै सरकारी स्कुलप्रतिको दृष्टिकोण फेएिको उनको बुझाइ छ । 

 

सामुदायिक विद्यालयमा पढेका अभिभावकका नानी निजी विद्यालयमा पढ्न जाने गरेका छन् । ती अभिभावकले पुराना शिक्षकको सिकाइ बिर्सेका छैनन् । त्यसैले निजीलाई सिकाइमा राम्रो र सामुदायिकलाई नराम्रो मान्दै आएका हुन् । ‘अहिले अधिकांश अभिभावकले प्रत्यक्ष हाम्रो मिहिनेत देख्नुभएको । सोही कारण सामुदायिक विद्यालयमा विद्यार्थी बढ्न थालेका हुन्’, श्रेष्ठले भने । 

 

विद्यालयसँगै घरमा पढ्छन् विद्यार्थी

कोरोना महामारीले सबै विद्यालयले अनलाइनमार्फत पढाउँदै आएका छन् । अनलाइनका लागि विद्यार्थीसँग मोबाइल र नेटको सुविधा अनिवार्य हुन्छ । तर, सबै विद्यार्थीसँग उक्त सुविधा नहुने स्वीकार्छन्, सामुदायिक विद्यालय ।

 

‘भौतिक रूपमा कक्षा सञ्चालन गर्न नहुने अवस्थामा भर्चुअल विधिबाटै कक्षा सञ्चालन भइरहेको छ । तर, सबै अभिभावकको क्षमता हुन्न,’ चौधरीले भने, ‘सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी गरिखाने वर्गका हुन्छन् । एकै परिवारका सबै नानी पढ्ने उमेरका हुन्छन् ।’ 

 

नेट नभएका र मोबाइल नभएका नानीलाई विद्यालयमा ल्याएर पढाउने गरेको उनी सुनाउँछन् । ‘हामीसँग ल्यापटप छ । पालिकाले नेटको व्यवस्था गरिदिएको छ । हामी आफंैले पनि गरेका छौँ । घरमा सुविधा नभएका विद्यार्थीलाई विद्यालयमा सामाजिक दूरी कायम गरी पढाउँछौँ’, उनले भने ।