close

छिन्नमस्ताका ५ हजार बालबालिका पाठ्यपुस्तक पाउनबाटै वञ्चित

छिन्नमस्ताका ५ हजार बालबालिका पाठ्यपुस्तक पाउनबाटै वञ्चित

Trulli
ADVERTISEMENT

सप्तरी– सप्तरीको छिन्नमस्ता गाउँपालिकाभरका बालबालिका पाठ्यपुस्तकबिनै पढ्न बाध्य छन् । पालिकाभित्रका झन्डै ५ हजार ५६ जना बालबालिका पाठ्यपुस्तककै अभावकै बीच विद्यालय जान बाध्य भएका हुन् ।

 

कोरोना कहरका कारण लामो समयदेखि बन्द विद्यालय पालिकाको शिक्षा समितिको निर्णयअनुसार गत बिहीबारबाट सञ्चालनमा आइसकेका छन् । पालिकाभित्रका १९ सामुदायिक विद्यालय सञ्चालनमा आएका हुन् । तर, विद्यालय सञ्चालनमा आए पनि भविष्यका कर्णाधार बालबालिका पाठ्यपुस्तक पाउनबाट वञ्चित भएका छन् ।


‘पाठयपुस्तक नै छैन । विद्यालय गएर पनि बालबालिका के पढ्छन्’, एक अभिभावकले गुनासो गर्दै भने, ‘पालिकाले ध्यान दिएन । पालिका अध्यक्षलाई भने पनि सुनुवाइ भएन । हुन त, अहिलेसम्म गाउँसभा भएको छैन, अरू के कुरा गर्नू ! बालबालिकाको जीवनसँग खेलवाड भइरहेको छ ।’


दुई वर्षदेखि कोरोना महामारीले विद्यालय जान वञ्चित भइरहेका बेला पालिकाले किताबसमेत अहिलेसम्म उपलब्ध नगराएर आफूहरूको भविष्यसँग खेलवाड गरेको आधारभूत विद्यालय बरही वीरपुरकी छात्रा उषाकुमारी यादवको गुनासो छ । पालिकाभित्रका १९ वटै विद्यालयका शिक्षक, शिक्षिका, बालबालिका तथा अभिभावकले पनि यस्तै गुनासो गरिरहेका छन् । पाठ्यपुस्तक नहुँदा विद्यार्थी पनि विद्यालय आउन नमानेको शिक्षक बताउँछन् ।

 

यसअघि आर्थिक वर्ष २०७७/७८ मा पालिकाले पाठ्यपुस्तक खरिद गर्न २४ लाख २० हजार ६ सय ५६ रुपैयाँ विनियोजन गरे पनि सो रकम समयमै गाउँसभा नभएका कारणले फिर्ता भएपछि अहिलेसम्म बालबालिकाको पाठ्यपुस्तक खरिद गर्न नसकिएको छिन्नमस्ताको शिक्षा शाखाका राजदेवखंग मण्डलले बताए ।
मण्डलका अनुसार कोरोना महामारीका कारण विद्यालय पनि बन्द रहेको तथा भर्खरै गाउँ कार्यपालिकाको निर्णयअनुसार विद्यालय सञ्चालनमा आएकाले चाँडै पाठ्यपुस्तक खरिद गरिने उनले जानकारी दिए ।


यसबारे छिन्नमस्ता पालिका अध्यक्ष सूर्यनारायण मण्डलले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँसभा नभएकाले बालबालिकाका लागि पाठ्यपुस्तक खरिद गर्न नसकिएको दाबी गरे । प्रमुख प्रशासकीय अधिकृत आएलगत्तै पाठ्यपुस्तक खरिद गरी वितरण गरिने उनको भनाइ छ ।