close

आजदेखि काठमाडौँमा मेलम्चीको पानी वितरण

आजदेखि काठमाडौँमा मेलम्चीको पानी वितरण

Trulli
ADVERTISEMENT

काठमाडौँ- आजदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गरेका छन् । 

मेलम्ची खानेपानीको शुभारम्भ गर्दै उनले मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्सको निर्माणको कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाईभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाइ अगाडि बढाइने बताए । 

सुन्दरीजलमा थप क्षमताको पानी प्रशोधन केन्द्र तथा काठमाडौँ उपत्यकामा नयाँ वितरण प्रणाली र फोहर पानी प्रशोधन प्रणालीसमेत विकास गरिने जनाउँदै प्रधानमन्त्री दाहालले अर्को चरणमा नयाँ वितरण सञ्जालमार्फत काठमाडौँ उपत्यकाभित्र खानेपानी वितरणको थालिने बताए । उनले तोकिएको परिमाणको खानेपानी सेवा २४ सै घण्टा उपभोक्ताको धारामा वितरण गरिने व्यवस्था मिलाउनसमेत निर्देशन दिए । 

अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए । सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको तथा खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौँका सबै क्षेत्रमा वितरण गरिने उनले बताए । 

बाढी तथा पहिराका कारण अवरुद्ध भएको मेलम्चीको पानी पुनः काठमाडौँ ल्याइएको हो । गत पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने सहमति भएको थियो । कूल २८ दिनको कार्ययोजनासहित पानी पथान्तरण सुरु गरिए पनि २१ दिनमै हेलम्बुबाट सुन्दरीजलमा पानी पथान्तरण गरिएको थियो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ ल्याइँदै छ । 

विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढी पहिरोपछि आयोजनाको मुहान क्षेत्र क्षतिग्रस्त बनेको थियो । त्यसयता मेलम्चीको पानी काठमाडौँमा नियमित रूपमा वितरण गर्न सकिएको थिएन । मेलम्चीको पानी नियमितरुपमा काठमाडौँ ल्याउन सरकारले प्रयास जारी राखेको छ ।