close

कोरानाले रोजगारी गुमाएकालाई नगरपालिकाको अनुदान

कोरानाले रोजगारी गुमाएकालाई नगरपालिकाको अनुदान

Trulli
ADVERTISEMENT

स्याङ्जा/वालिङ– कोरोना महामारीका कारण रोजगारी गुमाएका वालिङ नगरपालिकाका युवायुवतीलाई लक्षित गरी अनुदान उपलब्ध गराइएको छ । रोजगारी गुमाएका युवायुवतीलाई उद्यमी बनाउने उद्देश्यले उद्यमशीलता तथा नवप्रवर्तन कोषमार्फत स्टार्टअपका रूपमा २० जनालाई जनही ५० हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए । यसअघि गत वर्ष २० जनालाई ५० हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको उनले बताए ।


कोरोना महामारीका कारण प्रभावित भई स्वदेश वा विदेशमा रोजगारी गुमाएका वालिङका नागरिकलाई उद्यमशीलतातर्फ लाग्न प्रेरित गर्ने उद्देश्यले कोष स्थापना गरिएको र सोही कोषमार्फत सहयोग गर्दै आएको प्रमुख खाँणको भनाइ छ ।


व्यवसाय वा उद्यम गर्न चाहने नागरिकले नगरपालिकामा आर्थिक सहयोग माग गरेका आधारमा सहयोग गर्ने नीति बनाई कार्यान्वयनमा ल्याएको छ । विशेषगरी उत्पादन तथा नवप्रवर्तनका सोच राखेका युवायुवतीलाई उक्त कोषमार्फत अनुदान उपलब्ध गराउने भएको हो ।

 

विदेशमा रोजगारी गुमाई फर्केका वा स्वदेशमा रोजगारीमा रहेका युवायुवतीलाई स्वरोजगार तथा आत्मनिर्भर बनाई तिनको आयआर्जन वृद्धि गर्न उद्यमशीलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र सञ्चालन कार्यविधि, २०७७ निर्माण गरी सोही कार्यविधिका आधारमा रहेर स्थापित कोषबाट आर्थिक सहयोग गरिने प्रमुख खाँणले बताए ।

 

कोरोना महामारीका कारण रोजगारी गुमाएका युवायुवतीलाई उद्यमशीलता तथा नवप्रवर्तन कोषमार्फत स्टार्टअपका रूपमा गत वर्षदेखि नगद अनुदान दिन थालिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले बताइन् ।

 

व्यवसाय तथा उद्यम सञ्चालनका लागि युवामा भएको रचनात्मकतालाई उजागर तथा प्रोत्साहित गर्न प्रेरित गर्ने उद्देश्यले नवप्रवर्तन कोष स्थापना गरी सञ्चालन गरिएको अध्यक्ष तिवारीले जानकारी दिइन् । उक्त कोषमार्फत विशेष राहत प्याकेज उपलब्ध गराई युवायुवतीलाई उद्यमी बनाइने भएको हो ।

 

कोरोना संक्रमणका कारण बेरोजगारी समस्या बढ्दै गएकाले यसमा कमी ल्याई बेरोजगारलाई उद्यमी बनाई आत्मनिर्भर बनाउने मुख्य उद्देश्य रहेकाले कोषमार्फत सहयोग गरिने युएनडिपी नेपालका गण्डकी र लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले बताए ।