close

चन्द्रगिरिका जनप्रतिनिधिको ताकेता : पुरातात्विकस्थल उत्खनन गर्नू

चन्द्रगिरिका जनप्रतिनिधिको ताकेता : पुरातात्विकस्थल उत्खनन गर्नू

Trulli
ADVERTISEMENT

काठमाडौँ- राजधानीको मुख्य प्रवेशद्वार मात्र नभई प्राचीन मानवबस्तीका रुपमा रहेको चन्द्रगिरि नगरपालिका–६ का जनप्रनितिधिहरु चन्दन भराटेश्वरको पुरातात्विकस्थल उत्खननका लागि विगत तीन वर्षदेखि ताकेता गरे पनि अहिलेसम्म ठोस प्रक्रिया अघि बढ्न सकेको छैन । 

तीन वर्षअघि यहाँको चन्दन भराटेश्वर मन्दिर परिसरको पार्वतीकुण्ड संरक्षणका लागि थप गहिरो बनाउने क्रममा ठूलो आकारको एउटा ढुङ्गा भेटिएको थियो । साविकका ढुङ्गेधाराभन्दा केही फरक बनोटको ढुङ्गा भेटिएपछि जनप्रतिनिधिहरुले पुरातत्वविदलाई बोलाएका थिए । 

वडा नं ६ का अध्यक्ष सञ्जय सिग्देलका अनुसार धाराको आकारप्रकार र त्यसमा कुँदिएका बुटाका आधारमा पुरात्वविदहरुले लिच्छविकालिन समयमा निर्माण भएको हुनसक्ने अनुमान गरेका थिए । त्यसलाई प्रमाणित गर्न र थप खोजीका लागि पार्वतीकुण्ड र त्यसवरपरका स्थानमा थप उत्खनन र विशेष ढङ्गले अध्ययन अनुसन्धान गराउनु पर्ने सुझाव उनीहरुको थियो । 

यसका आधारमा वडा कार्यालयमार्फत पुरातत्व विभाग र गुठी संस्थानलाई पार्वतीकुण्ड र आसपासका क्षेत्रमा उत्खनन र संरक्षणका लागि पटक–पटक आग्रह गरिएको तर आजसम्म पनि काम सुरु नभएको वडाध्यक्ष सिग्देलको भनाइ छ ।

पुरातात्विक र धार्मिक एतिहासिक महत्व बोकेको चन्दन भराटेश्वर मन्दिर परिसरमा धारासहित एक प्राचीन शिलालेख पनि फेला परेको थियो । गोपाल महिषपाल जस्ता एतिहासिक जातिहरुको थलो मानिने चन्द्रागिरि क्षेत्र काठमाडौँ उपत्यका दह भएको बेलामा समेत तटीय क्षेत्रका रुपमा रहेको अनुमान पुरातत्वविद्हरुको रहेको पनि सिग्देल बताउछन् । 

मन्दिर र परिसर संरक्षणको जिम्मा पाएको गुठी संस्थानबाट पनि ठोस पहल नभएको वडाअध्यक्ष सिग्देलको भनाइ छ । चन्द्रागिरि नगरपालिकाका थानकोट, बलम्बु, किसिपिँढी, लुँकोट र मच्छेगाउँ प्राचीन मानववस्ती भएका स्थान मानिन्छन् । ती क्षेत्रमा उत्खनन गर्न सके थप ऐतिहासिक जानकारी हासिल हुन जाने वडाअध्यक्ष सिग्देलले बताए । 

पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले चालु आर्थिक वर्षमा उत्खनन्का लागि बजेट बिनियोजन नभएको बताइन् । चन्दन भराटेश्वर क्षेत्रबाहेक महाभारतकालीन पात्र वाणासुरले राज्य गरेको स्थान मानिने यस क्षेत्रमा नगरपालिकाले मर्मत र संरक्षण गर्दै आएको छ ।