close

आधारभूत विद्यालय तहमा संस्कृत पढाउँदै पाटन

स्थानीय तहको पाठ्यक्रममा संस्कृत विषय समावेश 

आधारभूत विद्यालय तहमा संस्कृत पढाउँदै पाटन

स्थानीय तहको पाठ्यक्रममा संस्कृत विषय समावेश 

Trulli
ADVERTISEMENT

बैतडी– बैतडीको पाटन नगरपालिकाले कक्षा ६ देखि ८ सम्मको आधारभूत तहमा संस्कृत विषय पढाउने भएको छ ।  भाषागत ज्ञानको विकास गर्ने भएकाले कक्षा ६ देखि ८ सम्म संस्कृत विषय पठनपाठन गराउने निर्णय भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले जानकारी दिए । 

 

कक्षा ६ देखि ८ सम्म एउटा विषय स्थानीय अथवा अन्य कुनै विषय पढाउनुपर्ने भएकाले संस्कृत विषय पठनपाठन गर्ने निर्णय गरिएको उनले जानकारी दिए । उनले भने, ‘संस्कृत विषय पढाउन हामीसँग जनशक्ति पनि छ ।’

 

संस्कृत विषयको पाठ्यक्रम र पाठ्यपुस्तकसमेत तयारी अवस्थामा पाइने भएकाले पढाउन सहज हुने नगरपालिकाले जनाएको छ । पछिल्लो समय संस्कृत विषयको पढाइ नहुँदा भाषागत समस्या देखिएकाले नैतिक शिक्षा र भाषागत ज्ञानको विकासका लागि पनि संस्कृत विषयले महत्त्वपूर्ण योगदान पु¥याउने नगरपालिकाको विश्वास छ ।  नगरपालिकाले कक्षा ६ देखि ८ सम्म संस्कृत विषयको पठनपाठन गराउने व्यवस्था मिलाउन विद्यालयलाई निर्देशनसमेत दिइसकेको छ ।

 

पाटन नगरपालिकाले संस्कृत विषय रोजे पनि यो विषय उपयुक्त नभएको सरोकारवाला बताउँछन् । पाटन वडा नम्बर १ स्थित सिद्धनाथ माविका प्रधानाध्यापक लक्ष्मण बोहराले भने, ‘अहिले प्राविधिक, सीपमूलक विषय वा कम्प्युटर शिक्षा समावेश गर्नुको सट्टा संस्कृत विषय रोज्नु उचित होइन । संस्कृत पढेर भविष्यमा यसैलाई निरन्तरता दिनेका लागि भने ठीकै हुन्छ ।’

 

पाटन वडा नम्बर १ स्थित सिद्धेश्वर मावि मेल्चोराका प्रधानाध्यापक प्रकाश विकले अहिले संस्कृत बिषय पढाउने शिक्षक नभएकाले समस्या हुने बताए । 
पाठ्यक्रम विकास केन्द्रले एक विषय स्थानीय तहको सिफारिसमा पढाउन मिल्ने भनेपछि पाटन नगरपालिकाले संस्कृत पढाउने निर्णय गरेको हो ।

 

उक्त विषयको सट्टा प्राविधिक विषय, मातृ भाषा तथा आफैंले तयार गरेको स्थानीय पाठ्यक्रमसमेत पढाउन मिल्नेमा पाटनमा संस्कृत पढाइने भएको हो ।