close

मध्यबिन्दुको न्यायिक समिति: १२२ मध्ये ८५ मुद्दा फर्स्याेट 

मध्यबिन्दुको न्यायिक समिति: १२२ मध्ये ८५ मुद्दा फर्स्याेट 

Trulli
ADVERTISEMENT

नवलपुर- पालिकामा क्रियाशील न्यायिक समितिबाट हुने न्यायिक निरुपणमा स्थानीयको विश्वास बढ्न थालेपछि मध्यबिन्दु नगरपालिकाको न्यायिक समितिमा मुद्दाको चाप बढेको छ । नगर उपप्रमुख ओमकुमार महतोको संयोजकत्वमा रहेको मध्यबिन्दु नगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०७७/७८ मा ८५ वटा मुद्दा फर्स्याेट गरेको छ ।


आर्थिक वर्ष २०७६/७७ मा ६५ वटा मात्रै मुद्दा आएको न्यायिक समितिमा २०७७/७८ दोब्बर बढी मुद्दा परेका छन् । कुल १२२ वटा मुद्दा परेको न्यायिक समितिमा ८५ वटा मुद्दा फर्स्याेट हँुदा ३७ वटा प्रक्रियामा रहेको नगरपालिकाकी मेलमिलाप सहजकर्ता सरिता केसीले बताइन् ।


न्यायिक समितिमा आउने अधिकांश मुद्दामा दुवै पक्षलाई जित हुने गरी मेलमिलाप गरिने भएकाले यसमा स्थानीयको विश्वास बढ्दै गएको केसीको अनुभव छ । न्यायिक समितिमा आउने अधिकांश मुद्दा पतिपत्नीबीचको विवाद, पारिवारिक झगडा र जग्गा साँधसम्बन्धी हुने गरेको मध्यबिन्दु नगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक महतोले बताए ।


‘अधिकांश मुद्दा पारिवारिक नै हुन्छन् । त्यसैले न्यायिक समितिमा आउने मुद्दा छलफलमार्फत मेलमिलाप हुने गरेको छ,’ न्यायिक समिति संयोजक महतोले भने, ‘२०७६/७७ मा मेलमिलापन हुन नसकेका ५ वटा मुद्दा अन्य निकायमा पठाएका थियौँ । यसपटक ८५ वटा मिलायौँ । ३७ वटा प्रक्रियामा छन् ।’

 

न्यायिक समितिलाई प्रदान गरिएको अधिकार क्षेत्रभन्दा बाहिरका मुद्दामा समेत न्यायिक समितिमा उजुरी दिन आउने गरेको मेलमिलाप सहजकर्ता केसीले जानकारी दिइन् । त्यसरी आएका मुद्दालाई सम्बन्धित निकायमा जान सुझाव दिने गरेको उनको भनाइ छ ।


केसीका अनुसार आव २०७७/७८ मा पतिपत्नीबीचको विवादका ३९ वटा मुद्दा परेकामा ३१ वटा मेलमिलाप भएको छ भने ८ वटा प्रक्रियामा छन् । यीमध्ये २ जना सम्पर्कमा नआएको र एउटा विदेश गएका छन् । त्यस्तै, परिवारिक विवादका ८ मुद्दामा ५ वटा मेलमिलाप हँुदा ३ वटा प्रक्रियामा, जग्गा साँधसम्बन्धी विवाद ३५ वटामा २४ मेलमिलाप हुँदा ११ वटा प्रक्रियामा रहेका छन् ।


यीमध्ये २ वटा सम्पर्कमा नआएका र एउटा आफैं मिलेको केसीले सुनाइन् । लेनदेनसम्बन्धी विवादका ५ वटा मुद्दामा ४ वटामा मेलमिलाप हुँदा बाँकी रहेको एउटा आफैं मिलेको केसीको भनाइ छ । बाटो विवादका ८ मुद्दामा ४ वटामा मेलमिलाप हँुदा ४ वटा प्रक्रियामा, प्रदूषण फैलाएको ६ वटा मुद्दामा ४ वटामा मेलमिलाप हँुदा बाँकी २ वटा मुद्दामा दुवै पक्ष सम्पर्कमा आएका छैनन् ।


पोखरीसम्बन्धी एउटा मुद्दा मेलमिलाप, खानेपानीसम्बन्धी विवाद २ वटामा एउटा मेलमिलाप र अर्को प्रक्रियामा, साँधमा बिरुवा लगाएको ६ वटा मुद्दामा ५ वटामा मेलमिलाप हँुदा एउटा आफैं मिलेका छन् । कुलोसम्बन्धी ५ वटा मुद्दामा एउटा मेलमिलाप हुँदा ४ वटा प्रक्रियामा रहेका छन् भने २ वटामा आफैं मिलेको केसीले बताइन् ।


घरसम्बन्धी एउटा मुद्दामा दोस्रो व्यक्तिको ठेगाना थाहा नभएको, ज्येष्ठ नागरिकसम्बन्धी विवाद एउटा परेकामा मेलमिलाप, गालीबेइज्जतीसम्बन्धी विवाद २ वटा परेकामा दुवैमा मेलमिलाप, पोल्ट्री फार्मको एउटा विवादमा मेलमिलाप, आलीधुर विवाद एउटामा मेलमिलाप र बलेसीको पानी झारेको विवाद एउटा प्रक्रियामा छ ।