close

अब उद्योगलाई छेलोखेलो बिजुली

अब उद्योगलाई छेलोखेलो बिजुली

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले माग गर्दा पनि बिजुली नपाएको भनेर लामो समयदेखि गुनासो गर्दै आएका उद्योगी तथा व्यवसायीलाई मागेजति विद्युत् उपलब्ध गराउने भएको छ । 


प्राधिकरणको प्रणालीमा झन्डै २ हजार मेगावाट बिजुली उपलब्ध छ । तोकिएको लक्ष्यअनुसार काम भए चालू आवमै थप १ हजार ३०० मेगावाट बढी बिजुली उपलब्ध हुनेछ । प्रणालीमा ३ हजार ३०० मेगावाट बराबरको बिजुली प्रवाह हुन्छ । 

 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार हाल रातीको समय झन्डै ४०० मेगावाट बिजुली जगेडामा छ । यसो भन्नुको अर्थ खेरगइरहेको छ ।यस्तै दिनको समय पनि झन्डै २५० मेगावाटसम्म बिजुली जगेडामा छ । प्राधिकरणले बढी भएको बिजुली भारत निकासी प्रयास पनि नगरेको होइन । तर, नेपालमा आउन दिने, भारतमा निकासी हुन नसकेको अवस्थामा प्राधिकरणले देशभित्रै बिजुलीको खपत बढाउन लागेको हो । 

 

एक युनिट बिजुली लगानी गर्दा झन्डै ९० देखि १०० रुपैयाँ बराबरको आर्थिक आर्जन हुन्छ । यस आधारमा बिजुलीलाई कच्चापदार्थको रूपमा समेत लिइन्छ ।
उद्योगी व्यवसायीका अनुसार बिजुलीको सहज उपलब्धताले अर्थतन्त्रमा बहुआयमिक प्रभाव पर्दछ । प्राधिकरणले अब १३२ केभी क्षमताका प्रसारण लाइनमार्फत उद्योगी तथा व्यवसायीले मागेअनुसारको बिजुली उपलब्ध गराउने भएको छ । त्यसका लागि कति मात्रामा बिजुली चाहिएको हो भनेर आवेदन दिनसमेत भनिएको छ । 

 

बर्खाको समय नेपाल बिजुलीमा आत्मनिर्भर भइसकेको छ । आगामी डेढ वर्षभित्र हिउँदमा समेत आत्मनिर्भर हुने अवस्थामा पुगेको छ । प्राधिरकणले हाल बर्खाको समय देशमा विद्युत्को मागभन्दा उत्पादन बढी भई खेर जाने अवस्था सिर्जना भएको भन्दै उद्योगीलाई थप बिजुली उपलब्ध गराउन सकिने उल्लेख गरेको छ ।

 

प्राधिकरणले २२० केभी र ४०० केभी क्षमताका प्रसारण लाइन निर्माण गरिरहेकाले १३२ केभीलाई पनि वितरण लाइनमा विस्तार गर्न चाहेको हो । यही १४ असोजमा विद्युत् विकास विभागले आयोजना गरेको विद्युत् महसुलसम्बन्धी सार्वजनिक सुनुवाइका क्रममा समेत कार्यकारी निर्देशक घिसिङले अब १३२ केभी क्षमताका प्रसारण लाइनमार्फत उद्योगीलाई गुणस्तरीय बिजुली उपलब्ध गराइने जानकारी दिए । 

 

बिजुलीको सहज उपलब्धता बढ्दै गई आत्मनिर्भर बनेको अवस्थालाई ध्यानमा राखेर देशभित्रै बिजुलीको खपत बढाउन कार्ययोजनाका साथ अगाडि बढेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

 

त्यस्तै, देशका विभिन्न औद्योगिक सहरमा मागअनुसारको थप बिजुली उपलब्ध गराउन प्रसारण तथा वितरण लाइन तथा सब–स्टेसन विस्तारलाई व्यापक रूपले अगाडि बढाइएको छ । सबै प्रकारका ग्राहकलाई क्षमता वृद्धि वा थप बिजुली माग भए सरल र सहज हिसाबले शीघ्र उपलब्ध गराउने गरी व्यवस्था मिलाइएको छ । 

 

आयोगको सुनुवाइका क्रममा व्यवसायी एवं एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानले विदेश निर्यात गर्नुभन्दा देशभित्रै थप बिजुली उपलब्ध गराउन प्राधिकरणलाई आग्रह गरे ।

 

उनले प्राधिकरणले थप बिजुली उपलब्ध गराए आफूहरू लिन तयार रहेको बताए । सोही आग्रहका आधारमा प्राधिकरणले ठूला औद्योगिक ग्राहकलाई थप बिजुली दिन लागेको हो । प्राधिकरणले १३२ केभी क्षमताको प्रसारण लाइन आसपासमा विद्युत् माग गरे तत्काल उपलब्ध गराइने उल्लेख गरेको छ । 

 

सकेसम्म प्राधिकरणको प्रसारण तथा वितरण लाइन एवं सब–स्टेसन भएको स्थानबाट नजिक उद्योग स्थापना गरी आवश्यक विद्युत् माग गर्न भनिएको छ । प्रसारण लाइन एवं सब–स्टेसनबाट टाढा भए कहिलेसम्ममा के–कति मात्रामा बिजुली चाहिने हो, यथार्थ विवरण खुलाई तत्काल माग गर्नसमेत प्राधिकरणले आग्रह गरेको छ । 


प्राविधिक दृष्टिकोणबाट सम्भव भएका स्थानबाट तत्काल र प्राविधिक दृष्टिकोणबाट तत्काल सम्भव नभएका स्थानमा प्राधिकरण थप लाइन तथा सब–स्टेसन विस्तार गर्न पनि तयार रहेको जनाएको छ ।


त्यस्ता स्थानमा छिटोभन्दा छिटो बिजुली आपूर्ति गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । उद्योगीका अनुसार थप ५०० देखि ८०० मेगावाटसम्मको थप बिजुली माग रहेको छ । 

 

त्यसमा सबैभन्दा बढी सिमेन्ट र छड उद्योगले थप माग गरेको अवस्था छ । प्रसारण लाइन निर्माण नभएका कारण चिनियाँ लगानीको होङसी सिमेन्ट उद्योगले बिजुली पाउन सकेको छैन । सो उद्योगले मात्रै ८० मेगावाट माग गरेको अवस्था छ । 

 

यस्तै, अन्य सिमेन्ट उद्योगले पनि क्षमता वृद्धिका लागि बिजुली माग गरेका छन् । बाह्य बजार खोज्दै हिँड्नुभन्दा देशभित्रै बिजुलीको बजार खोज्न प्राधिकरण लागिपरेको छ । कार्यकारी निर्देशक घिसिङले मागअनुसारको बिजुली उपलब्ध गराउन  आफूहरू तयार रहेको जानकारी दिए ।