close

गाउँपालिकाको लगानीमा क्रसर उद्योग 

गाउँपालिकाको लगानीमा क्रसर उद्योग 

Trulli
ADVERTISEMENT

पोखरा - कास्कीको मादी गाउँपालिकाले आन्तरिक स्रोत बढाउन आफैंले क्रसर उद्योग खोल्ने भएको छ । चालू वर्षभित्रै क्रसर उद्योग खोल्न लागेको हो । रोजगारी र्सिजना हुने र गाउँपालिकाको स्थायी आम्दानीको स्रोत हुने भएकोले क्रसर उद्योग सञ्चालन गर्न लागेको अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए । 


उनका अनुसार क्रसरबाट प्रशोधित सामान बाहिर बिक्री गरिनेछ । उद्योग सञ्चालन गर्न चालू वर्षका लागि १ करोड २० लाख विनियोजन गरिएको छ । ८० लाख बालुवा, गिटीको मूल्यांकन गरेर गाउँपालिकाले २ करोड लगानी गरिने गुरुङले बताए । बाँकी २ करोड स्थानीयसँग सेयर उठाएर कम्पनीको पुँजी ४ करोड बनाउने योजना रहेको उनले जानकारी दिए । 


‘वन क्षेत्र अधिकांश एक्यापमा छ । त्यहाँको स्रोत चलाउन पाइँदैन । अरु स्रोत पनि छैन’, उनले भने, ‘खोला छेउ क्रसर चलाउन सकियो भने पालिकाको केही आम्दानी बढ्छ । यो रकम विकास निर्माणमा खर्च गरिन्छ ।’ स्थानीय तहले आफ्नै कम्पनी चलाउन नमिल्ने भएपछि पब्लिक कम्पनी खोल्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ । 


‘कानुनमा कम्पनी खोल्ने अधिकार रहेनछ । गाउँसभाबाट बजेट विनियोजन त भयो तर कार्यान्वयनमा चुनौती देखियो,’ प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले भने, ‘त्यसैले कानुनी बाटो खोजेका छौं । पब्लिक कम्पनीमा जाँदा सजिलो हुने सुझाव पाएका छौं । वकिलसँग कुरा भइरहेको छ ।’  हालसम्म यो अभ्यास कतै नभएकाले असहज भएको उनको बुझाइ छ । 


‘२ प्लाइउड र क्रसर उद्योग चलाउने कुरा भएको हो । त्यसमा ५१ प्रतिशत पालिकाको लगानी र बाँकी सबै घरधुरीबाट रकम उठाएर सेयर लगानी गर्ने भनिएको छ’, उनी भन्छन्, ‘४३ घरधुरी छ । सबैलाई सहभागी गराए अपनत्व र रोजगारी पनि सिर्जना हुन्छ ।’


कार्यपालिकाभित्रै यसबारे अध्ययन गर्न कार्यदल गठन गरिएको छ । गण्डकी प्रदेशमै स्थानीय तहको यो पहिलो र नौलो अभ्यास हो । यद्यपि कार्यान्वयनमा भने समस्या देखिएको छ ।


प्रदेश सरकारले पब्लिक कम्पनीमार्फत २ परियोजना सञ्चालन गरेको छ । ती कम्पनीमा सरकारको ५१ प्रतिशत सेयर छ । त्यही मोडलमा मादी गाउँपालिकाले क्रसर उद्योग खोल्न लागेको हो । गण्डकी सरकारले धौवादी फलाम खानी र गण्डकी गाई फार्ममा सेयर लगानी गरेको हो ।