close

धार्मिक स्थलहरूको भ्रमण तथा अवलोकन खुला गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा जाँदै

धार्मिक स्थलहरूको भ्रमण तथा अवलोकन खुला गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा जाँदै

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोनाका कारण रोकिएका नेपालका धार्मिक स्थलहरूको भ्रमण तथा अवलोकन आउँदो १ कात्तिकबाट खोल्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताएका छन् । 

 

सुरक्षाका सबै मापदण्ड अपनाएर र निश्चित संख्या तोकेर धार्मिक स्थलहरूमा क्रमशः भ्रमण तथा अवलोकनको प्रक्रिया सुरु गर्नेसम्बन्धी प्रस्ताव बिहीबारको मन्त्रिपरिषद्मा लैजाने भट्टराईको भनाइ छ । 

 

ताप्लेजुङको ओलाङ्चुङगोलामा बुधबारदेखि सुरु बोर्डर आउट पोस्ट (बीओपी)को उद्घाटन सकेर सुकेटार विमानस्थल आइपुगेका मन्त्री भट्टराईले यस्तो बताएका हुन् । तर, उनले पेस भएको प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएमा मात्र धार्मिक स्थलहरूको भ्रमण तथा अवलोकन खुला हुने बताए ।

 

‘मैले आज बिहानै मात्र प्रधानमन्त्रीज्यू समक्ष यो प्रस्तावबारे परामर्श गरेको छु’, मन्त्री भट्टराईले भने, ‘बिहीबारको मन्त्रिपरिषद् बैठकले यसबारे ठोस निर्णय लिनेछ ।’

 

धार्मिक पर्यटनका क्षेत्रहरू खुला भएको अवस्थामा पनि सुरक्षाका सबै मापदण्ड र एक पटकका लागि भेला वा उपस्थित हुने संख्या भने कार्यविधि बनाएर निर्धारण गरिने उनको भनाइ थियो । मन्त्री भट्टराईले आउँदो १ कात्तिकदेखि विराटनगरबाट समेत पूर्वी पहाडका क्षेत्रहरूमा नेपाल एयरलाइन्सले उडान सुचारु गर्नेगरी तयारी गरिरहेको जानकारी दिए । 

 

अहिले पूर्वी पहाडका केही जिल्लाहरूमा काठमाडौंबाट मात्र उडान हुँदै आएको छ । भट्टराईका अनुसार अब काठमाडौं–ताप्लेजुङ–काठमाडौंका अलवा विराटनगर–ताप्लेजुङ–विराटनगरको पनि उडान सुचारु हुनेछ । 

 

नेपाल एयरलाइन्सले काठमाडौँ–ताप्लेजुङ–काठमाडौं उडान तालिका सार्वजनिक गरे पनि अहिलेसम्म उडान भने सुरु गरेको छैन । ताप्लेजुङको उत्तरी सीमावर्ती क्षेत्र फक्ताङ्लुङ गाउँपालिकाको मौवाटारमा बुधबार नै बीओपी स्थापना भएको छ  । यसअघि नै बीओपी स्थापना भइसकेको संखुवासभाको किमाथाङ्कामा भने बीओपीको भवन शिलान्यास हुनेछ । 

 

मौवाटारमा स्थापना हुने बीओपीका लागि त्यहाँ भौतिक संरचना नबनेसम्म ओलाङ्चुङगोलामै बीओपी टोली रहनेछ । 

 

मौवाटारमा संरचना बनिसकेपछि भने ओलाङ्चुङगोलाको बीओपी टोली मौवाटारमा स्थानान्तरण हुनेछ । यसपछि मन्त्री भट्टराईसहितको टोली संखुवासभाको किमाथाङ्कामा बीओपी भवनको शिलान्यास गर्न त्यसतर्फ जानेछ । 

 

सुकेटारबाट तुम्लिङटार गई त्यहाँबाट किमाथाङ्का पुग्ने र त्यहाँ बन्ने बीओपी भवनको शिलायान्स सकेपछि पुनः तुम्लिङटार फर्किएर हेलिकोप्टर राजधानी फिर्ता हुने कार्यक्रम तय भएको छ । 

 

मन्त्री भट्टराईका साथ गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धानका प्रमुख गणेशप्रसाद अधिकारी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल, सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरीका १ नम्बर बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक वंशीराज दाहाल, गृह मन्त्रालयका उपसचिव भूपेन्द्र सापकोटा, सशस्त्र प्रहरी नायव उपरीक्षक अर्जुन पौडेल, गृह सचिवका निजी सुरक्षा अधिकृत प्रहरी निरीक्षक महेश केसी र सशस्त्र प्रहरीका फोटोग्राफर रमेश श्रेष्ठ रहेका छन् ।