close

सुनसान छन् बागलुङका होमस्टे

सुनसान छन् बागलुङका होमस्टे

Trulli
ADVERTISEMENT

गलकोट । बर्खा लागेपछि बागलुङका घरबास (होमस्टे) पाहुनाविहीन बनेका छन् । असार–साउनमा बागलुङमा पर्यटकको आगमनसमेत ह्वात्तै घटेको छ भने घरबास सञ्चालकसमेत खेतीपातीको काममा व्यस्त भएका छन् । 

बागलुङका पर्यटकीय सम्भावना भएका गाउँमा पछिल्लो समय घरबास कार्यक्रम निकै प्रभावकारी छ । बर्खामा पर्यटकको आगमनमा कमी हुनु, ग्रामीण सडक समस्याग्रस्त हुनु र बाढीपहिराका घटनामा वृद्धिका कारण घरबासमा कमैमात्र पर्यटक पुग्न थालेका हुन् । महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण दुई वर्ष थला परेका घरबास कोरोनापछि राम्रै चलेको पाइएको छ । असारपछि भने जिल्लामा राम्रै नाम कमाएका घरबास सुनसान छन् ।

बर्खामा घरबासमात्रै होइन, जिल्लाका पर्यटकीयस्थल तथा होटल व्यवसायसमेत सुनसानजस्तै छन् । जिल्लाको चर्चित घरबासमध्येको अतिथि सत्कार घरबास भकुण्डे, किकल्टा घरबास ताराखोला, काठेखोला गाउँपालिकास्थित धम्जाको बेलढुङ्गालगायत घरबाससमेत बर्खा लागेपछि सुनसानजस्तै छन् ।

अहिले बर्खा लागेपछि कमै मात्रमा घरबासमा पाहुना आउने गरेको भन्दै भकुण्डेस्थित अथिति सत्कार घरबासका सञ्चालक अप्सरा थापाले भदौपछि मात्रै घरबासमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुने बताए । 

यो सयम घरबासका लागि समेत खासै राम्रो सिजन नभएको बताउँदै बागलुङको काठेखोला गाउँपालिका–३ धम्जास्थित बेलढुङ्गा सामुदायिक घरबासका सञ्चालक गोपाल श्रीषले अब दशैँ–तिहारको सिजनलाई घरबासले तयारी थालेको बताए । 

भौगोलिकरूपमा सुन्दर, ताल, झरना तथा दृश्यावलोकन भएको स्थानका घरबास राम्रोसँगै चलेका छन् भने सञ्चालकले समेत मनग्य आम्दानी गर्दै आएका छन् । ताराखोलाको ठूलोहिले घरबासमा जङ्गली रातो च्याउको जोहो भइरहेको र अर्नाकोट घरबासमा बाकोको सिन्की बनाउने काम चलिरहेको छ । ताराखोलामा उत्पादन भएको जङ्गली रातो च्याउको स्वाद लिनकै लागि घरबासमा पाहुना पुग्ने गरेका छन् भने ताराखोलाको किकल्टा घरबासमा सिस्नोको परिकार खानका लागि पाहुना त्यहाँ पुग्ने गरेका छन् ।

जिल्लाको चर्चित पर्यटकीय गन्तव्यका रूपमा रहेको ढोरपाटन उपत्यका आसपासमा खुलेका आधा दर्जन घरबाससमेत अहिले सुस्ताएका छन् । जिल्लाका अधिकांश घरबासका सञ्चालक खेतीपातीको काममा व्यस्त हुने गरेका छन् । अठ्ठाइस सामुदायिक घरबासमध्ये रेशको माहुरी झरना घरबास, अर्नाकोट घरबास, किकल्टा घरबास, तोरीखोला घरबास तथा अतिथि सत्कार घरबासमा बढी मात्रमा पहुना पुग्ने गरेका छन् ।