close

तालको संरक्षण गर्दै तमानखोला गाउँपालिका

तालको संरक्षण गर्दै तमानखोला गाउँपालिका

Trulli
ADVERTISEMENT

बागलुङ- समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा छ, बराह ताल । हिउँदमा हिउँ फूलले ढाकिने र बर्खामा चारैतिर हरियाली देखिने यो ताल बागलुङको मुख्य पर्यटकीय गन्तव्य हो ।

बोङ्गादोभान र भयरबोङ्गा गाउँको शिरमा रहेको बराह ताल अहिलेसम्म संरक्षित हुन सकेको थिएन । ताल संरक्षण नहुँदा यहाँ पुग्ने पर्यटकले फोहर फ्याँक्ने र पानी दूषित बनाउने गर्थे । अहिले तमानखोला गाउँपालिका तालको संरक्षणमा जुटेको छ ।

घना जङ्गलको बीचमा रहेको यो ताल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । सिद्धबराह मन्दिर पनि यही ताल छेउमै छ । त्यसले धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरेको छ । पदयात्राका लागि निकै सम्भावना बोकेको बराह तालमा भौगोलिक विकटताका कारण अघिल्लो वर्षसम्म सडक पुगेको थिएन । गाउँपालिकाले गत वर्षमात्रै भयरबोङ्गा, मुठाचौर हुँदै यहाँ सडक पुर्‍याएको छ ।

पहाडको टुप्पोमा रहेको तालमा ढोरपाटन नगरपालिकाको अधिकारीचौर, तनमाखेला-२ खोलेस्बाङ र भयरबोङ्गा गाउँबाट सहजै पुग्न सकिन्छ । गाउँपालिकाको केन्द्र बोङ्गादोभानबाट पैदल यात्रा गरेको दुई घण्टामै यहाँ पुग्न सकिन्छ भने गाडीमा एक घण्टामै पुग्न सकिन्छ । पालिका केन्द्रदेखि खोलेस्बाङसम्म गाडी र एक घण्टाको जङ्गलमा पैदल यात्रा गरी करिब ४५ मिनेटमा तालसम्म पुग्न सकिन्छ ।
तालसम्म पुग्नका लागि धेरै गोरेटो रहेको हुँदा पर्यटकलाई यहाँ पुग्न समस्या छैन । ताल र छेउँमै रहेको सिद्ध बराह मन्दिर तथा यहाँबाट देखिने अनगिन्ती हिमश्रृङ्खला र दृश्यले जोकोहीलाई मोहित पारिरहेको छ । बागलुङ जिल्लाकै सबैभन्दा उच्च स्थानमा रहेको ताल अघिल्लो वर्षसम्म व्यवस्थित बन्न सकेको थिएन ।

गाउँपालिकाले केही वर्षयता निरन्तर काम गर्दै आएपछि पर्यटक पनि बढ्न थालेका छन् । केही वर्ष अगाडिसम्म गाउँलेले पूजा गर्ने ठाउँ बराह ताल क्षेत्र हो ।

गोठालाले पशुचौपाया चरन क्षेत्रका रुपमा सो क्षेत्र प्रयोग गर्ने गर्छन् । वर्षौं पहिले बनेको जीर्ण मन्दिर, खुला ताल र अव्यवस्थित तालका कारण पर्यटक पुग्न सकेका थिएनन् । गाउँपालिकाले मन्दिरको पुनर्निमाणसँगै प्रचारप्रसार थालेपछि अहिले आन्तरिक पर्यटक आकर्षित हुँदै गएका छन् ।

तमानखोला–२ मुठाचौरमा रहेको बराह तालमा गाउँपालिका र प्रदेश सरकारले अहिलेसम्म रु एक करोड बढी लगानी गरेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए ।

लामो समयदेखि अव्यवस्थित बनेको तालको संरक्षणसँगै अन्य संरचना बनाएपछि अहिले निकै व्यवस्थित बनेको अध्यक्ष बुढामगरको भनाइ छ । पालिकाले ताल र मन्दिर नजिकै शौचालय, खानेपानीको व्यवस्थापनसँगै घेराबार गरिरहेको उनले बताए ।

पदमार्गसमेत निर्माण भइसकेको हुँदा पर्यटकलाई सहज भएको बुढामगर बताउँछन् । ‘बराह तालमा हामी निर्वाचित भएर आएदेखि नै संरक्षण र प्रचारप्रचारमा जुटेका छौँ, अघिल्लो कार्यकालदेखि लाखौँ रकम विनियोजन गरेर काम गर्दै आएका छौँ, मन्दिर, खानेपानी, शौचालय र घेराबारको काम भएको छ, पोहरसालसम्म मोटरबाटो पुगेको थिएन, प्रदेश सरकारसँग सहकार्य गरेर बाटो पुर्‍यायौँ’, अध्यक्ष बुढामगरले भने, ‘पहिले सुनसान थियो, निकै कम पर्यटक आउने गर्थे, अहिले सडक पनि पुग्यो, पदमार्ग पनि निर्माण गर्‍यौँ, यहाँसम्म पुग्न सहज भएपछि धेरै पर्यटक पुग्न थालेका छन्, यसको प्रचारप्रसार र थप संरचना बनाउनका लागि गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गरेर काम गर्दै आएको छ ।’

ताल नजिक रहेको सिद्ध बराह मन्दिरमा पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । वैशाखे पूर्णिमामा बागलुङका विभिन्न स्थान, गुल्मी, प्यूठान, अर्घाखाँचीलागायत ठाउँबाट भक्तजन पूजाआजा गर्न यहाँ आउने गर्छन् । यहाँबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायत दर्जनौँ हिमशृङ्खला देखिने अध्यक्ष बुढामगरको भनाइ छ ।

यो याम घुमफिर र वनभोजको हुँदा बिदाका दिन सयौँ मान्छे बराह ताल पुग्ने गरेका छन् । स्थानीय तिलकुमारी रसाइलीले अहिले बराह ताल राम्रो बनेको बताए । पहिलेपहिले पुशचौपाया र यहाँ आउने मान्छेले ताल फोहर गर्ने गरेको जनाउँदै उनले अहिले पानी सफा रहेको बताए ।

तीन वर्ष अगाडिसम्म नयाँ वर्ष, होली पूर्णिमालगायत पर्वमा पर्यटक यहाँ घुम्न आउने गरेकामा अचेल हरेक महिना तालमा आउने, फूलसँग रमाउने र फोटो खिच्ने गरेको रसाइलीले बताए । तालसम्म बाटो पुगेपछि स्थानीयलाई समान ढुवानी गर्न र यात्रा गर्न सहज भएको उमको भनाइ छ ।

रसाइलीले भने, ‘पहिला तालमा बाहिरबाट आउने मान्छेले चाउचाउ, बिस्कुटका कागज, पानीका बोतल र फाल्ने गर्थे, गाईभैँसी तालमा छिर्थे, जसले गर्दा तालको पानी फोहर हुने गथ्र्यो, अहिले निकै सफा छ, राम्रो पनि देखिएको छ, पहिलेको तुलनामा घुम्न आउने मान्छे पनि बढेका छन्, पैदल हिँड्ने बाटो पनि बनेको छ, गत वर्षदेखि गाडी हिँड्ने बाटो बनाएका छन्, त्यही भएर मान्छे त्रिपाल टाँगेर राति बास बस्न पनि यहाँ आउँछन् ।’