close

बुटवल उपमहानगरमै धान र कन्ये च्याउको पकेट क्षेत्र

बुटवल उपमहानगरमै धान र कन्ये च्याउको पकेट क्षेत्र

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको बुटवल उपमहानगरभित्र कंक्रिटका भवन ठडिएसँगै कृषियोग्य भूमि कम हुँदै छ । पालिकाको वडा नम्बर १२ देखि १९ सम्मका भू-भागमा केही व्यावसायिक रूपमा तरकारी, मौरीपालन, केरा खेती, धानको बिउ उत्पादन हुँदै आएको छ ।


सीमित क्षेत्रमा रहेको भूमिलाई उपयोग गर्दै बुटवल उपमहानरले ‘कृषि पकेट’ क्षेत्र निर्माण गरी काम सुरु गरेको हो । चालू आर्थिक वर्षमा उपमहानगरले ३ वटा पकेट क्षेत्र निर्माण गरी काम गरिरहेको हो ।

 

कन्ये च्याउका लागि २ वटा र एउटा धानको बिउका लागि पकेट क्षेत्र निर्माण गरिएको बुटवल उपमहानगरका कृषि विकास शाखाका वरिष्ठ कृषि विकास अधिकृत सन्तोष जिसीले बताए ।

 

उनका अनुसार कन्ये च्याउ र धानको बिउका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत लगानी गरिएको छ भने किसान, समूह र सहकारीबाट पनि ५० प्रतिशत लगानी गर्नुपर्नेछ ।

 

परियोजनामार्फत २ वटा पकेट सञ्चालनका लागि नगरपालिकालाई २० लाख रुपैयाँ उपलब्ध गराएकामा उसले थप १ वटा पकेट क्षेत्र निर्माण गरी ३ वटामा बराबर लगानी गरेको छ ।

 
कन्य च्याउको पकेट क्षेत्र निर्माणका लागि भिजन सहकारी संस्था बुटवल बेलबास र बुटवल अर्गानिक तरकारी अर्गानिक उत्पादक कृषक समूहले हाल काम गरिरहेका छन् । सहकारी र समूहबाट उत्पादित च्याउ अहिले बजारकरण भइरहेको छ ।


भिजन सहकारी बेलबासका सञ्चालक जमुना सुवेदीका अनुसार हाल ३० देखि ४० किलोसम्म च्याउ बजारमा गइरहेको छ । सहकारीबाट ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत लगानीमा १ हजार किलो च्याउको बिउ लगाइएको सुवेदीले जानकारी दिइन् ।


बेलबासमा सहकारीले जग्गा भाडामा लिएर च्याउको व्यावसायिक खेती गरिरहेको छ, जसमा करिब ६ हजार च्याउका बल्भ रहेका छन् । पकेट कार्यक्रममा १ हजार किलो च्याउको बिउ लगाउनुपर्ने गरी मापदण्ड निर्धारण गरिएको छ । 


भिजन च्याउ पकेट सञ्चालक समितिका अध्यक्ष विष्णु भुसाल च्याउ उत्पादनमा सफलता मिलेकाले आगामी वर्षमा पनि सोही प्रकृतिको कामलाई निरन्तरता दिइने सुनाउँछन् । 


एउटा बल्भबाट २ देखि ४ किलोसम्म च्याउ उत्पादन हुन्छ । एउटा पकेटबाट करिब २४ हजार किलो च्याउ उत्पादन हुने अनुमान उनको छ । 


यस्तै, उन्नत जातको धानको बिउ उत्पादन गर्ने गरी बुटवल उपमहानगरले आदर्श कृषि सहकारी संस्था वडा नम्बर १६ लाई पकेट निर्माणका लागि जिम्मा दिएको छ । सहकारीले २० हेक्टर क्षेत्रफलमा उन्नत जातको धान रोपेर बिउका लागि मात्रै काम गर्नुपर्नेछ ।

 

६ सय कठ्ठामा धानको बिउ उत्पादन गरी बिक्री गर्न पकेट क्षेत्र बनाउन जिम्मा दिइएको नगरपालिकाले जनाएको छ । यसका अलवामा बुटवल उपमहानगरको वडा नम्बर १५ मा अवस्थित जागरुक बहुउद्देश्यीय कृषक समूह, वडा नम्बर १२ को सिद्धबाबा तरकारी उत्पादक कृषक समूह, वडा नम्बर १३ को उर्बरशील महिला कृषक समूहले तरकारी उत्पादन गरिरहेका छन् ।


यस्तै, बुटवल उपमहानगर वडा नम्बर १८, १५ र १४ मा केरा खेतीका लागि व्यावसायिक बगैँचा स्थापना गरिएको छ भने बुटवल १९, १२, १५ र १६ नम्बर वडामा व्यावसायिक मौरीपालन सुरु गरिएको छ । 


बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीले नगरमा व्यावसायिक कृषिका लागि जग्गा अभाव देखिन थालेपछि बचेखुतेको जग्गालाई उपयोग गरी अर्गानिक उत्पादनमा जोड दिन थालिएको बताए ।

 

नगरप्रमुख सुवेदीले भने, ‘हामीले नगरमा जे–जति कृषिका लागि जग्गा छ, त्यसको उपयोग गरी अर्गानिक उत्पादनमा जोड दिँदै आएका छौँ ।’