close

धनकुटाका स्थानीय तहको आन्तरिक राजस्व संकलन ७ करोड बढी

धनकुटाका स्थानीय तहको आन्तरिक राजस्व संकलन ७ करोड बढी

Trulli
ADVERTISEMENT

धनकुटा– धनकुटाका स्थानीय तहले गत आर्थिक वर्ष २०७७/७८ मा ७ करोड २६ लाख २० हजार रुपैयाँ आन्तरिक राजस्व संकलन गरेका छन् । स्थानीय तहले एकीकृत सम्पत्ति, मालपोत, व्यवसाय, वहाल कर, सिफारिस दस्तुरलगायत शीर्षकबाट आन्तरिक राजस्व संकलन गरेका हुन् । जिल्लामा सात स्थानीय तह छन् । सातमध्ये तीन नगरपालिका र चार गाउँपालिका छन् । 


सात स्थानीय तहमध्ये सहिदभूमि गाउँपालिकाले मात्रै लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । धनकुटा, पाख्रिबास, महालक्ष्मी नगरपालिका, चौबिसे, छथरजोरपाटी र साँघुरीगढी गाउँपालिकाले भने लक्ष्यभन्दा कम राजस्व संकलन गरेका छन् ।


सहिदभूमि गाउँपालिकाले लक्ष्यभन्दा धेरै राजस्व संकलन गरेको छ । १५ लाख राजस्व संकलन लक्ष्य राखे पनि ६२ लाख १४ हजार रुपैयाँ संकलन भएको पालिकाका राजस्व फाँटका कर्मचारी राजेन्द्रकुमार राईले बताए ।

 

उनका अनुसार घरजग्गा रजिस्ट्रेसनबापत २२ लाख र नक्सा पासबाट बढी राजस्व संकलन हुँदा गाउँपालिकाको आन्तरिक आय बढेको हो । चालू आवमा ९७ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको उनले बताए । 


गत आर्थिक वर्षमा ३ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको धनकुटा नगरपालिकाले ३ करोड मात्रै संकलन गर्न सकेको राजस्व प्रमुख राजु गुरागाईंले जानकारी दिए । कोभिडका कारण राजस्व संकलन प्रभावित बनेको उनको भनाइ छ । नगरपालिकाले चालू आवमा ३ करोड २१ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । 


त्यस्तै, पाख्रिबास नगरपालिकाले पनि लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । नगरपालिकाका ८० लाख राजस्व संकलनको लक्ष्य रहेकामा ७५ लाख ६९ हजार रुपैयाँ संकलन भएको छ ।  चालू आवमा १ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको नगरपालिका राजस्व शाखा प्रमुख खेमचन्द्र वस्तीले बताए ।

 
महालक्ष्मी नगरपालिकाले अनुमानित लक्ष्यभन्दा पनि आधा राजस्व संकलन गर्न सकेन । गत आवमा २ करोड संकलनको लक्ष्य राखेको नगरले ७७ लाख ८२ हजार रुपैयाँ मात्रै संकलन भएको नगरपालिकाका लेखापाल प्रकाश पराजुलीले जानकारी दिए ।  छथरजोरपाटी गाउँपालिकाले गत आर्थिक वर्षमा ९७ लाख राजस्व संकलनको लक्ष्य राखेकामा ७३ लाख ८२ हजार रुपैयाँ संकलन गरेको छ । चालू आवमा १ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएको गाउँपालिका लेखा प्रमुख चुडा बोहराले बताए । 


यसैगरी साँघुरीगढी गाउँपालिकाले गत आर्थिक वर्षमा ८७ लाख राजस्व संकलन गरेको लेखापाल सुदीपकुमार भट्टराईको भनाइ छ । उनका अनुसार पालिकाले १ करोड १० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । चालू आवमा पनि सोही रकम बराबरको लक्ष्य राखिएको उनले बताए । चौबिसे गाउँपालिकाले पनि ५० लाख रुपैया राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, गत आर्थिक वर्षमा ४९ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन गरिएको राजस्व शाखा प्रमुख आदित्य पोखरेलले जानकारी दिए ।

 

चालू आर्थिक वर्षमा ६० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको उनले बताए । स्थानीय तहले एकीकृत सम्पत्ति कर, व्यवसाय दर्ता, घर वहाल कर, सिफारिस दस्तुर, प्रशासनिक सेवा दस्तुर, घरनक्सा पासलगायतबाट कर संकलन गर्छन् । स्थानीय तहले सेवाग्राहीलाई वडा कार्यालयबाटै कर तिर्न सक्ने व्यवस्था गरेको छ ।