close

नारायणहिटीको श्रीपेच चोरेर राजा बन्न खोज्दा...

नारायणहिटीको श्रीपेच चोरेर राजा बन्न खोज्दा...

Trulli
ADVERTISEMENT

काठमाडौं–मान्छेको सोख पनि गनिसाध्य र भनिसाध्य हुँदैन । कसैले ठूलो सपना देखेर ठूलै उपलब्धि हासिल गर्न चाहन्छन् । कसैले आफ्नै आँखा अगाडिको वस्तुलाई कल्पना गरेर आफूलाई सोही सपनामा लैजान्छन् ।

 

गणतन्त्र आउनुअघि पूर्वराजाको वासस्थान नारायणहिटी दरबार संग्रहालयमा शुक्रबार यस्तै घटना घटित भएको छ । संग्रहालयभित्र श्रीपेच राखिएको ठाउँको सिसा फोड्ने प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् । उनको उद्देश्यचाहिँ श्रीपेच चोरेर राजा बन्नु रहेको रहेछ !

 

पश्चिम रुकुमका २५ वर्षीय खिमबहादुर घर्तीलाई श्रीपेच राखेको ठाउँको सिसा फोड्ने प्रयास गरेपछि सुरक्षामा खटिएकाले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । संग्रहालयमा उनी दिउँसो साढे १ बजे श्रीपेच राखिएको कोठामा पुगेका थिए ।

 

घर्तीले श्रीपेच राखेको कोठामा खुकुरी निकालेर उक्त सिसा फोड्ने प्रयास गरेका थिए । घर्तीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए । 

 

नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले श्रीपेच राखेको ठाउँ नजिकको सिसा फोड्न खोजेपछि एक जनालाई नियन्त्रणमा लिइएको जानकारी पाएको बताए ।

 

‘श्रीपेच निकालेर आफैं लगाउँछु, म राजा हुन्छु भनेर यस्तो गरेको उनले बताएका छन्,’ महानगरीय प्रहरी परिसरका वरिष्ठ उपरीक्षक अशोक सिंहले भने ।