close

कृृषि उद्यमबाट लखपति बन्दै लालकुमारी : खाली डाँडागाउँ लेखानी तरकारीले हराभरा

कृृषि उद्यमबाट लखपति बन्दै लालकुमारी : खाली डाँडागाउँ लेखानी तरकारीले हराभरा

Trulli
ADVERTISEMENT

बागलुङ–बागुलङको काठेखोला वडा नम्बर ८ की लालकुमारी पुनलाई १० वर्षअघिसम्म खान–लाउनसमेत समस्या थियो । घरको आर्थिक अवस्था कमजोर भएकाले मेलापातबाट कमाएको पैसाले घरखर्च चलाउनुपथ्र्यो ।

 

चार छोरी हुर्काउन उनलाई धेरै समस्या भयो । मजदुरीबाट मात्रै जीवन चलाउन नसकेपछि उनले कृषि व्यवसाय गर्ने योजना बनाइन् । सुरुमा लगानी गर्ने पैसासमेत थिएन । घरपरिवारले त्यो काममा साथ दिएको थिएन ।

 

एकल बलबाट घरको काम छाडेर उनी कृषि उद्यम तालिम खोज्दै सदरमुकाम आइन् ।  संयोगवश उनले तालिमसमेत लिन पाइन् । उक्त तालिम र खेतबारीमा गरेको मिहिनेतले उनी जिल्लाकै सफल किसानमा गनिन थालेकी छिन् ।

 

आफ्नो बारी र भाडाको समेत गरी अहिले ५ वटा प्लास्टिकका टनेल बनाएर उनले तरकारी उत्पादन गरिरहेकी छिन् । सुरु–सुरुमा बिक्री गर्न नसक्दा उनको उत्पादन बारीमै कुहिन्थ्यो । अहिले सहजै बिक्री हुन्छ ।

 

‘महिलाले लगाएको भनेर सुरु–सुरुमा मेरो बारीको तरकारी कसैले खाइदिएनन्,’ उनले भनिन्, ‘सदरमुकाम लगेर बेचेको तरकारी फेरि गाउँमै आएको देखेँ ।’

 

गाउँमा पैसा तिरेर तरकारी किन्न लजाएकाहरू अहिले धमाधम किनेर खान थालेको उनले सुनाइन् । आफ्नै मिहिनेतले अहिले गाउँ–गाउँमा तरकारी बिक्न थालेको उनको दाबी छ ।

 

लालकुमारीलाई आफ्नै तरकारी उत्पादन गाउँलेहरूले खाने बनाउन दस वर्ष लाग्यो । सबै उत्पादन बजार पठाएर उनले पैसा कमाउन थालेपछि परिवार, श्रीमान् र छिमेकीले हेर्ने नजरिया फेरिएको छ ।

‘अहिले दुई वर्षदेखि मलाई गाउँमा सम्मान गर्न थालिएको छ’, पुनले भनिन्, ‘मेरो उत्पादन बारीबाटै सजिलै बिक्री हुन्छ ।’

 

अहिले उनले वार्षिक ५ लाख रुपैयाँ बढीको तरकारी गाउँमै बिक्री गर्छिन् । गाउँका धेरै संस्थामा उनी अध्यक्ष र सचिवजस्ता पदमा बस्न थालेकी छिन् । ‘प्रगति गरेपछि सबैले पदमा पनि लैजाने रहेछन्,’ उनले भनिन्, ‘कृषि पेसालाई व्यावसायिक बनाउँदा सबै पेसा जित्न सकिन्छ ।’ 

 

१० वर्ष अघिसम्म खालीडाँडा भनिने लेखानीलाई उनकै पहलमा हरियाली बनिरहेको छ । ‘खालीडाँडा भन्ने गाउँ अहिले तरकारीको पकेट मानिन्छ,’ वडाध्यक्ष चित्रकला छन्त्यालले भनिन्, ‘पुनले गरेको अगुवाइमा अहिले धेरै किसानले तरकारी लगाउन थालेका छन् ।’ 

 

पुनले २ वर्षदेखि ५ रोपनी जमिनमा बेमौसमीसहित खुर्सानी, लसुन, प्याज र गोलभेडाजस्ता तरकारी उत्पादन गरिरहेकी छिन् । पछिल्लो समय पुनले विभिन्न पुरस्कार र सम्मानसमेत पाएकी छिन् । टनेलभित्र अन्य तरकारी पनि लगाउन सकिन्छ भन्ने उनले प्रयोग गरेकी थिइन् ।

 

तत्कालीन कृषि विकास कार्यालयसँगै लघु उद्यम विकास कार्यक्रम, नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनलगायत संस्थाले पुनलाई नमुना र अगुवा किसानको रूपमा प्रशिक्षकसमेत बनाउन थालेका छन् ।