close

ओझेल पर्दै ताप्लेजुङ चिनाउने कञ्चनजंघाको पर्यटन

ओझेल पर्दै ताप्लेजुङ चिनाउने कञ्चनजंघाको पर्यटन

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा परेको असरले कञ्चनजंघा पर्यटन क्षेत्रको करोडौंको लगानी संकटमा परेको छ । पर्यटन प्रवद्र्धन हुन नसक्दा यस क्षेत्रका पर्यटन व्यवसायसँगै व्यवसायीसमेत सङ्कटमा परेका हुन् । नेपालको पर्यटकीय क्षेत्रमध्ये हिमाली जिल्ला ताप्लेजुङ पनि एक हो । 


ताप्लेजुङमा दुई प्रकारका आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा बेस क्याम्प अवलोकन गर्न विदेशी पर्यटकको पहिलो रोजाइमा पर्दछ । अर्को विश्वको प्रसिद्ध धार्मिक स्थल पाथीभरा देवीको दर्शन गर्न धार्मिक पर्यटकको घुइँचो लाग्ने गर्दछ । 


कञ्चनजंघा र पाथीभरा ताप्लेजुङ जिल्लालाई चिनाउने प्रमुख दुई पर्यटकीय स्थल हुन् । पाथीभरा क्षेत्रमा अहिले विस्तारै धार्मिक पर्यटकको चहलपहल सुरु भएसँगै लामो समयदेखि बन्द रहेको होटल खुल्न थालेका छन् । तर, कञ्चनजंघामा भने लाखौँ खर्च गरेर पर्यटकका लागि बनाइएको पर्यटकीय आवास अहिलेसम्म खुल्न सकेका छैनन् । 

 

कञ्चनजंघा क्षेत्रमा पर्यटकीय आवासका लागि बनाइएको पर्यटन आवास सुनसान छ । कञ्चनजंघा आधार शिविर अर्थात् लोनाक, खाबाचेन, घुन्सा, फले ग्याप्ला चैरामजस्ता समुद्र सतहदेखि ३ हजार ५०० मिटर उचाइमा पर्ने स्थानको मुख्य व्यवसाय पर्यटन हो । 

 

प्रत्येक घरपरिवारका सदस्य पर्यटनसँग जोडिएको छ । यस क्षेत्रका घरपरिवारले कञ्चनजंघा क्षेत्र आउने विदेशी पर्यटकका लागि विभिन्न स्थानमा होटलहरू सञ्चालन गरेर आयआर्जन गर्दै आएको पर्यटन व्यवसायी अहिले समस्या भएको फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पाले बताए । 

 

कञ्चनजंघा आउने पर्यटक लक्षित गरेर कञ्चनजंघा हिमाल जाने पदमार्गमा सानोठूलो लगानीको ५२ वटा होटल सञ्चालनमा रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तथ्याङ्क छ । फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा ७ करोडभन्दा माथिको लगानीमा बनेको सिंगी नामजोंग होटल पर्यटक नआएपछि सबै कोठामा ताल्चा लागेको छ ।

 

समुद्र सतहदेखि ३ हजार ५०० मिटरदेखि ४ हजार ५०० मिटर उचाइमा १ करोडभन्दा बढी लगानीमा बनेका चार वटा होटल सञ्चालनमा रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताए । अन्य ८० लाखदेखि माथिका लगानीमा होटल सञ्चालनमा रहेको चेम्जोङको भनाइ छ ।


कोरोनाको कारणले पर्यटक नआएपछि सबै होटल दुई वर्षदेखि बन्द छन् । लामो समयसम्म कोभिड–१९ को संक्रमणले पर्यटकहरू आउन नसकेपछि बन्द भएको हो ।


विगतका वर्षमा कञ्चनजंघा पदर्मागमा आन्तरिक तथा बाह्य पर्यटक खचाखच हुने कञ्चनजंघा पदमार्ग अहिले सुनसान भएको छ । दुई वर्षदेखि कोरोनाका कारणले कञ्चनजंघा हिमाल जाने पर्यटक शून्य छ । 

 

गत वर्ष १२ जान विदेशी पर्यटक आएको कञ्चनजंघा संरक्षण क्षेत्रका व्यवस्थापन कार्यालयका पर्यटन सहायक टाँसी तेन्जिङ शेर्पाले बताए ।  गत २०७६/७७ मा ३८६ पुरुष र १८६ महिला विदेशी पर्यटक कञ्चनजंघा हिमालमा आएको कञ्चनजंघा क्षेत्र व्यवस्थापन परिषद्को तथ्यांकमा उल्लेख छ । सार्क राष्ट्रबाट २५ पुरुष र चार महिला पर्यटक कञ्चनजंघा हिमालमा आएका हुन् ।

 

आन्तरिक पर्यटक १६ पुरुष र ९ महिला कञ्चनजंघा हिमाल अवलोकन गर्न पुगेको परिषद्को कार्यालयका सूचना अधिकारी धमेन्द्र थापाले जानकारी दिए । कञ्चनजंघा हिमालमा आउने विदेशी पर्यटकको तथ्यांकलाई २१ वर्ष पछाडि फर्केर हेर्दा २०५६ मा पुग्न सकिन्छ ।

 

२०५६ मा ७९९ जना विदेशी पर्यटक कञ्चनजंघा घुमघाम गर्न आएको तथ्यांक छ । २०५७ मा ८७३ विदेशी पर्यटक आएका छन् । २०५७ देखि २०७७ सम्म ११ हजार १९७ विदेशी पर्यटक कञ्चनजंघा हिमाल अवलोकन गर्न आएको परिषद्को तथ्यांकले देखाएको छ ।