close

होफेनको प्रथम चाँगुनारायण नगर अधिवेशन सम्पन्न

होफेनको प्रथम चाँगुनारायण नगर अधिवेशन सम्पन्न

Trulli
ADVERTISEMENT

भक्तपुर- होमस्टे (घरबास) महासंघ नेपाल (होफेन) को नगस्तरीय कार्यशाला गोष्ठि एवम् प्रथम चाँगुनारयण नगर अधिवेशन सम्पन्न भएको छ । नेपालको होमस्टे घरबास महासंघ नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिका, होमस्टे डेभलपमेन्ट नेटवर्क र चाँगुनारायण सामुदायिक होमस्टेको सहकार्यमा आइतबार नगरपालिकाको वडा नम्बर ४ स्थित शान्तिपार्कमा सो अधिवेशन सम्पन्न भएको हो । 

अधिवेशनबाट कान्छा लामाको अध्यक्षतामा होमस्टे महासंघ नेपालको चाँगुनारायण समिति गठन गरिएको छ ।  चाँगुनारायण तदर्थ समितिका उपाध्यक्ष  कान्छा लामाबाट विद्यमान समिति विघटन गरी ५ सदस्यीय निर्वाचन मण्डलबाट समितिको गठन गरिएको होफेनका संस्थापक सहसचिव  तथा होमस्टे डेभलपमेन्ट नेटवर्कका अध्यक्ष राजकुमार लामिछानेले बताए । उनका अनुसार बागमति प्रदेशका स्थानीय तहमध्ये चाँगुनारायण नगरपालिकाले पहिलो अधिवेशन सम्पन्न गरेको हो । 

उनले नगरपालिकामा दर्ता भएका होमस्टेहरुमध्येबाट प्रतिनिधि चयन गरी समिति गठन गरेको जानकारी दिए । नगरपालिकाभित्र १३ वटा होमस्टे दर्ता भई सञ्चालनमा आएको उनले पालिकाखबरलाई जानकारी दिए । अधिवेशनमा नगरभित्रका १३  होमस्टे मध्ये ९ वटा होमस्टेबाट ४४ जना प्रतिनिधिहरुको सहभागिता रहेको उनले जानकारी दिए । 

उनले नगर क्षेत्रमा पर्यटकीय क्षेत्र तथा होमस्टेलाई प्रर्वद्धन गर्नको लागि नगरपालिकाले होमस्टे सञ्चालन कार्यविधि ल्याएको र सोही अनुरुप काम भइरहेको बताए । 

कार्यक्रमका विशेष अतिथि तथा चाँगुनारायण नगरपालिकाका पूर्व नगरप्रमुख सोमप्रसाद मिश्रले  होमस्टेकर्मीहरुको एकताबद्ध पहलकदमी हुनुपर्ने बताए ।  नवनिर्वाचित नगर समितिलाई बधाई तथा शुभकामना  व्यक्त गर्दै   उनले होमस्टेको विकास/विस्तारमा आ-आफ्नो क्षेत्रबाट सक्ने सहयोग तथा पहल गर्न  अनुरोध गरे ।

 उनले  नीति तथा कार्यक्रम र  बजेटमा होमस्टेलाई समाबेश गराउन आवश्यक रहेको बताए । होमस्टेकर्मीहरुले सरकारी तथा गैरसरकारी निकायले राखेका कार्यक्रमहरु ल्याउनका लागि समयमै प्रस्तावहरु पेश गर्न सुझाव दिए । 


बागमती प्रदेश सभाका सांसद सुरेश श्रेष्ठले आर्थिक बर्ष २०८०/८१ मा बागमती प्रदेश सरकारले होमस्टे पर्यटनका लागि टेवा पुग्ने गरी ल्याएको नीति कार्यक्रम तथा बजेटबारे जानकारी दिए ।  उनले चाँगुनारायण नगरमा होमस्टेको विकास र विस्तार र प्रवर्द्धनका लागि विगतमा गरिएका कामहरुको स्मरण गर्दै थप सहयोग गर्न तयार रहेको जानकारी दिए । 

बागमती प्रदेश माननीय मुख्यमन्त्री ज्युको प्रमुख सल्लाहकार डिपि ढकालले प्रदेश सरकारले यसपटक चक्रपथ र मध्यपहाडी राजमार्गसंग भक्तपुरलाई जोड्ने मेघा प्रोजेक्टलाई प्राथमिकता दिएकाले  प्रत्येक डाँडामा होमस्टे खोलेमा आगामी दिनमा सो प्रोजेक्टबाट पाहुनाको आगमनमा सहज हुने बताए ।  

बागमती प्रदेश सभा सांसद प्रेमभक्त महर्जनले आफू होमस्टेकर्मी नै भएको र होमस्टे एसोसिएसनमा रहेर काम पनि गरेकाले आफूलाई होमस्टेको समस्या के हुन थाहा भएकाे बताए । उनले संसदमा रहेर सरकारलाई होमस्टे मैत्री नीति तथा कार्यक्रम ल्याउन दबाव निरन्तर दिइरहेको र आगामी दिनमा पनि आफू निरन्तर होमस्टे पर्यटनलाई नै बढी जोड दिने पक्षमा रहेको बताए ।