close

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को सबै वडामा स्वास्थ्य संस्था

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को सबै वडामा स्वास्थ्य संस्था

Trulli
ADVERTISEMENT

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाका १५ वटै वडामा स्वास्थ्य संस्था सञ्चालनमा आएका छन् । नगरपालिकाको ६ वटा वडामा स्वास्थ्य चौकी निर्माण भएर आफ्नै भवनबाट सेवा दिइरहेका छन् भने बाँकी ९ वटा वडामा भने आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै भवन निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ । 

 

नगरपालिकाको वडा नं २, ४, १०, १४ र १५ मा स्वास्थ्य चौकी तथा वडा नं ७ मा चोरमारा प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ । बाँकी रहेका वडामा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै स्वास्थ्य संस्थाका लागि भौतिक संरचना निर्माणको काम अगाडि बढाइएको नगरप्रमुख चन्द्रबहादुर रानाले बताए । नगरपालिकाले सबै नगरवासीलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउन भन्दै यसअगाडि नै सबै वडाका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीलाई नियुक्ति गरिसकेको रानाले बताए  । 

 

गत आर्थिक वर्ष २०७७÷७८ को चैत २५ गते नौ महिनामा निर्माणसम्पन्न गर्नेगरी ९ वटा वडाको भवन निर्माणका लागि चितवनको भरतपुरस्थित न्यौपाने मल्टिप्रपोज कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो । नगरपालिकाले प्रतिभवन  ४३ लाख २४ हजार ८९५ नबढ्ने गरी ठेक्का सम्झौता आह्वान गरेकामा न्यौपाने मल्टिप्रपोजले प्रतिभवन  २४ देखि २७ लाखसम्म निर्माण सम्पन्न गर्नेगरी निर्माण सम्झौता गरेको छ । 

 


नगरपालिकाभित्र स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउन नगरपालिका प्रतिबद्ध रहेको नगरप्रमुख रानाले बताए । मध्यविन्दु–७ चोरमारामा रहेको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पताल बनाउने तयारीमा नगरपालिका जुटेको भन्दै नगरप्रमुख रानाले नवलपुर स्वास्थ्य चौकी र नयाँबेलाहनी स्वास्थ्य चौकीमा ल्याबसहितको भवनको स्तरोन्नतिको कार्य भइरहेको जानकारी दिए ।

 

नगरपालिकामा रहेका स्वास्थ्य चौकीहरुमा औषधि र स्वास्थ्यकर्मीको दरबन्दी पूर्ण रुपमा पूर्ति भइसकेको नगरप्रमुख रानाको भनाइ छ । नगरपालिकाको तीनवटा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरसमेत सञ्चालनमा छन् ।