close

सुन्दर सुदूरपश्चिम : पर्यटकीय स्थलमा पूर्वाधार निर्माण सुस्त

सुन्दर सुदूरपश्चिम : पर्यटकीय स्थलमा पूर्वाधार निर्माण सुस्त

Trulli
ADVERTISEMENT

कैलाली– सुदूरपश्चिममा पर्यटनका आवश्यक पूर्वाधार अभावले पर्यटकीय स्थल ओझेल परेका छन् । चर्चामा रहेका पर्यटकीय स्थलमा आवश्यक पूर्वाधार विकास हुन नसक्दा ओझेल पर्दै गएका हुन् ।


कुनै पनि पर्यटनस्थलमा जाँदा पर्यटकले आफ्ना लागि सुरक्षित गास, बाससँगै अन्य कुरा खोज्ने गर्छन् । तर, यहाँका पर्यटकीय स्थलमा त्यस्ता पूर्वाधारको विकासले गति लिन सकेको छैन । यहाँ धार्मिक, सांस्कृतिक, पुरातात्त्विक, साहसिक हिमाल आरोहण,  र्‍याफ्टिङ, प्याराग्लाइडिङ, ग्रामीण पर्यटनलगायतको प्रचुर सम्भावना छ । 

 

आवश्यक पूर्वाधार नहुँदा आन्तरिक तथा बाह्य पर्यटक आगमन अवस्था न्यून रहेको यहाँका पर्यटन व्यवसायीको गुनासो छ । सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय तह तथा संघीय सरकारले पर्यटन पूर्वाधार विकासमा उचित ध्यान दिन नसकेको पर्यटन व्यवसायी कलम बमको भनाइ छ ।  पर्यटकीय स्थलसम्म पुग्न पर्यटकलाई सहज व्यवस्था नभएकाले यहाँको पर्यटन प्रवद्र्धनले गति लिन नसकेको उनी बताउँछन् ।

 

सुदूरपश्चिम प्रदेश सरकारले बर्सेनि पर्यटन शीर्षकका नाममा स–साना मन्दिरमा मात्रै बढी बजेट विनियोजन गर्दै आएको छ । यहाँ पर्यटकलाई आकर्षण गर्ने सक्ने गन्तव्य रहे पनि खाने बस्ने, यातायातलगायत सुविधा दिने खाले योजनामा ध्यान दिन सकेको छैन ।

 

कोभिड महामारीका कारण अझै पनि पर्यटक आगमनमा उल्लेख्य वृद्धि हुन सकेको छैन । विगतको तुलनामा अहिले १० प्रतिशत मात्रै बाह्य पर्यटक आइरहेको पर्यटन व्यवसायी बताउँछन् । अछाम, बझाङ, बाजुरा र डोटीमा पर्ने खप्तड सधैँ आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइ हुने गरेको छ ।


कैलालीको कर्णाली नदीमा र्‍याफ्टिङको निकै सम्भावना छ । त्यस्तै, टीकापुर उद्यान, विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी ताल तथा डल्फिन क्षेत्र, जाखोर ताल र गोदावरी तथा शिवपुरीधाम महत्त्वपूर्ण गन्तव्य रहेका छन् । 


कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष, दोधारा–चाँदनीको झोलुंगे पुल, वेदकोटताल, डडेल्धुराको उग्रतारा तथा परशुरामधाम, डोटीको शैलेश्वरी, अछामको रामरोशन, वैद्यनाथधाम तथा पञ्चदेवल, बाजुराको बडीमालिका र बूढीनन्दा, बझाङको सुर्मा सरोवर र साइपाल हिमाल, बैतडीको पात्लाभुमेश्वर गुफा, त्रिपुरासुन्दरी, जगन्नाथ, निग्लासैनी, दार्चुलाको अपि हिमाल, मल्लिकार्जुनलगायत धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय स्थल छन् । यसबाहेक सुदूरपश्चिमको विविध जातजातिको भेषभूषा, कला–संस्कृति, खानपिन, रहनसहन ग्रामीण पर्यटनका भरपर्दो आधार बनेका छन् । 

 

तराईका दुई जिल्लामा रहेका पर्यटकीय स्थलसम्म सडक यातायात सुविधाका साथै सुविधासम्पन्न होटल, लज र अन्य पूर्वाधारको तुलनात्मक रूपमा विकास भइसकेकाले पर्यटन आगमनमा केही सहज भए पनि पहाडी जिल्लामा पूर्वाधार विकास हुन नसकेकाले पर्यटन विकासले गति लिन नसकेको नेपाल टुर एन्ड ट्राभल्स एसोसिएसन नाट्टाका सुदूरपश्चिम प्रदेश अध्यक्ष मायाप्रकाश भट्ट बताउँछन् ।

 

पर्यटन व्यवसायीले भारतीय पर्यटकलाई सुदूरपश्चिम प्रदेशमा सहज रूपमा भित्र्याउने वातावरण बनाउन प्रदेश सरकारसँग आग्रह गर्दै आएका छन् ।  भारतीय पर्यटकको आगमन वृद्धि नै प्रदेशको पर्यटन क्षेत्र चलायमान हुने आधार रहेको भट्टको भनाइ छ । अहिले सरकारले सीमानाका पूर्ण रूपमा खोले पनि त्यहाँबाट भारतीय नम्बरप्लेटका सवारीसाधन आउन अवरोध गरिएको बताउँदै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर भन्छन्, ‘जबसम्म नाकामा सहज हुँदैन, तबसम्म पर्यटकीय क्षेत्र र होटल व्यवसाय चलायमान हुँदैन  ।’

 

सीमानाकाबाट भारतीय पर्यटकलाई सहज रूपमा आउने वातावरण बने पर्यटन व्यवसाय केही हदसम्म सुधार हुने आकलन पर्यटन व्यवसायीको छ । कोरोना महामारीमा कमी आए पनि अझै सुदूरपश्चिम प्रदेशमा भारतीय पर्यटकको आगमन वृद्धि हुन नसकेको अध्यक्ष कुँवरले जानकारी दिए ।

 

पर्यटन विकासका लागि पूर्वाधार अभावका कारण सुदूरपश्चिम प्रदेशमा बाह्य पर्यटक निकै कम आउने गरेकाले प्रदेश सरकारले पर्यटकीय गन्तव्यको विकासमा ठोस योजना बनाएर अघि बढ्नुपर्ने यहाँका पर्यटन व्यवसायीको सुझाव छ ।

 

प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर धामीका अनुसार सरकारले केही पर्यटकीय गन्तव्यका लागि बजेट विनियोजन गरेको र यहाँका पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन प्रयासरत रहेको बताउँछन् ।