close

कृषि सामग्री पाएपछि मटिहानीका किसान उत्साहित

कृषि सामग्री पाएपछि मटिहानीका किसान उत्साहित

Trulli
फाइल तस्विर
ADVERTISEMENT

 महोत्तरी- कृषि कार्यका सहयोगी ज्यावल र बीउ पाएपछि महोत्तरीको मटिहानीका किसान उत्साहित छन् । ब्याडमा पानी पटाउने हजारी, पानी भण्डारण गर्न ड्रम, उत्पादन टिप्ने र बजार पुर्याउने क्रेट, औषधि छर्कने ‘स्प्रेयर, नानो नाइट्रोजन’ झोल, ‘नर्सरी ट्रे’सहितका कृषि सामग्री र सागजब्जीका बीउ मटिहानी नगरपालिकाले किसानलाई वितरण गरेको छ ।

प्रारम्भिक चरणमा मटिहानी–७ र ९ का कृषक समूहमा आबद्ध ३० किसानले यी सामग्री पाएका छन् । सामान्यतः सागजब्जी खेतीमा आवश्यक सबैजसो सामग्री पाएपछि किसान खुुसी छन् । अहिले बैशाखी सागजब्जी लगाउने बेलामै सामग्री पाएपछि निस्फिक्री काममा लाग्न सहज भएको किसानहरू बताउँछन् ।

यसअघि मङ्सिरमा मटिहानी नगरपालिकाले गहुँखेती गर्ने किसानलाई बीउ उपलब्ध गराएको थियो । यो सुविधा नगरक्षेत्रका नौ सय किसानले पाएका मटिहानी नगर कार्यपालिकाको कार्यालयका कृषि शाखा प्रमुख टङ्कप्रसाद उपाध्यायले बताए ।

मटिहानी नगर कार्यपालिकाले आफ्नो क्षेत्रको कृषि उत्पादन बढाउन विभिन्न मौसमी बालीका समयमा बीउ, मलदेखि अन्य प्रविधिलगायत किसानलाई सुविधा दिँदै आएको जनाएको छ । 'हाम्रो नगरको मुख्य आधार नै कृषि हो, त्यसैले विभिन्न बाली लगाइने बेला किसानका लागि खास ‘प्याकेज’मा सहयोग गर्दै आएका छौँ', नगरप्रमुख हरिप्रसाद मण्डलले भने ।

नगर कार्यपालिकाको कार्यालयले पछिल्ला तीन–चार वर्षयता निरन्तर कृषि प्रवर्द्धनमा जोड दिँदै आएको लाभग्राही किसानले बताएका छन् । धान, गहुँँ र मौसमी सागजब्जीको बीउ समयमा पाउँदा निकै राहत मिलेको मटिहानी–५ का किसान नागेन्द्र यादव बताउँछन् । कार्यालयले यसअघि ‘स्यालोट्युबवेल’ जडान गरी ३० जना किसानलाई मोटर ‘पम्पसेट’ उपलब्ध गराएको थियो । 'स्यालो ट्युबवेल जडान र ‘मोटर पम्पसेट’ भएपछि बाली लगाउन पाइने भएको छ', मटिहानी–२ का किसान शेषमहम्मद जैश भन्छन् ।

नगरका नौवटै वडाबस्तीमा वैकल्पिक सिँचाइ व्यवस्थाका लागि आवेदन गरेका किसानलाई स्यालो ट्युबवेल जडान र मोटर पम्पसेट खरिदमा कार्यालयले कूल लागतमा ८५ प्रतिशत र सम्बन्धित किसानले १५ प्रतिशत रकम लगानी गरेका थिए । यसैगरी कार्यालयले यसअघि फलफूल रोप्न, मखान बजार व्यवस्थापन सहयोगी सामग्री, दाइँ गर्ने यान्त्रिक उपकरण र कृषि ज्यावल किसानलाई उपलब्ध गराएको थियो । पछिल्ला पाँच वर्षयता बर्सेनि  मौसमअनुसार बाली लगाउन बीउ, कृषि ज्यावल, जैविक मलसहितका सामग्री दिँदै आएको छ । प्राप्त सहयोगबाट आपूmजस्ता गरिब किसानलाई निकै राहत मिलेको मटिहानी–६ का मेराज अन्सारी बताउँछन् ।