close

उदयपुरमा साढे २४ हजारलाई खोप दिइँदै

उदयपुरमा साढे २४ हजारलाई खोप दिइँदै

Trulli
ADVERTISEMENT

उदयपुर–  जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले सोमबारबाट २४ हजार ५ सय जनालाई कोभिडविरुद्धको भेरोसिल खोप लगाउँदै छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले ५५ वर्षमाथिका नागरिकका लागि भेरोसिल खोप लगाउन थालेको हो । 

 

शनिबार प्रदेश स्वास्थ्य निर्देशनालयमार्फत उदयपुर आइपुगेको २४ हजार ६ सय डोज खोप सोमबारदेखि लगाउने तयारी गरिएको हो । खोप सबैतिर एकैचोटी लगाउने व्यवस्था मिलाउन जिल्लाका ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीय तहलाई आइतबारसम्म वितरण गरिसकिएको स्वास्थ्य कार्यालय प्रमुख मोहनप्रसाद सुवेदीले जानकारी दिए ।


सुवेदीका अनुसार यस पटकको खोप ५५ वर्षभन्दा माथिका नागरिकलाई दिइनेछ भने सार्वजनिक यातायातका चालक, सहचालक, शिक्षक, प्राध्यापक, वैदेशिक रोजगारीमा जान भिसा लागिसकेका व्यक्ति, अत्यावश्यक सेवाअन्तर्गत खट्ने कर्मचारीलाई खोप लगाइनेछ । 


उदयपुरमा २ चरणमा ६२ वर्षमाथिकालाई दिइएको थियो । अब आउने खोप ५० वर्षमाथिकालाई लक्षित गरी दिने कार्यक्रम सरकारले तय गरेको छ । अहिलेसम्म उदयपुरमा २० हजार ५ सयलाई कोभिडसिल्ड खोप लगाइसकिएको छ । तर, सुरुमा खोप लिने १५ हजार ४ सयमध्ये १२ हजार जेष्ठ नागरिकले भने दोस्रो मात्राको खोप पाएका छैनन् ।


१४ माघ २०७७ देखि चलाइएको पहिलो चरणको खोप अभियानमा १२ हजारले एक डोज मात्रा लगाएका छन् । १२ देखि १४ सातासम्म लगाइसक्नुपर्ने दोस्रो मात्राको डोज भारतले नदिएका कारण ६ महिना बित्न लाग्दासम्म लगाउन नसकिएको स्वास्थ्यका खोप सुपरभाइजर चिरञ्जीवी निरौलाले बताए । 

 

फागुन, चैत र वैशाखमा सोही कम्पनीको खोप ३ हजार ४ सय जनाले दुवै मात्रा लिइसकेका छन् । २५ जेठ २०७८ देखि चलाइएको अर्काे चरणको भेरोसिल ५ हजार १ सयले लगाएका छन् ।  आउँदो १५ दिनभित्र जोन्सन एन्ड जोन्सनको १५ हजार डोज खोप उदयपुर ल्याउने तयारी छ ।


प्रदेश स्वास्थ्य निर्देशनालय विराटनगर ल्याउनेबित्तिकै उदयपुरमा पनि आउने भएकाले छिट्टै थप खोप लगाउन सकिने स्वास्थ्यले जनाएको छ । सो खोप ५० वर्षभन्दा माथिका उमेर समूहलाई दिइनेछ ।


खोप त्रियुगा नगरपालिकाका स्वास्थ्य चौकीमा ११ र १२ साउन, उदयपुर अस्पतालमा ११, १२ एवं १४ गते र त्रियुगा नगरपालिका भवनमा ११, १२ र १३ साउनसम्म लगाउने कार्यक्रम छ । त्यसैगरी चौदण्डीगढी, बेलका नगरपालिका र उदयपुरगढी गाउँपालिकाका स्वास्थ्य चौकीमा ११ र १२ साउनमा खोप लगाउने कार्यक्रम छ ।


ताप्ली, कटारीका स्वास्थ्य चौकी र अस्पतालमा १२ र १३ साउनमा खोप लगाइनेछ । रौतामाई र लिम्चुङबुङका स्वास्थ्य चौकीमा १३ र १४ साउनमा खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।