close

काेराेना नियन्त्रणमा यसरी जुट्दैछ सूर्यविनायक (भिडियो खबर)

काेराेना नियन्त्रणमा यसरी जुट्दैछ सूर्यविनायक (भिडियो खबर)

ADVERTISEMENT

भक्तपुर- कोरोना भाइरसको महामारीको हटस्पट काठमाडौं उपत्यका बनेको छ । काठमाडौं उपत्यकामा संक्रमितको संख्या दिनहुँ तीन हजारका दरले बढीरहेका छन् । सक्रिय संक्रमितको संख्या पनि ३५ हजार माथि छ । संक्रमित बढेसँगै निषेधाज्ञा लगाइएको छ । तर, संक्रमित निको हुने क्रम उल्लासपूर्ण रूपमा काठमाडौं उपत्यकामा देखिएको छैन ।

 

यद्यपी, महामारी नियन्त्रणमा स्थानीय सरकार आफै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । त्यसमाथि भक्तपुरले महामारी नियन्त्रणमा अपनाएको भक्तपुर मोडालिटी भने उत्कृष्ट बनिरहेको छ । सूर्यविनायक नगरपालिकाले महामारी नियन्त्रणमा खेलिरहेको प्रयास साँच्चै लोभलाग्दो छ । भारतसँगै नेपालमा फैलिएको नयाँ भेरियन्टसहितको कोरोना भाइरसले मुलुक आक्रान्त छ ।

 

के गाँउ के सहर सबै क्षेत्रका समुदायस्तरमा कोरोना भाइरसले विकराल रुप लिइरहेको छ । उपत्यकामा मात्रै दैनिक तीन हजारभन्दा बढी संक्रमितको संख्या बढ्दै गइरहेको छ भने मृत्यु हुनेको संख्यामा पनि सोही रुपमा बढ्दै गएको छ । कोरोना भाइरसलाई नियन्त्रण गर्न उपत्यकाका सबै स्थानीय तह योजनासहित अघि बढेका छन् ।

 

कोरोना भाइरस नियन्त्रणका लागि भक्तपुरको सूर्यविनायक नगरपालिकाले योजना सहित कार्यान्वयन समेत गर्दै आएको छ । पछिल्लो समय कोभिड हटस्पट बन्दै आएको सूर्यविनायकको समुदायस्तरमा समेत कोरोना भाइरस फैलिसकेको आशंका पालिकाको छ ।

 

सोही अनुरुप पालिकाले कन्ट्याक्ट ट्रेसिङसँगै पीसीआर परीक्षणकाे दायरासमेत बढाएको छ । वडास्तरका स्वास्थ्य संस्थामार्फत स्वास्थ्य सेवा दिँदै आएको पालिकाले नगर अस्पताल सञ्चालनका आवश्यक तयारी समेत गर्दै आएका छन् । पालिकाका अनुसार आगामी जेठ १५ गतेदेखि अस्पतालमा सबै तयारी पूरा गरी सञ्चालनमा समेत ल्याइने छ । 


१० शय्या एचडियु सञ्चालन हुने उक्त अस्पतालमा ५० शय्या क्षमतासहितको सेवा स्थानीयले पाउने छन् । त्यसका लागि सामान्य स्तरका वेड अस्पतालमा ल्याइसकेको छ भने रंगरगोन सहित सजावटका कार्य भइरहेको छ । समुदायस्तरमा कोरोना भाइरस फैलिएको आशंकामा साताको दुई दिन स्वाब परीक्षण समेत गर्दै आएको छ ।

 

वडा नं १ देखि ५ सम्म गाम्चामा रहेको स्वास्थ्य संस्थामा र ६ देखि १० सम्मका वडाबासीका लागि जगातीस्थित निर्माणाधिन नगर अस्पतालमा स्वाव परीक्षण गर्दै आएको छ । यसबाहेक अत्यावश्यक सेवाका लागि नगरपालिका मार्फत् सेवा दिँदै आएको नगरपालिकाले जनाएको छ । 


पालिकाभित्र आइसोलेसन र अस्पताल सञ्चालन नभएकोले नगरभित्रका कोभिडका विरामीलाई बाह्य छिमेकी स्थानीय तहमा पठाउँदै आएको छ । कोभिड संक्रमितमध्ये होम आइसोलेसनमा बसेका स्थानीयलाई फोनमार्फत फलो गर्ने र अस्पतालमा बस्न चाहनेलाई भक्तपुर अस्पतालमा पठाउने गरेको छ । 


सूर्यविनायक नगरपालिकाले महामारी नियन्त्रणका लागि गरिरहेको तयारीले संक्रमण फैलनबाट रोक्ने देखिएको छ । पीसीआरको परीक्षणको दायरा बढाएर समुदायमा संक्रमण फैलिएको छ-छैन भन्ने कुरा थाहा पाउनु नै अहिलेको प्रमुख आवश्यकता हो ।

 

नगरपालिकाले अघि सारेको योजनाबाट संक्रमित  उपचारको दायरामा आउने देखिन्छ । तर, यसका लागि नागरिकले पनि स्थानीय सरकारलाई सहयोग गर्न भने आवश्यक छ । किनभने महामारी एक्लैको प्रयासले नियन्त्रणमा आउन सम्भव छैन ।