close

सुन्दरहरैंचाको समस्या फोहोर व्यवस्थापन

सुन्दरहरैंचाको समस्या फोहोर व्यवस्थापन

Trulli
ADVERTISEMENT

मोरङ । सुन्दरहरैंचा नगरपालिकामा फोहोर व्यवस्थापनमा समस्या  बढ्दै गएको छ । नगरपालिकाले विगत ५ वर्षदेखि सङ्कलन गर्दै आएको  फोहोर  नजिकैको जङ्गल तथा खोला छेउमा व्यवस्थापन गरेको कारणले अहिले समस्या देखिएको हो । 

बस्ती नजिकै अव्यवस्थित रूपमा थुपारेको फोहोरबाट आउने दुर्गन्धले विभिन्न रोग निम्त्याउने गरेको स्थानीयहरू बताउँछन् । नगरको वडा नं १० को खोर्साने–केराबारी सडक खण्डमा रहेको डम्पिङ साइटले वातावरणसमेत प्रदूषित बनेको जनाइएको छ । 

यस्तै वडा नं ४ मा रहेको गछिया खेला छेउ बडहरामा पनि केही वर्षदेखि फोहोर फाल्ने गरिएको छ । नगरको विराटचोक बजार, खोर्साने, सलकपुर, गोठगाउँलगायत क्षेत्रबाट निस्कने फोहोरलाई जङ्गलमा र गछिया, दुलारी, बाँसबारी, बलियाको फोहोर बडहरामा फाल्ने गरिएको छ । पानी परेको समयमा प्लास्टिकजन्य फोहोर बगाएर किसानको खेतबारी तथा अन्य ठाउँमा पुर्‍याउने गरेकाले खेतबारीको माटोसमेत प्रदूषित भई उत्पादनमा गिरावट आएको सुन्दरहरैंचा १० निवासी  नगेन्द्र दाहालले बताए । 

नगरपालिकाले दैनिक रूपमा  ट्र्याक्टर तथा टिपरबाट फोहोर सङ्कलन गर्दै आएको छ । फोहोर व्यवस्थापन गर्न तत्कालीन समयमा  हाल रहेको वडा नं १ को कुमारगाउँमा २ बिघा ५ कट्ठा जग्मा खरिद गरिएको थियो । उक्त जग्गामा अहिलेसम्म  फोहोर व्यवस्थापनको काम भएको छैन । 

उक्त क्षेत्र अहिले कासघारीमा परिणाम भएको छ । यो जग्गा खरिदका लागि विभिन्न सङ्घसंस्थाले सहयोगसमेत गरेका थिए । नगरपालिकाले हालसम्म सङ्कलन गरेको फोहोरमा कुहिने र नकुहिने फोहोर नछुट्याई व्यवस्थापन गर्ने गरेको छ । 

नगरप्रमुख केदारप्रसाद गुरागार्इंले नगरपालिकामा फोहोर व्यवस्थापनमा समस्या भएको हुँदा दीर्घकालीन समाधानका लागि काम भइरहेको बताए । उनले भने “फोहोरको उचित व्यवस्थापन गर्न समय लाग्छ , मोरङको बेलबारी, केराबारी, पथरीशनिश्चरेलगायत छिमेकी पालिकाको सामूहिक पहलमा हाइवे उत्तर कसैलाई कुनै असर नपर्ने गरी फोहोरको उचित व्यवस्थापनमा पहल गर्न छलफल भइरहेको छ । ”