close

१२ वर्षपछि बिनासूचना सुकाइयो फेवाताल

४६ वर्षमा ६ वर्गकिलोमिटर अतिक्रमण, २०६४ यता कसैले नापेनन्

१२ वर्षपछि बिनासूचना सुकाइयो फेवाताल

४६ वर्षमा ६ वर्गकिलोमिटर अतिक्रमण, २०६४ यता कसैले नापेनन्

Trulli
ADVERTISEMENT

पोखरा- फेवातालको आकार बढाउन २०३५ सालमा निर्माण गरिएको ड्याम जीर्ण भएपछि मर्मतका लागि तालको पानी सुकाइएको छ । ४२ वर्षअघि बनाईएको बाँध जीर्ण बनेपछि त्यसको मर्मत गर्न लागिएको हो ।

 

तालमा पानीको सतह २ मिटर घटाइएको छ । २०१८ सालमा बाँधिएको बाँध फुटेपछि २०३५ सालमा नयाँ बाँध बनाइएको थियो । सुरुमा ड्याम भारतीय सहयोग मिसनले बनाइदिएको हो भने पछि संयुक्त राष्ट्र संघको सहयोगमा पुनः निर्माण गरिएको हो ।

 

लामो समय मर्मत नगर्दा ड्याममा समस्या आएको छ । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयले बाँध निर्माणका लागि २ करोड विनियोजन गरेको छ । १ करोड रुपैयाँ बाँध बनाउन र अर्को एक करोड नहरका लागि छुट्याइएको कार्यालय प्रमुख किरण आचार्यले जानकारी दिए । तालबाट सोमबारसम्म ५ करोड ८० लाख पानी घटाइएको उनले बताए । ‘बाँध जीर्ण भएको छ । मर्मतका लागि पानी घटाएको हो,’ उनले भने, ‘काम सकिएपछि पुनः ताल पुरानै अवस्थामा पुग्छ ।’

 

बाहिर होहल्ला भएजस्तो बाँधमा ठूलो समस्या नभएको उनले बताए । ‘भुकम्पले बाँध फुट्यो भन्ने होहल्ला पनि गएछ । त्यस्तो  होइन । मर्मत मात्रै गर्ने हो,’ उनी भन्छन्, ‘पछि गर्दा बर्खा लाग्छ । अहिले नै काम गर्नुपर्ने भयो ।’ २ महिनाभित्र बाँध र नहरको काम सक्ने उनको भनाई छ । त्यसपछि पुनः बाँध बन्द गरेर पुरानै अवस्थामा ताललाई फर्काउने योजना छ । बाँधको उचाई भने बढाउने योजना छैन ।


पानी घटाएपछि तालको जलाशय क्षेत्र खाली भएको छ । तालको पानी घटाउँदा डुंगा व्यवसायी भने प्रभावित भएका छन् । त्यहाँको जलचरलाई पनि सकस परेको छ । डुंगा चढ्न जानेहरु हिलो हुँदै आउजाउ गर्नुपरेको छ । ‘लकडाउनले खत्तमै बनायो । अलिअलि पर्यटक आउन थालेका थिए । फेरि तालमा पानी छैन,’ व्यवसायीहरु भन्छन्, ‘कार्यालयले कसैसँग सल्लाह नै नगरी कुनै सूचना पनि नदिई पानी घटायो ।’

 

ड्यामको इतिहास

 

पहिलो पटक २०१७ सालमा फेवातालमा बाँध बाध्न थालिएको थियो । त्यो बाँध २०१९ मा पुरा भयो । त्यसपछि तालले स्वरुप लिइरहेकोमा २०३१ मा बाँध फुट्यो । तालको पानी घटेको मौका पारेर तालको जग्गा अतिक्रमण गरिएको यसअघिका अध्ययन प्रतिवेदनले औंल्याएको छ ।

 

तालको पानी घटेको बेला भोगचलन गरेको आधारमा व्यक्तिका नाममा जग्गा दर्ता गरिएको थियो । २०३५ सालमा पुन बाँध बनेपछि तालले पुरानै रुप लिएको छ । त्यसपछि व्यक्तिले दावी गरेका जग्गा पानीमुनी परे ।

 

दुई पक्षबीचको तनाव अहिले पनि कायम छ । पोखरा महानगरपालिकाले तालको पानी घटाएको बेला माटो निकाल्ने तयारी गरेको छ । यद्यपी यसबारे अध्ययन भएको छैन । ‘ईआईए रिपोर्ट निकाल्नुपर्छ । मिलेसम्म माटो निकाल्ने कि भनेर लागेका छौं,’ नगरप्रमुख मानबहादुर जिसीले भने, ‘सर्वपक्षीय छलफल चलाउँछौं । सहज भयो भने माटो निकाल्ने हो ।’


विभिन्न अध्ययन प्रतिवेदनका आधारमा फेवातालको अहिलेको क्षेत्रफल ४.२ वर्गकिलोमिटर छ । तालको आकार २०१८ सालमा १० वर्गकिलोमिटर थियो । त्यही क्षेत्रफल २०३१ सालमा ६ वर्गकिलोमिटर, २०५२ मा ४.४३ वर्गकिमी, २०५७ मा ४.२५ वर्गकिमी हुँदै २०६४ सालमा ४.२ वर्ग किलोमिटरमा झरेको छ । त्यसपछि आधिकारिक मापन भएको छैन् ।


तालको किनारा अझै भेटिएन

 

दुषित जग्गा दर्ता भएपछि ताल निरन्तर अतिक्रमणमा परिरहेको छ । मानवीय र प्राकृतिक अतिक्रमण रोक्न र पूरानै स्वरुपमा ताललाई फर्काउनका लागि पहिला किनारा खोज्नुपर्ने छ । सरकारले किनारा खोज्न उच्चस्तरीय समिति गठन गरेको छ ।

 

२८ माघसम्मको म्याद पाएको समितिले अहिलेसम्म अन्तिम किनारा भेटेको छैन । यद्यपी आवश्यक विवरण खोजिसकेको समितिका संयोजक पुण्य पौडेलले बताए । केही दिनभित्रै सीमांकन सहितको नयाँ नक्सा जारी हुने उनले बताए ।

 

ताल हेर्नेको भीड

 

सँधै भरिभराउ ताल देखेकाहरुलाई सानो आकारको ताल हेर्दा अनौठो लाग्ने नै भयो । तालको पानी घटाइएको समाचार आएपछि अहिले फेवातालमा दर्शकको भीड छ । टिकटक बनाउने देखि फोटो खिच्नेहरु ताल किनारमा प्रशस्त भेटिन्छन् ।

 

तालको पानी शनिबारदेखि घटाउन थालिएको हो । पानीको सतह अझै घटाउने क्रम चलिरहेको छ । पानी घटेको थाहा पाएर ताल हेर्न पुगेका पोखरेलीले तत्काल तालको सुख्खा भएको माटो निकाल्न सुझाब दिने गरेका छन् ।