close

कार्यक्रम पास नहुँदा कृषि शाखाका कर्मचारी फूसर्दिला

कार्यक्रम पास नहुँदा कृषि शाखाका कर्मचारी फूसर्दिला

Trulli
ADVERTISEMENT

धनकुटा– महालक्ष्मी नगरपालिकाको कृषि शाखाका कर्मचारी फूसर्दिला भएका छन् । नगरपालिकाले कृषि क्षेत्रको कार्यक्रम पास नगर्दा उनीहरु फूसर्दिला भएका हुन् । 

नगरपालिकाको कृषि पशुपन्छी तथा सहकारी उपशाखाकी प्रमुख तथा  वागवनी विकास अधिकृत दिलकुमारी राईका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षमा कृषि शाखाको लागि २२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमध्ये मिनिटिलर लगायतका आधुनिक सामाग्री वितरण तथा मौरी पालनको विकासको लागि नगरपालिकाले १७ लाख रुपैयाँ तथा फलफूल प्रवर्द्धन कार्यक्रमका लागि कृषक समुहलाई प्रदान गर्न  ५ लाख रुपैयाँ छुट्याइएको छ। 

चालु आर्थिक वर्षको लागि कार्यक्रम बनाएपनि कुनैपनि कार्यक्रम हालसम्म पास नभएको उनले बताइन् । आन्तरिक स्रोतबाट कृषक समुहलाई रकम उपलब्ध गराउने भएकाले सो कार्यक्रम हुन्छ की हुँदैन भन्ने अन्याैल रहेको छ । ‘हामीले कार्यक्रम तयार गरेर बुझाइसक्यौँ । कार्यपालिकाबाट पास गर्न मान्नु भएको छैन । मेयरसाबले दशैँ तिहारपछि गरौँँला भन्नु भएको छ । अहिले हामी चुप लागेर बसेका छौँ,’ कार्यपालिकाले कार्यक्रम पास गरेपछि शाखाबाट काम गर्न थालिने उनले पालिकाखबरलाई बताइन् । 

गत आर्थिक वर्षमा पनि कृषि शाखामा खासै केही कार्यक्रम नभएको उनले बताइन्। मिनिटिलर बनाउने सम्बन्धि २ लाख रुपैयाँ खर्चिएर तालिम प्रदान गरिएको थियो । ‘संघीय सशर्त अनुदानबाट प्रधानमन्त्री कृषि आधुनिकीकरणसम्बन्धी २ वटा कार्यक्रम सञ्चालन भए । किसान सूचीकरणसम्बन्धी ३ लाख रुपैयाँको कार्यक्रम भयो,’ प्रदेशले तरकारी प्रवर्द्धनसम्बन्धी कार्यक्रमको लागि १५ लाख रुपैयाँ पठाएकोमा कार्यपालिकाको निर्णयबाट वडा/वडामा बीउहरु बाँडिएको उनले बताइन् ।