close

बढे जखेरा तालमा घुम्ने पर्यटक

बढे जखेरा तालमा घुम्ने पर्यटक

Trulli
ADVERTISEMENT

काठमाडौं । दाङ चुरे पहाडको फेदमा रहेको दाङको लमही नगरपालिका–५ मा रहेकाे जखेरा ताल हाल पर्यटकको मुख्य आकर्षक केन्द्र बन्न पुगेको छ ।

पूर्व तथा पश्चिम सिमानामा वन तथा जङ्गल, दक्षिणतर्फ चिटिक्क परेको मुसुण्डी गाउँ तथा उतरतर्फ चुरे पहाड र सो पहाडको फेदको बीचमा पर्ने जखेरा तालको मनमोहक दृश्यले यतिखेर सबैलाई नै लोभ्याउने गरेको छ । 

कोरोनाको समयमा सुनसान रहेको उक्त तालमा अहिले वर्षात‍्को समयमा पनि चहलपहल बढेको छ । विशेष गरेर बिदाको दिनमा ताल घुम्न आउनेको सङ्ख्या बढी हुने गरेको छ ।

अहिले उक्त ताल अवलोकन, घुमघाम  गर्ने र त्यस क्षेत्रमा वनभोज खानको लागि वर्षात्को समयमा पनि दैनिक एक सयदेखि दुई सयको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको ताल संरक्षण समितिका कर्मचारी ओमभगत चौधरीले जानकारी दिए । 

तालमा ढुङ्गा चढ्न पर्यटक निकै उत्साहित हुन्छन् तर थोरै मात्र डुङ्गा भएकाले पालो कुर्नुपर्ने भएपछि पर्खने गरेको समितिका कर्मचारी चौधरीले बताए । एक पर्यटकलाई  पूरै तालमा ढुङ्गा चढेर जलविहार गरेमा रु एक सय तथा मन्दिर दर्शनका लागि ५० शुल्क निर्धारण गरिएको छ ।

जखेरा तालको अवलोकन गर्न पुगेकी कोहलपुर नगरपालिका–५ की कालिका रेग्मीले पहिलो पटक तालमा आउँदा निकै आनन्द आएको बताए । 

शिक्षण पेशामा सम्लग्न रहेकी उनले दाङमा बसेर पढ्ने आफ्नो छोरी भेट्न आएको बेला छोरीको रोजाइँमा आफू यहाँ घुम्न आएको जानकारी दिए । 

‘यति ठूलो र सुन्दर ताल होला भनेर आफूले नसोचेको र यसलाई अझै सफा र स्वच्छ राख्नका लागि स्थानीयवासी सबै लाग्नुपर्छ,’ उनले थपे, ‘ताल त धेरै लोभलाग्दो रहेछ तर यहाँका केही समस्या छन् । जस्तो कि तालको छेउमा जाली, पर्यटकका लागि शौचालय तथा फोहोरको उचित व्यवस्थापन हो ।’

ताल संरक्षण समितिका उपाध्यक्ष रामसिंह केसीले जखेरा तालको संरक्षणमा सबैले पहल गर्नुपर्ने बताए । 

उनले विगतका वर्षमा नागरिकको अथक श्रमदान र राज्यका निकायले गरेको सहयोगले नै अहिले ताल जिल्लाकै मुख्य पर्यटकीय केन्द्रका रुपमा परिचित हुन पुगेको बताए । 

विगतका वर्षमा भने सो ताल जलकुम्भी झार र माटोले पुरेको थियो । जिल्ला भूसंरक्षण कार्यालय, कृषि विकास कार्यालय, ताल संरक्षण समिति तथा नागरिक सबैको सहयोगका कारण ताल यो अवस्थामा आउन सफल भएको हो उपाध्यक्ष केसीले बताए । 

ताल अवलोकन गर्न आउनेका लागि खानेपानीको उचित व्यवस्था, फोहोर व्यवस्थापन, सुरक्षाका लागि तालको छेउछेउमा जाली, पर्यटकलाई तालमा घुम्न ढुङ्गाको पर्याप्त व्यवस्था, गेट निर्माण हुन नसक्नु समस्या भएको  उनले बताए । 

त्यसैगरी तालसम्म पुग्ने करिब डेढ किमी सडक कालोपत्र नहुँदा पनि  समस्या हुने गरेको छ । तालको विकासका लागि लमही नगरपालिकाबाट केही आर्थिक सहयोग प्राप्त भएकोमा त्यसबाट बगैँचालगायत भौतिक पूर्वाधार निर्माण गरिएको थियो ।

यस्तो छ, तालको पृष्ठभूमि

यस तालको आफ्नै एतिहासिक पृष्ठभूमि छ। स्थानीय थारु भाषमा जुन ठाउँमा आकाशे पानी सङ्कलन भएर जम्मा हुन्छ । त्यस ठाउँलाई जखेरा भनिन्छ ।

विस २०३०मा साविकको सोनपुर गाविस हालको लमही नगरपालिका नगरपालिका–३ निवासी स्व दीपु चौधरीको नेतृत्वमा सोनपुर, टिकुलीगढ, फल्कापुर, श्री गाउँका स्थानीय बुद्धिजिवी मिलेर त्यसैखेर गईराखेको आकाशे पानी तथा वन क्षेत्रबाट बगिरहेको पानी सङ्कलन गरी सिँचाइ गर्न   चुरे फहाडको फेदीमा  कृतिम रुपमा  खाडल खनि मानव निर्मित जल भण्डारणको रुपमा पोखारी बनाइएको थियो ।

सोही पोखरी अहिले जखेरा तालको नाममा परिचित  छ । दाङको लमही बजारबाट छ किलोमिटर पूर्वमा रहेको सुनडबरी गाउँ हुँदै उत्तरतर्फ करिब दुई किलोमिटर टाढा यो ताल पर्छ । पूर्वपश्चिम राजर्मागबाट नजिकै रहेकाले  हिउँदको समयमा भारत तथा तेस्रो मुलुकबाट ताल हेर्न पर्यटक आउने गरेका छन् ।