close

नर्सरी खेतीले लखपति बन्दै गेडेगाउँका रावत

नर्सरी खेतीले लखपति बन्दै गेडेगाउँका रावत

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको बूढीनन्दा नगरपालिका वडा नम्बर ८ गेडेगाउँका बुदे रावतले नर्सरी खेतीबाटै मनग्ये आम्दानी गरिरहेका छन् । रोजगारीका लागि भारत पसेका उनले त्यहाँ कामको बोझ सहन नसकेर स्वदेश फर्किएपछि आफ्नै बारीमा नर्सरी खेती गरेर राम्रो आम्दानी लिन थालेका हुन् ।

 

उमेरले ५० नाघेका रावतले २०६० बाटै तरकारी खेती सुरु गरेका हुन् । रावतले व्यावसायिक नर्सरी खेती थालेको भने ४ वर्ष मात्र बितेको छ । पीसविन सम्पूर्ण परियोजना र कृषि ज्ञान केन्द्रले अनुदान लगानीसहित सीप सिकाएपछि नर्सरी खेती राम्रो भएको रावत बताउँछन् ।

 

सिंगो परिवार नर्सरी खेतीबाटै धानेका रावतले वार्षिक १ लाख रुपैयाँ बैंकमा बचत गर्दै आएका छन् । अर्काको भारी बोक्नुपर्ने र गालीवचन सहन नसकेर स्वदेश फर्किएका रावतले अहिले सफल नर्सरी किसानको परिचय बपनाएका छन् । कोल्टी क्षेत्रमा आवश्यक बोट बिरुवा आफ्नै नर्सरीबाट जाने गरेको रावतले बताए ।
पीसविन सम्पूर्ण परियोजना नै आफ्नो अभिभावक बनेको बताउने रावतले कृषि पेसा आनन्द र स्वतन्त्रको सुनाउँछन् । ‘कसैको दबाब र गाली छैन । आफूले स्वतन्त्र भएर काम गर्न पाइने पेसा भएकाले अरूले पनि रोज्नुपर्छ’, उनले भने ।

 

स्याउ, ओखर, कागती, सुन्तला, मौसमी, किबी, आरुसहितका बिरुवा रावतले आफ्नै नर्सरीमा उत्पादन गरिरहेका छन् । २ कक्षासम्म पढेका रावत आफैं हिसाबकिताब गर्ने र बिरुवामा देखिने अधिकांश समस्याबारे अनुभवले जानकार भएको सुनाउँछन् । ‘छोराछोरीको पढाइ–लेखाइसहित परिवारको खर्च नर्सरीबाटै धानेको छु’, रावतले भने, ‘बुहारीलाई समेत पढाउँदै आएको छु । नर्सरीले आम्दानी दिँदै आएकाले सन्तुष्ट छु ।’ कमल फलफूल नर्सरी फार्म नै दर्ता गरेर व्यवसाय अगाडि बढाउँदै आएको उनले बताए ।

 

धान, गहुँ लगाएर मिहिनेतको फल आए पनि गुजारा मात्र हुने भएकाले पेसालाई व्यावसायिक र आधुनिक ज्ञान, सीप र प्रविधिसँग जोड्नुपर्नेमा रावतको सुझाव छ ।