close

कोरोना महामारीका फ्रन्टलाइनरलाई ‘कोभिड हिरो’ सम्मान

कोरोना महामारीका फ्रन्टलाइनरलाई ‘कोभिड हिरो’ सम्मान

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङमा कोभिड–१९ महामारीका बेला नागरिकको उद्दार तथा सहयोगमा खटिएका जनप्रतिनिधिसहित दुई जनालाई सम्मान गरिएको छ । कोरोना महामारीको समय उद्दार तथा सहयोगमा अग्रसर बनेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ दिक्तेलका वडा सदस्य प्रकाश श्रेष्ठ र युवा कविराज रिजाललाई गैरसरकारी संस्था महासंघले सम्मान गरेको हो ।

 

कोभिडमा ज्यानको प्रवाह नगरी नागरिकको सेवामा लागिपरेका वडा सदस्य श्रेष्ठ र युवा अभियन्ता रिजाललाई शुक्रबार ४२औँ सामाजिक सेवा दिवस अवसर पारेर सम्मान गरिएको हो ।

 

जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, गैसस महासंघका संस्थापक जिल्ला अध्यक्ष एवं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १२ जालपाका वडाध्यक्ष विकास राईले ‘कोभिड हिरो’ लाई सम्मानसहित प्रशंसापत्र वितरण गरेको गैरसरकारी संस्था महासंघ खोटाङका अध्यक्ष दानबहादुर राईले बताए ।

 

नगरपालिकाभित्रका ६० वडा सदस्यमध्येबाट श्रेष्ठलाई सम्मान गरिएको हो भने रिजाललाई कोभिड महामारीका बेला जागरण तथा कोरोना नियन्त्रण अभियान चलाएर समाजमा पुर्‍याइएको योगदानको प्रशंसास्वरूप सम्मान गरिएको महासंघ खोटाङका सचिव युवराज रिजालले जानकारी दिए ।

 

कार्यक्रममा निजामती कर्मचारीबाट सेवा निवृत्त भएपछि घुंगारुको लठ्ठी बनाउँदै ज्येष्ठ नागरिक र अपांगता भएकालाई निःशुल्क लठ्ठी वितरण गदै आएका वडा नम्बर १ दिक्तेलका चन्द्रप्रसाद आचार्यलाई पनि सम्मान गरिएको छ ।  आचार्यले अपांगता र अशक्तलाई हालसम्म ४ हजार २९५ जनालाई लठ्ठी वितरण गर्दै सामाजिक हितमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

 

महासंघले अपांगता र अशक्त ५ विद्यार्थीसहित ७ जनालाई ३ हजार प्रति मूल्य पर्ने झोला प्रदान गरेको छ । छात्रा सोनु हिङमाङ, दीपा अधिकारी, युनिशा राई, प्रज्ज्वल राई र विनिशा आचार्यलाई झोला वितरण गरिएको हो ।

 

छात्रछात्रालाई गैसस महासंघका संस्थापक अध्यक्ष एवं वडाध्यक्ष राईले उपलब्ध गराएको १५ हजार रुपैयाँ लागतका झोला प्रदान गरिएको हो । महासंघ सदस्य रहेका झगराज राई र सांगीतिक क्षेत्रमा भविष्य खोज्दै गरेकी वेदन राईलाई पनि झोला वितरण गरिएको सचिव रिजालले जानकारी दिए ।