close

९ महिनामा काठेखोलाका ६८ परिवारले छाडे गाउँ

९ महिनामा काठेखोलाका ६८ परिवारले छाडे गाउँ

Trulli
ADVERTISEMENT

बागलुङ- काठेखोला गाउँपालिकाबाट नौ महिनाको अवधिमा ६८ परिवारका २५२ जना बसाइँ सरेका हुन् ।

गाउँपालिकाले तयार गरेको तथ्याङ्कअनुसार गत वैशाखदेखि पुस मसान्तसम्म अन्य व्यक्तिगत घटनाकै हाराहारीमा बसाइँ सर्नेको तथ्याङ्क पाइएको हो । आठ वडा रहेको गाउँपालिकामा सबैभन्दा धेरै वडा नं ५ र ६ बिहुँबाट बसाइँ सरेर बाहिर गएको गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले बताए । 

बिहुँबाट मात्रै नौ महिनामा २६ परिवारका १०५ जनाले गाउँ छाडेका छन् । तीमध्ये वडा नं ५ बाट १३ परिवारका ४९ सदस्य र वडा नं ६ का १३ परिवारका ५६ जनाले गाउँ छाडेका हुन् । गाउँपालिकाका अनुसार वैदेशिक रोजगारीमा रहेका र उच्च शिक्षाका लागि विदेशमा रहेका युवाका परिवार धेरै बसाइँ सरेका छन् । 

गाउँपालिकाबाट बसाइँसराइ लिएर जानेबाहेक थातथलो छाडेर अन्यत्रै बस्नेहरूको सङ्ख्या पनि उच्च छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले फन्को मारेको साविकको बिहुँ गाविस हालका वडा नं ५ र ६ सदरमुकामबाट छोटो दूरीका वडा हुन् । यहाँ सडक सुविधा छ । दुई सामुदायिक क्याम्पस, विद्यालय, खानेपानी, विद्युत्, स्वास्थ्य संस्थालगायतका संरचना तयार भए पनि गाउँ रित्तिन नछाडेको उपाध्यक्ष थापा बताउछन् । 

वडा नं २ भीमापोखराबाट पाँच परिवारका १२, वडा नं ३ धम्जाबाट ११ परिवारका ३५, वडा नं ४ तङ्ग्रामबाट ११ परिवारका ४७ र वडा नं ७ रेशबाट आठ परिवारका ३३ जना बसाइँ सरेको गाउँपालिकाको तथ्याङ्क छ । वडा नं ८ लेखानीबाट पाँच परिवारका १५ जना बसाइँ सरेका छन् । 

बसाइँसराइको तथ्याङ्क बढ्न थालेपछि गाउँपालिकाले आफ्ना नीति तथा कार्यक्रम र बजेटमा सोहीअनुसार तर्जुमा गर्ने योजना बनाएको छ । पछिल्लो तथ्याङ्कलाई आधार मानेर छलफल थालिएको गाउँपालिकाका अध्यक्ष राजु थापा बताउछन् । यहाँबाट बसाइँ सरेका कसैले पनि घरगोठ, पाखोबारी र खेत भने बिक्री गरेका छैनन् । त्यसका कारण बाँझो जग्गाको क्षेत्रफलसमेत बढेको छ ।