close

१४ टन फोहरबाट कम्पोस्ट मल : पार्क र सडकका बिरुवामा हालिने

१४ टन फोहरबाट कम्पोस्ट मल : पार्क र सडकका बिरुवामा हालिने

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरपालिकाले फोहरबाट कम्पोस्ट मल बनाउन थालेको छ । काठमाडौं महानगरपालिका- २७ बाट संकलित करिब १४ हजार किलो कुहिने फोहोर टेकु ट्रान्सफर स्टेशनमा कम्पोष्टिङ गरिएको वातावरण व्यवस्थापन विभागले जनाएको छ । 

घरेलु फोहरको दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गरी कुहिने फोहरलाई कमपोस्टिङ गर्न थालिएको हो । पाँच हजार जनसंख्या रहेको वडा नम्बर- २७ मा एक हजार ४०० घरधुरीबाट निस्केका फोहरको कम्पोष्टिङ थालिएको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले पालिकाखबरलाई बताए । 

हाल काठमाडौं महानगरपालिका-२७ बाट दैनिक कुहिने फोहर करिब ५०० किलोसम्म निस्किन्छ । एक हप्तामा जम्मा भएको फोहरको एक पाइल बनाई एक भाग जैविक फोहर अर्को भागमा टोकोजाइ नामक व्याक्टेरिया मिसाएर कम्पोस्टिङ गर्दा दुर्गन्धरहित हुने विभागले जनाएको छ । 

विभागका प्रमुख श्रेष्ठका अनुसार मल बनिसक्न ३ महिना लाग्नेछ । टेकु ट्रान्सफर स्टेशनबाट ३ महिनादेखि निस्किने मललाई महानगरपालिकाभित्रका विभिन्न पार्क र सडक फूल तथा बिरुवाहरूमा हालिनेछ । उनका अनुसार हालसम्म मलको अभावमा बिरुवाहरू राम्रोसँग फस्टाउन सकेको थिएन । तर कुहिने फोहरबाट कम्पोस्ट मल बनेपछि बिरुवालाई पनि मल पर्याप्त हुनेछ । साथै बञ्चरेडाँडा लैजाँदा लाग्ने महानगरको खर्च पनि घट्नेछ । 

फोहोरको दिगो व्यवस्थापनका लागि स्रोतमा नै वर्गीकरण गर्ने अभियान थालिएपछि घरबाट फोहोर उत्पादनको स्वरुपमा परिवर्तन आएको विभागले जनाएको छ । फोहोर छुट्याउन थालेपछि कुहिने फोहोरलाई अधिकांश घरधनी तथा उत्पादकहरूहरूले पनि मल बनाएर कौसी खेतीमास्रोतमा नै सदुपयोग गर्न थालेका विभागले जनाएको छ । 

यसरी उत्पादन हुने फोहोर संकलन गर्न महानगरपालिकाको रङ्ग संकेतसहितको सवारी साधन जान्छ । एउटै गाडीको हरियो रङ्ग भएको कोठामा कुहिने र नीलो रङ्ग भएको कोठामा नकुहिने फोहोर संकलन गरेर ल्याउँछ । संकलित फोहोरलाई छुट्टाछुट्टै ठाउँमा खन्याएर प्रशोधन गर्ने गरिएको विभागले जनाएको छ ।