close

कुकुरलाई सडकमा शौच गराउँदै हुनुहुन्छ भने कारबाहीमा पर्नुहोला !

कुकुरलाई सडकमा शौच गराउँदै हुनुहुन्छ भने कारबाहीमा पर्नुहोला !

Trulli
ADVERTISEMENT

काठमाडौँ- घरपालुवा कुकुरलाई सार्वजनिक स्थानमा शौच गराउनेलाई काठमाडौँ महानगरपालिकाले कारबाही सुरु गरेको छ । 

काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सोमबारदेखि महानगर प्रहरी परिचालन गरी कारबाही थालिएको जानकारी दिए । पहिलो दिनमा पाँच कुकुरधनीलाई कारबाही गरेको महानगर प्रहरी प्रमुख पाण्डेले बताए । उनले भने, “यसअघि पनि बेलाबेला काठमाडौँ महानगरपालिकाले यस्तो कार्य नगराउन सचेत गराउँदै आएको हो । सार्वजनिक स्थानमा शौच गराउने कार्य बन्द नगरेपछि अहिले कुकुर जफत गर्न लागिएको हो ।”

चार वर्षअघि पनि महानगरपालिकाले सार्वजनिकस्थलमा कुकुरलाई शौच गराउने कुकुरधनीविरुद्ध कारबाही गर्ने घोषणा गरेको थियो । यसपटक भने काठमाडौँ महानगरपालिकाले विभिन्न वडामा रहेका टोल सुधार समिति तथा क्लबलाई परिचालन गरेर सचेतना कार्यक्रम पनि गरिरहेको छ ।

सार्वजनिक ठाउँमा ल्याएर कुकुरलाई शौच गराए पनि फोहर उठाउनुपर्ने र झोला साथमै ल्याउनुपर्ने महानगरपालिकाको नियम छ । कुकुरको मलमूत्रसँगको लसपसबाट परजीवी जुका तथा पाचन प्रणालीमा असर गर्ने जियार्डियासिस, साल्मोनेलिस र अमिबियासिसजस्ता रोगको सङ्क्रमण फैलने केन्द्रीय पशु चिकित्सालयका पशु चिकित्सक डा ग्रीष्म न्यौपानेले बताए । 

डा न्यौपानेले कुकुरको दिसामा हुने इकाइनोकोकस ग्रानुलोसस भनिने एक प्रकारको फित्तेजुकाको अण्डा मानिसको खानेकुरामा पुगेमा कलेजो, फोक्सो, मिर्गौला वा मस्तिष्कमा पनि सिस्टको रूपमा विकसित हुने सम्भावना रहने बताए ।