close

बैंकमा अनियन्त्रित भीडले बढायो संक्रमणको जोखिम 

बैंकमा अनियन्त्रित भीडले बढायो संक्रमणको जोखिम 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङमा बैंक तथा वित्तीय संस्थालगायत कार्यालयमा भीडभाड बढ्दा कोरोना संक्रमण जोखिम बढेको छ । सुरक्षित नागरिक आवास, सामाजिक सुरक्षा भत्ताबापतको रकम कारोबारका क्रममा विभिन्न बैंक तथा वित्तीय कार्यालयमा अनियन्त्रित भीडभाड बढ्दा संक्रमणको जोखिम बढेको हो । 

 

बैंकमा दैनिकजसो हुने भीड नियन्त्रण गर्ने वा सामाजिक दूरी कायम गरेर सेवा प्रवाहमा बेवास्ता गरेको देखिएको छ । केही दिनयता सालपा विकास बैंक र सेञ्चुरी कमर्सियल बैंकको कार्यालय अगाडि बाक्लो भीडभाड देखिएको छ ।


भत्ता भुक्तानीका लागि लाइनमा उभिनेमा अधिकांश लठ्ठी टेकेर उभिएका वृद्धवृद्धा देखिन्छन् । असार मसान्तका बेला राष्ट्रिय वाणिज्य बैंकमा अनियन्त्रित भीडभाड देखिएको थियो । कतिपय सेवाग्राही मास्कबिनै भीडभाडमा उभिएका देखिन्छन् । कतिपयले नाकमुनि मास्क लगाएका छन् ।


ठेलमठेलको भीडमा बस्दा संक्रमण फैलिने खतरा बढेको छ । हाल विभिन्न बैंकमा देखिएको अनियन्त्रित भीडभाडको तस्बिर सामाजिक सञ्जालमा पोस्ट भइरहेका छन् । भीडभाड व्यवस्थापनमा नगरपालिका, जिल्ला प्रशासन कार्यालय र प्रहरीले समेत ध्यान दिन नसकेको स्थानीय बताउँछन् ।


‘खासमा यो सामाजिक सुरक्षा कि, सामाजिक असुरक्षा भत्ता वितरण हो ?’ किरात राई यायोक्खा खोटाङका सचिव युगसन किरातले फेसबुकमा लेखेका छन्, ‘कोरोनाको विषम महामारीमा बढी जोखिममा रहेको बूढापाकालाई यस्तो अवस्थामा देख्दा दुःख लाग्यो । सम्बन्धित निकायले यसको वैज्ञानिक उपाय सोच्नुपर्ला ।’ 


त्यसो त धेरैजसो ठाउँमा निषेधाज्ञा हटाइएसँगै हाल जिल्लाका सरकारी कार्यालय, हाटबजार, होटल, पसलमा समेत भीडभाड बढ्न थालेको छ । जिल्लामा दुई हजार बढीलाई संक्रमण पुष्टि भइसकेको छ । संक्रमण पुष्टि भएका कतिपय व्यक्ति नेगेभिट रिपोर्ट नआएसम्म होम आइसोलेसनमा नबस्दा समेत संक्रमण फैलिन बल पुगेको जनगुनासो छ ।


संक्रमण पूष्टि भएका कतिपय संक्रमित दुई साता बितेपछि संक्रमणुमक्त भएको भन्दै पुनः परीक्षण नगरी हिँडडुल गर्दासमेत समस्या थप बल्झिएको पाइएको छ । संक्रमित होम आइसोलेसनमा नबस्दा र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगर्दा संक्रमण बढेपछि प्राथमिक स्वास्थ्य केन्द्र ऐँसेलुखर्कले सचेतनाका लागि २२ असारमा सूचना नै जारी गरेको थियो ।


पुनः परीक्षण गरेर नेगेटिभ रिपोर्ट नआएसम्म संक्रमितलाई अरूको सम्पर्कमा जान दिन नहुने ऐँसेलुखर्कका स्थानीय लोकेन्द्र राजभण्डारीले बताए । ‘पोजिटिभ भएको १५ दिनपछि ठीक भो, टेस्ट गर्नुपर्दैन भन्नेले समस्या बल्झिएको देखिएको छ,’ कांग्रेस नेतासमेत रहेका राजभण्डारीले भने, ‘नेगेटिभ रिपोर्ट नआएसम्म संक्रमितलाई घरबाहिर निस्कने छुट दिनुहुन्न, अरूसँग घुममिल हुन दिनहुन्न ।’