close

शिकारमा रमाउँदै पर्यटक

शिकारमा रमाउँदै पर्यटक

Trulli
ADVERTISEMENT

ढोरपाटन शिकार आरक्षमा वर्षको पहिलो शिकार याम चलिरहेको छ । विदेशी शिकारी नाउर र झारलको शिकारमा रमाइरहेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यो याममा नौ नाउर र छ झारलको शिकार अनुमति दिएको थियो ।

केही शिकारी शिकार खेलेर फर्किसकेका छन् भने कोही आरक्ष पुग्ने सुरसारमा छन् । शिकार कम्पनी ग्लोबल सफारिज नेपालका प्रबन्ध निर्देशक शम्सेर पराजुलीका अनुसार तोकिएका कोटामध्ये पाँच नाउर र दुई झारलको शिकार भइसकेको छ ।

उनको कम्पनीमार्फत ढोरपाटन पुगेका जर्मन शिकारीले फागुने ‘ब्लक’मा झारलको शिकार गरेर फर्किसकेका छन् । नाउर शिकारका लागि केही दिनमा अमेरिकन शिकारीसहित जाने तयारी भइरहेको प्रबन्ध निर्देशक पराजुलीले बताए । 

‘बार्से’ ब्लकमा नाउरको शिकार गरिनेछ । “हाम्रो कम्पनीमार्फत नाउर शिकारका लागि क्यानेडियन नागरिक पनि आउने तय भएको थियो, अस्वस्थताका कारण अन्तिममा उहाँ आउन सक्नुभएन”, प्रबन्ध निर्देशक पराजुलीले भने, “अरु पनि केही शिकारी नआएका कारण तोकिएजति नाउर र झारलको शिकार नहुने भएको छ ।”

शिकार कम्पनी ट्रयाक एण्ड ट्रेल्र्सका प्रतिनिधि दीपक थापाले दुई अमेरिकन शिकारी दोगाडी र घुस्तुङ ‘ब्लक’मा शिकार खेलेर गत मङ्गलबार फर्किएको बताए । “यही कात्तिक २ गते आरक्ष पुगेको हाम्रो कम्पनीको शिकार टोली झण्डै दुई साता त्यहाँ बिताएर फर्किसकेको छ”, उनले भने, “यो यामको शिकार अब अन्तिमतिर आइपुगेको छ, आउँदो मङ्सिर दोस्रो साताभित्र सबै फर्किसक्छन् ।”

आरक्षमा नेपाल ट्राभल एक्पिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ आउटफिटर, ट्र्याक एण्ड ट्रेल्र्सलगायत शिकार कम्पनीले शिकार खेलाउँदै आएका छन् । बर्सेनि (असोज–मङ्सिर) र (फागुन–बैसाख) गरी दुई याममा शिकार खुला हुन्छ । शिकार खेल्न खर्चिला पर्यटक ढोरपाटन आउँछन् ।

विभागले गराउने बोलपत्रको प्रतिस्पर्धाबाट छानिएका कम्पनीले विदेशी शिकारीलाई नेपाल भित्र्याउँछन् । यो याममा एउटा नाउर शिकारमा २० लाख र झारललाई ६ लाखसम्म राजश्व तिर्न कम्पनी तयार भएको ग्लोबल सफारिजका प्रबन्ध निर्देशक पराजुलीले बताए । 

शिकार कम्पनीबीच बोलपत्रमा हुने प्रतिस्पर्धाका आधारमा शिकारको राजश्व दर घटबढ हुने गर्छ । कुनै याममा शिकारको माग कम आउँदा कम्पनी प्रतिस्पर्धा गर्न चाहान्नन् । माग बढी हुँदा भने सीमित कोटाका लागि प्रतिस्पर्धा बढ्छ र कम्पनी पनि बढी राजश्व तिर्न तयार हुन्छन् ।

शिकार पर्यटनमा विश्वमै प्रख्यात ढोरपाटन आउन विदेशीले लाखौँ खर्चन्छन् । उनीहरू हेलिकप्टरबाट आरक्षमा पुग्छन् । आधारशिविरबाट आरक्षका प्रतिनिधि, पथप्रर्दशक, भरिया, सहयोगीसहित उनीहरू शिकार ‘ब्लक’सम्म पुग्छन् । आधारशिविरबाट दूरीले टाढा र कठिन भूगोल भएका ‘ब्लक’मा पुग्न दुई/तीन दिनसम्म लाग्छ । 

शिकार टोली हतियारसहित सबै बन्दोबस्ती लिएर जाने गर्छन् । आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात शिकार ‘ब्लक’ छन् । शिकारीले ‘बल्क’ अनुसार तोकिएको सङ्ख्यामा नाउर र झारलको शिकार गर्न पाउने आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए ।