close

शव बाेक्न चालक नमानेपछि वडाध्यक्ष आफैले हुइँक्याए एम्बुलेन्स

शव बाेक्न चालक नमानेपछि वडाध्यक्ष आफैले हुइँक्याए एम्बुलेन्स

Trulli
ADVERTISEMENT

लमजुङ- लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर २ का अन्दाजी ४५/४६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भयो । सुन्दर बजारस्थित नमुना सामुदायिक अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ती अधबैंसेको शुक्रबार दिउँसो मृत्यु भएको हो ।


स्थानीयका अनुसार उनको मृत्युसँगै शव बोकेर घाटमा लैजान सवारी साधन नपाएपछि आफन्तले अस्पतालकै एम्बुलेन्समा लगिदिन आग्रह गरेका थिए ।


एम्बुलेन्स चालक बिरामी भएको भन्दै दिन अस्वीकार गरेपछि स्थानीयले अर्को चालक ल्याएका थिए । चालक ल्याए पनि अस्पताल प्रशासनले एम्बुलेन्स दिन नमानेपछि स्थानीयले वडा नम्बर २ का वडाध्यक्ष नवीनकुमार श्रेष्ठलाई बोलाएका थिए ।

 

वडाध्यक्ष श्रेष्ठले अस्पताल प्रशासनले एम्बुलेन्स दिन नमानेको भन्दै स्थानीयले गुनासो गरेपछि आफू अस्पताल पुगेर आफैंले एम्बुलेन्स चलाएर शवलाई घाटमा पुर्‍याएको बताए । अस्पताल प्रशासनले एम्बुलेन्सको चाबी दिन नमानेको र जबर्जस्ती मागेर एम्बुलेन्स चलाएर शवलाई घाटमा पुर्‍याएको उनको भनाइ छ ।


शवलाई एम्बुलेन्समा राख्ने र अन्तिम संस्कार गर्ने कार्य भने नेपाली सेनाले गरेको थियो । नमुना सामुदायिक अस्पतालका मेडिकल अफिसर डा.दीलिप अधिकारीले बिहीबार दिउँसो भर्ना भएका बिरामीको उपचारका क्रममा रातीदेखि मुटुको चाल बन्द भएको थियो ।


एक घन्टा प्रयास गरिए पनि नसकिएको र कोरोना संक्रमित उनको मृत्यु भएको थियो । बिरामीको मृत्यु भएपछि बिहान आफन्त र स्थानीय आएका थिए । उनीहरूलाई सम्झाइ–बुझाइ गर्दा पनि नमानेपछि प्रहरी बोलाइएको थियो ।


एम्बुलेन्स चालक बिरामी भएकाले एम्बुलेन्स नदिएको र अस्पताल प्रशासनले अरूलाई चाबी नदिएको उनले स्वीकारे । जोकोहीलाई पनि चाबी दिन नमिल्ने भएपछि वडाध्यक्ष आएर चाबी मागेर आफैंले चलाई शवलाई अन्तिम संस्कारका लागि लगेको र एम्बुलेन्स फिर्ता दिएको उनले जानकारी गराए ।