close

नरभक्षी बाघ नियन्त्रणमा लिँदै निकुञ्ज

नरभक्षी बाघ नियन्त्रणमा लिँदै निकुञ्ज

Trulli
ADVERTISEMENT

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभरमा पाटेबाघको आक्रमणमा परी गत सोमबार एक जनाको ज्यान गएपछि बाँके राष्ट्रिय निकुञ्जले सो बाघ नियन्त्रणमा लिने तयारी अघि बढाएको छ । घटनास्थल तथा आसपास क्षेत्रमा उच्च सतर्कता अपनाउँदै निरन्तर अनुगमन गरिरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए ।

 

मंगलबार पनि बाघ घटनास्थलभन्दा करिब एक किलोमिटरपूर्व राजमार्ग पार गरेर जंगलतर्फ लागेको एक मोटरसाइकल चालकलाई उद्धृत गर्दै निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहले बताए । बाघ नियन्त्रणमा लिन आवश्यक तयारी अघि बढाउनुका साथै प्रभावित क्षेत्रमा दुई वटा हात्ती गस्तीका लागि पठाइएको जानकारी दिदै अधिकृत साहले घटनास्थल र आसपास स्थान पहिचान गरी बाघ ट्रयापिङका लागि क्यामेरासमेत जडान गरिएको जानकारी दिए ।

 

उनका अनुसार गाभरको भेरी राप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी ४५ वर्षका पुरुष आइतबार बेलुकीदेखि एक्कासि हराएपछि उनको खोजी गर्दा सोमबार बिहान आधा शरीर पाटेबाघले खाएको अवस्थामा शव भेटिएको थियो । घटनापछि बाँके राष्ट्रिय निकुञ्जले बाघ नियन्त्रणमा लिन चितवन निकुञ्जबाट प्राविधिक टोली बोलाएर परिचालन गरिसकेको छ ।

 

निकुञ्ज क्षेत्रमा रातीको समय साना सवारी र पैदल यात्रामा रोक

 

प्रशासनले निकुञ्ज क्षेत्रमा रातीको समय साना सवारी सञ्चालन र पैदल यात्रा गर्न रोक लगाएको छ । बाघको चहलपहल बढेपछि बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातीको समय पैदल, साइकल र मोटरसाइकलमा यात्रा गर्न रोक लगाइएको हो ।

 

जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको सूचनामा पूर्व–पश्चिम राजमार्गअन्तर्गत निकुञ्जको कोहलपुर–शिवखोला सडक खण्डमा साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म पैदल, साइकल र मोटरसाइकलमा यात्रा गर्न अर्को सूचना जारी नहुँदासम्म बन्द गरिएको उल्लेख छ । बाँके प्रशासनले अन्य समय पनि निकुञ्ज क्षेत्रमा यात्रा गर्दा सचेत रहन भनेको छ ।


यसैगरी पूर्व–पश्चिम राजमार्गमा करिब ७० किलोमिटर लामो निकुञ्जको जंगल रहेकाले साना सवारीसाधनलाई विशेष चनाखो भई हिँड्न र अगाडि ठूला सवारी साधन, पछाडि पनि ठूला सवारीसाधनको बीचबाट मात्र हिँड्न मिल्ने गरी व्यवस्था मिलाएको बाँके प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । बाघ बस्तीमा पस्न सक्ने र आक्रमण गर्ने जोखिम रहेकाले नागरिकको सुरक्षाका लागि निकुञ्जमा तैनाथ अर्जुनवाँण गणका सुरक्षाकर्मी, नेपाल प्रहरी र हात्तीसहितको प्राविधिक टोलीबाट नियमित पाटेबाघको निगरानी गरिँदै आएको निकुञ्जले बताएको छ ।