close

सप्तरीको हनुमाननगरले खानामै खायो १ करोड 

सप्तरीको हनुमाननगरले खानामै खायो १ करोड 

Trulli
ADVERTISEMENT

सप्तरी– सप्तरीका स्थानीय तहमा आर्थिक अनुशासन उल्लंघन गर्ने सिलसिला रोकिएको छैन । स्थानीय तहले नियमविपरीत मनलाग्दी खर्च गरिरहेका छन् ।
कानुनले तोकेभन्दा बाहिर गएर खर्च गर्ने, सेवा–सुविधा लिने, सभाले पारित गरेभन्दा बाहिर गएर खर्च गरेपछि स्थानीयको गुनासो बढ्दै गएको छ ।


यसको पछिल्लो उदाहरण हो, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका । यो नगरपालिकामा खाना तथा विविध खर्च शीर्षकमै झन्डै १ करोड रुपैयाँ खर्च भएको छ । 

 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रहेर औचित्यका आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ ।  तर, नगरपालिकाले २०७६/७७ मात्रै खाना तथा विविधतर्फ ९८ लाख ७ हजार २४८ रुपैयाँ खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।


स्थानीय राहुल मण्डल नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी मिलेरै जनताको पीरमर्काभन्दा आफ्नै सेवा–सुविधा थपिरहेको बताउँछन् । ‘नगरपालिकामा खानाखाजा खर्चमै यति ठूलो रकम सकिएको रहेछ । अरू विकास निर्माणमा के अवस्था होला ?’ उनले भने ।

 

हनुमाननगर कंकालिनीका नगरप्रमुख शैलेशकुमार साहले खानामा उति बढी खर्च नभएको प्रतिक्रिया दिए । ‘नियमअनुसारै खर्च भएको छ । अरू थप बुझेर मात्र भन्न सकिन्छ ।’  


यस्तै, विष्णुपुर गाउँपालिकाले खाना तथा विविध शीर्षकमै ११ लाख रुपैयाँ खर्चेको छ । गाउँपालिकाले २०७६/७७ मात्रै खाना तथा विविधतर्फ ११ लाख रुपैयाँ खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत ललनकुमार यादवले नियमअनुसारै खर्च भएको हुन सक्ने बताए ।