close

ललितपुरको कोञ्ज्योसोम र बुखेलका कृषकलाई अनुदानमा कृषि सामग्री 

ललितपुरको कोञ्ज्योसोम र बुखेलका कृषकलाई अनुदानमा कृषि सामग्री 

Trulli
ADVERTISEMENT

ललितपुर- ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका दलचोकी र शंखु तथा महाँकाल गाउँपालिकाको बुखेलका कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरिएको छ ।

 

खेतबारी जोत्ने मिनिटिलर, वेटिङ काँटा, पानी छर्कने स्प्रे तथा बिरुवा रोप्ने मेसिन प्राप्त वितरण गरिएको हो । कार्यक्रममा सहकारी संस्थाका प्रबन्धक उमेश घिमिरेले चालू आर्थिक वर्षको पछिल्लो ६ महिने अर्धवार्षिक प्रगति समीक्षासमेत प्रस्तुत गरेका थिए । 

 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ भक्तपुर कार्यालय तथा कृषि ज्ञान केन्द्र ललितपुरबाट प्राप्त उक्त सामग्री चापागाउँमा अवस्थित उज्यालोकिरण साना किसान कृषि सहकारी संस्थासँगको समन्वयमा सहकारी संस्थाले सदस्य कृषकलाई वितरण गरेको हो । 

 

कोञ्ज्योसोम गाउँपालिका वडा नम्बर २ शंखुमा रहेको संस्थाको सदस्य सेवा काउन्टर कार्यालयमा आयोजित कार्यक्रममा ३ वटा वडाका कृषकलाई १३ वटा ७-५ हर्ष पावरको मिनिटिलर, ५० वटा वेटिङ काँटा, १० वटा बिरुवा रोप्ने मेसिन र २० वटा स्प्रे गाउँपालिका अध्यक्ष गोपीलाल सिंतान र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रतिनिधि श्रीराम लम्सालको उपस्थितिमा वितरण गरिएको हो । 

 

कार्यक्रममा गाउँपालिका अध्यक्ष सिंतानले साना किसानको हित र समृद्धिका लागि सहकारी संस्थामार्फत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तथा कृषि ज्ञान केन्द्रबाट प्राप्त आधुनिक उपकरण र सामग्रीले उब्जनी बढाउन सहयोग पुग्ने बताए ।

 

वितरित सामग्रीको सही सदुपयोग गर्न आग्रह गर्दै उनले सदुपयोग नभएको पाइए सरकारबाट प्राप्त हुने किसानमैत्री कार्यक्रम बन्द हुन सक्नेतर्फ सचेत गराए । कोञ्ज्योसोम गाउँपालिकाको विकासमा उज्यालोकिरण साना किसानले खेलेको सकारात्मक अभियानको उनले प्रशंसा गरे । 

 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रतिनिधि श्रीराम लम्सालले परम्परागत कृषि प्रणाली परिवर्तन नगरेसम्म कृषक व्यावसायिक हुन नसक्ने हुँदा उनीहरूको आर्थिक अवस्थामा परिवर्तन र सुधार ल्याउन सहकारी संस्था र स्थानीय सरकारसँगको समन्वयमा यस किसिमका कृषि सामग्री सरकारले अनुदानमा वितरण गरेको बताए । 


यसैगरी शंखुका वडाध्यक्ष ध्रुवप्रसाद घिमिरेले पनि कृषिको प्रमुख पकेट क्षेत्रको रूपमा रहेको शंखुलगायतका क्षेत्रमा आधुनिक कृषि उपकरण प्राप्त हुँदा कृषकको परम्परागत कृषि प्रणाली र आर्थिक अवस्थामा सुधार आई व्यावसायिकतातर्फ अगाडि बढ्न सघाउ पुग्ने विश्वास व्यक्त गरे । 

 

उनले भने, ‘यी सामग्री प्रयोगपछि कृषकको उत्पादन वृद्धि भएको व्यवहारमा देखिनुपर्छ । त्यसो भए मात्र राज्यले लगानी गरेको उपलब्धि देख्न सकिन्छ ।’ उनले यसै आर्थिक वर्षमा शंखुका कृषकलाई गाउँपालिकाले अनुदानमा भैँसी वितरण गरेको र त्यसको भोलिपल्ट साविकभन्दा ५ सय लिटर दूध शंखुमा थप उत्पादन भएको बताए ।

 

उक्त अवसरमा ८ जना सहकारीका सेयर सदस्य कृषकलाई उनीहरूको मागको आधारमा प्रदेश सरकारबाट प्राप्त ३ प्रतिशत सहुलियत ब्याजको ३ लाख रुपैयाँसम्मको कर्जा वितरण गरिएको थियो । 

 

केही समयअघि आगलागीपीडित बनेकी संस्थाकी सदस्य प्रतिमा घिमिरेलाई सदस्य सहयोग कार्यक्रमअन्तर्गत १ लाख रुपयाँको राहत चेक हस्तान्तरण गरिएको थियो । 

 

थप कृषि सामग्री आवश्यक पर्ने सदस्यका लागि आगामी १०, ११ र १२ फागुनमा दलचोकी, शंखु र चौघरेका कृषकलाई माग संकलन तथा क्षमता विकास तालिम राखिएको सहकारी संस्थाका अध्यक्ष बद्रीप्रसाद घिमिरेले जानकारी दिए ।