close

वैकल्पिक सिँचाइ व्यवस्थाकाे लागि पालिकाकाे ट्युबवेल

वैकल्पिक सिँचाइ व्यवस्थाकाे लागि पालिकाकाे ट्युबवेल

Trulli
ADVERTISEMENT

महोत्तरी - मटिहानी नगरपालिकाले स्यालो ट्युबवेल जडान र मोटर पम्पसेट उपलब्ध गराएपछि कृष्कलाई राहत मिलेको छ । नगरपालिकाले  बुधबार स्यालो ट्युबवेल जडान गरेसँगै ३० जना किसानलाई मोटर पम्पसेट उपलब्ध गराएको हो ।

नगरपालिकामा सिँचाइ अभावका कारण खेती गर्न नपाएकाले कृषकले उब्जनी गराउन सकेका थिएनन् । यसपाली अनुकूल वर्षा नभएर धानबाली लगाउन नपाएका किसानलाई सिँचाइको वैकल्पिक व्यवस्था भएपछि  गहुँ र अन्य तरकारीबाली लगाउन सहज भएको छ । 'ट्युबवेलमा मोटर पम्पसेटको सहायताले सिँचाइ गरी गहुँ तथा तरकारी लगाउन सहज भएको छ', स्थानीय जैश शेषले भने ।

नगरका नौ वडाका बस्तीमा वैकल्पिक सिँचाइ व्यवस्थाका लागि आवेदन दिएका किसानलाई उक्त ट्युबवेल र मोटर पम्पसेट खरिदमा नगर कार्यालयले ८५ प्रतिशत लगानी गरेको उनको भनाइ छ । 

उक्त कार्यक्रमका लागि रू ४५ लाख ४८ हजार खर्च भएको कार्यालयका योजना अधिकृत राजेशकुमार शर्माले जानकारी दिए । उनका अनुसार यसबाट एक सय ५० बिघा क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ । 

यसअघि कार्यालयले फलफूल रोपन, मखान बजार व्यवस्थापनमा सहयोगी सामग्री, दाइँ गर्ने यान्त्रिक उपकरणलगायत कृषि सामग्री उपलब्ध गराएको नगरप्रमुख हरिप्रसाद मण्डलले बताए। गहुँ र अन्य तरकारी बालीका उन्नत बीउ पनि किसानलाई उपलब्ध गराउँदै आइएको उनको भनाइ छ ।

पालिकाले पाँच वर्षयता बर्सेनि मौसमअनुसार बाली लगाउन बीउ, जैविक मललगायत सामग्री दिँदै आएको किसान मेराज अन्सारीले बताए । यस्ता कार्यक्रममले किसानलाई राहत महसुस भएको उनको भनाइ छ ।