close

वडाबाटै सम्पूर्ण सेवा : बगनासकालीबासी भन्छन् बल्ल गाउँमै सिंहदरबार आएको अनुभूति भयो 

वडाबाटै सम्पूर्ण सेवा : बगनासकालीबासी भन्छन् बल्ल गाउँमै सिंहदरबार आएको अनुभूति भयो 

Trulli
ADVERTISEMENT

पाल्पा– सानातिना योजनाका काम सम्पन्न गर्न पनि घण्टौँ लगाएर पालिकाको कार्यालयमा धाउनुपर्ने बाध्यता अहिले पनि कायमै छ । कर्मचारीबाट कहिले के पुगेन त कहिले के मिलेन भन्ने झमेला नागरिकहरुले झेल्नुपरिरहेको हुन्छ ।

 

नागरिकका यस्तै समस्यालाई ध्यानमा राख्दै पाल्पाको एक पालिकाले भने वडाबाटै सबै योजनाका काम सम्पन्न गर्ने अभियान सुरु गरेको छ । पाल्पाको बगनासकाली गाउँपालिकाले पालिकाको केन्द्रबाट हुने योजना सम्झौता, खाता सञ्चालन, फरफारकका सबै काम वडा तहबाटै सुरु गरेपछि धेरै सजिलो भएको बताउँछिन्, बगनासकाली–९ बस्ने मुना ढकाल ।

 

समाजका लागि केही गर्छु भन्ने मनसाय भए पनि सानातिना काममा अल्झन पर्दा जिम्मेवारी बहन गर्नै निकै कठिन समस्या भोगेकी ढकाल अहिले वडाबाटै सबै सेवा पाउँदा दङ्ग छिन् । उनलाई सानो योजनालाई पनि सम्झौता गर्न गाउँपालिकाको कार्यालयमा जानुपर्ने समस्याले काम गर्न धेरै अप्ठ्यारो थियो । अहिले भने गाउँपालिकाले वडामा सञ्चालित वडास्तरीय तथा पालिकास्तरीय सबै योजनाको काम वडाबाटै सम्झौता गरी सेवा दिने अभियान सुरु गरेपछि सिंहदरबारको अधिकार बल्ल गाउँमा आइपुगेको अनुभूति उनले बताइन् ।

 

‘सानातिना योजनाका लागि पनि सम्झौता गर्न गाउँपालिकाको कार्यालयमा जानुपर्दा आउन जान समय धेरै खर्च लाग्ने, कर्मचारीले सानो कागज नपुगेपछि फिर्ता गर्ने, फेरि फर्केर अर्को दिन धाइरहनुपर्ने समस्याले उपभोक्ता समितिमा बसेर काम गर्न धेरै कठिन थियो, अहिले वडाबाटै सबै सेवा पाउँदा धेरै राहत मिलेको छ, भुक्तानी लिन मात्रै गाउँपालिकाको कार्यालयमा गए भयो’, उनले भनिन्।

 

ढकालले वडास्तरीय महिला लक्षित समूहमा रहेर काम गरिरहेकी छिन् । उनीजस्तै यहाँका नागरिकलाई वडास्तरीय तथा पालिकास्तरीय योजना सम्झौता, बैंक खाता खोल्ने सबै काम वडाबाटै हुँदा बल्ल सिंहदरबारको झल्को अनुभूति गर्न थालेका छन् । वडामा सबै कागजपत्र मिलाएपछि रकम भुक्तानीका लागि मात्रै गाउँपालिकाको कार्यालयमा जान पाउँदा नागरिक उत्साहित छन् ।

 

 वडा नं ९ को कार्यालयमा वडाबाटै योजना सम्झौता कार्य सुरु भएपछि वडामा सञ्चालित योजनामध्ये ७५ प्रतिशत योजना सम्झौता गर्ने काम सकिएको वडाध्यक्ष थानेश्वर तिमिल्सिना बताउँछन् । उनी भन्छन्, ‘वडाका कर्मचारी, जनप्रतिनिधि सबै जुटेर योजना सम्झौता गर्ने काम धमाधम भएको छ, पालिकाको कार्यालयमा जाने झण्झट अन्त्य भएको छ, वडाको जनशक्ति मात्रै नभई पालिकाबाट पनि जनशक्ति खटाएर काम गरिएको छ ।’

 

यस वडाले पालिकाभरमा सबैभन्दा छिटो योजना सम्पादन सम्पन्न गर्ने कार्य गरेकाले यसभन्दा अघि लगातार उत्कृष्ट वडाका रूपमा तीनपटक गाउँपालिकाले पुस्कृत गरेको छ । यहाँको वडामा यस आर्थिक वर्षमा २४ वटा वडागत र दुईवटा पालिकास्तरीय, एकवटा प्रदेशस्तरीय योजना परेका छन् ।

 

नागरिकबाट पालिकाको केन्द्रमा सानो कामका लागि पटक–पटक धाइरहनुपर्ने गुनासो, पालिकाका कर्मचारीले सबै वडाको काम गर्नुपर्ने हुँदा भनेको समयमा काम नहुने समस्या देखिएपछि वडाबाटै सेवा दिन थालेपछि काम गर्न सजिलो भएको वडा नं ८ का वडाध्यक्ष गणेश ढकालले बताए ।

 

सिंहदरबारको अधिकार गाउँगाउँमा भनिए पनि पटक–पटक सानो कामका लागि पालिकाको केन्द्र धाइरहनुपर्ने, भनेको समयमा काम नहुँदा सास्ती सधैँ खेप्नुपर्ने अवस्थालाई ध्यानमा राखी पालिकाले यस आर्थिक वर्षदेखि वडाबाटै योजनाका काम सम्पन्न गर्ने अभियान चलाएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल बताउँछन् । केही वडाले भने यो अभियान दसैँ बिदापश्चात सुरु गर्ने तयारी गरेका छन् । यहाँको पालिकाले सुरु गरेको यो अभियान पाल्पामै उदाहरणीय बनेको छ ।