close

सूर्यविनायकमा ‘शिव सर्किट’ निर्माण

सूर्यविनायकमा ‘शिव सर्किट’ निर्माण

Trulli
ADVERTISEMENT

भक्तपुर– धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले सूर्यविनायक नगरपालिकाले ‘शिव सर्किट’ निर्माण गरेको छ । ‘धार्मिक पर्यटन र प्राकृतिक सौन्दर्यता, समृद्ध सूर्यविनायक नगरपालिका’ भन्ने नाराका साथ नगरपालिकाले शिव सर्किट निर्माण गरेको हो । 

नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिकाको १ देखि १० वडासम्म रहेका प्रसिद्ध शिव मन्दिरलाई एउटै मार्गबाट जोडेर सवारीसाधन र पैदल दुबै मार्गबाट जान सकिने गरी मार्ग निर्माण गरेको बताए ।
    
नगर प्रमुख थापाले भने, ‘आन्तरिक तथा बाह्य पर्यटकको प्रर्वद्धनमा टेवा पु¥याउने, स्थानीय धार्मिक सम्पदाको संरक्षण एवं विकास गर्ने र सूर्यविनायक नगरपालिकाभित्र रहेका ग्रामीण क्षेत्रको विकासमा टेवा पु¥याउने मुख्य उद्देश्यले हामीले शिव सर्किट निर्माण गरेका हौ, मेरो यसअघिको कार्यकालमै सुरु भएको यो अभियानले अहिले सार्थकता पाएको छ, अब छिट्टै जनप्रतिनिधिको टोलीले यो मार्गको संयुक्त अवलोकन गरेर शुभारम्भ गर्ने तयारीमा छौँ ।’

अनन्तलिङ्गेश्वर र सूर्यविनायक नगरपालिकालाई मिलाएर बनेको साविक बालकोट, सिरुटार, दधिकोट, गुण्डु, कटुञ्जे, सिपाडोल, नंखेल र चित्तपोल गाविस अन्तर्गत पर्ने सूर्यविनायक नगरपालिकाको करिब १४ किलोमिटरको दूरीमा रहेका प्रसिद्ध १३ शिव मन्दिरमा पुग्न एउटै सडक प्रयोग गर्नेगरी शिव सर्किट निर्माण गरिएको हो । उनले भने, ‘शिव सर्किटलाई यस नगरपालिकाको अर्को पहिचानका रुपमा अगाडि बढाउँदै छौँ, यहाँको आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यका साथ हामीले काम गरेका हौँ, अघिल्लो कार्यकालमा नगरपालिकाले शिव सर्किटको सर्वे गर्ने, विस्तृत अध्ययन परियोजना (डिपीआर) तयार पार्ने काम ग¥यौ र यो कार्यकालमा पूर्णता दियौँ ।’
    
नगरपालिकाकी उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाले शिवसर्किट सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिइन् । नगरपालिकाले १ देखि १० वडासम्म रहेका प्रसिद्ध शिवमन्दिरको विकास तथा व्यवस्थापन समितिका अध्यक्ष एवं पदाधिकारी, वडाअध्यक्ष र सरोकारवालासँग शिव सर्किट सञ्चालन गर्नेबारेमा छलफल सकेको बताइन् । मन्दिर आएका आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक सहयोग गर्ने, एक मन्दिरबाट अर्को मन्दिरमा जान अभिप्रेरित गर्ने र आवश्यक समन्वय गर्ने निर्णय भएको जानकारी दिँदै उनले आवश्यक पूर्वाधार एवं सडक सञ्जालले पनि सबै मन्दिरलाई सारेको बताइन् । 

वाग्मती प्रदेशसभा सदस्य एवं स्थानीयवासी किरण थापाले यहाँका घ्याम्पेडाँडा, रानीकोट, बोकाचोगढी आफैमा एउटा प्राकृतिक भ्यूटावरमा रुपमा रहेको जनाउँदै अनन्तरलिङ्गेश्वरमा निर्माण भएको भ्यूटावर र यस क्षेत्रमा करोडाँैको लगानीमा निर्माण भइरहेको होटल, होमस्टे, रानी झुला, झोलुङ्गे पुलले पर्यटकलाई आकर्षित गरिरहेको बताए । 
    
डोलेश्वर महादेव मन्दिर केदारनाथको शिर रहेको पत्ता लागेपछि यहाँ धार्मिक पर्यटनको सम्भावना निकै बढेको अनुभूति भएपछि यहाँका शिवालयलाई धार्मिक पर्यटनसँग जोडेर लैजाने अवधारणा बनेको उनले बताए । छोटो दुरीको आन्तरिक पर्यटन तथा साहसिक पर्यटनको विकासका लागि सूर्यविनायकले सफलता प्राप्त गर्दै गएको जनाउँदै उनले घ्याम्पेडाँडामा जीपलाइन सञ्चालनमा हुनु, घ्याम्पेडाँडा, रानीकोट, आशापुरी लगायतका क्षेत्रमा होटल, रिसोर्ट तथा होमस्टे सञ्चालन हुनुले पनि पर्यटक आकर्षण गर्न सफल भएको बताए ।

सूर्यविनायक नपाको वडा नं ९ र १० को सिमानामा रु एक करोड १६ लाखको लागतमा निर्माण सम्पन्न गरी हाल नगरपालिकाले सञ्चालनमा ल्याएको दुई सय ४४ मिटर लामो झोलुङ्गे पुलले पनि शिव सर्किटलाई जोड्ने भएको छ ।