close

दूधको उत्पादन बढाउन सुत्केरी भत्ता

दूधको उत्पादन बढाउन सुत्केरी भत्ता

Trulli
ADVERTISEMENT

चितवन- इच्छाकामना गाउँपालिकाले पशु सुत्केरी स्याहार भत्ता कार्यक्रम ल्याएको छ । किसानलाई पशुपालन व्यवसायमा आकर्षण गर्न र दूधको उत्पादन बढाउन उक्त कार्यक्रम ल्याइएको हो ।

आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार आन्तरिक स्रोतमार्फत गाई भैँसीको नश्ल सुधारका लागि पशु सुत्केरी स्याहार भत्ता सञ्चालन गरिएको गाउँपालिकाको पशुपक्षी विकास शाखा प्रमुख डा सुनिल ज्ञवालीले जानकारी दिए । 

उनका अनुसार कृत्रिम गर्भाधानबाट सुत्केरी भएका गाई भैँसीको सुत्केरी भत्ताबापत गाउँपालिकाले एक हजार ५०० रुपैयाँ उपलब्ध गराउनेछ । पशुमा कृत्रिम गर्भाधान बढाउन पालिकाले पहिलो पटक पशु सुत्केरी भत्ता कार्यक्रम ल्याएको उनले जानकारी दिए । 

पालिकाले कृत्रिम गर्भाधान कार्यक्रम सातवटै वडामा लागू गरेको छ । गत बैसाखदेखि हालसम्म ४०० पशुलाई कृत्रिम गर्भाधान गराइएको शाखा प्रमुख ज्ञवालीले बताए । नश्ल सुधारमार्फत दूधको उत्पादन बढाउनका लागि पालिकाले गाईको लागि जर्सी र भैंसीको हकमा मुर्रा जातको ‘बीउ’बाट नश्ल सुधारको काम भइरहेको उनले बताए । 

सुत्केरी स्याहार भत्ताका लागि सम्बन्धित पशुधनीको नागरिकताको प्रतिलिपि, कृत्रिम गर्भाधान गरेको रेकर्ड देखिने कृत्रिम गर्भाधान कार्ड, सुत्केरी माउ तथा बाच्छाको स्पष्ट देखिने तस्बिर, पशुधनीको बैंक खाता नम्बरसहितको निवेदन किसानले गाउँपालिकामा पेस गर्नुपर्नेछ ।

पशु उत्पादनलाई बढावा दिन, सुत्केरी पशुको आहारा तथा स्याहारमा कमी नहोस् भन्ने उद्देश्यले कृषकको प्रोत्साहनका लागि पालिकाले अभियान सुरु गरेको गाउँपालिकाले जनाएको छ ।