close

उत्कृष्ट कृषकलाई चिचिला सरकारको पुरस्कार

उत्कृष्ट कृषकलाई चिचिला सरकारको पुरस्कार

Trulli
फाइल तस्विर
ADVERTISEMENT

संखुवासभा - चिचिला गाउँपालिकाले उत्कृष्ट कृषि व्यवसायीलाई प्रोत्साहन तथा पुरस्कार वितरण गर्दै आएको छ । गाउँपालिकाले कृषिमा स्थानीय बासिन्दाको आकर्षण बढाउनुका साथै प्रोत्साहन बढाउनका लागि सो कार्यक्रम सञ्चालन गरेको हो । 

गाउँपालिकाका अध्यक्ष पासाङ नर्बु शेपाका अनुसार पालिकाले विगत तीन वर्षदेखि सो कार्यक्रम सञ्चालन हुँदै आएको हो । गाउँपालिकाको अधिकांश स्थानीय बासिन्दा कृषिमै आबद्ध भएकाले आफ्नो पहिलो कार्यकालमै सो कार्यक्रम ल्याएको  उनले पालिकाखबरलाई बताए । 

गाउँपालिकाले चालू आवमा पनि सो कार्यक्रमको लागि बजेट विनियोजन गरेको उनको भनाइ छ । कार्यक्रम सञ्चालनमा आएसँगै कृषिप्रति स्थानीय बासिन्दाको आकर्षणसमेत बढेको उनको अनुभव छ । 

गाउँपालिकाको कृषि विकास शाखाका अधिकृत यासा लिम्बुका अनुसार पालिकाले गत वर्ष पाँच जना स्थानीय कृषकलाई सम्मान गरेको हो । गाउँपालिकाले प्रत्येक वडाका एक एक जना कृषकलाई १० हजार रुपैयाँ नगदसहित सम्मान गरेको उनले पालिकाखबरलाई बताइन् । तर चालु आवमा कार्यक्रमबारे छलफल गर्न बाँकी रहेको उनले सुनाइन् । 

उत्कृष्ट कृषक छनौटका लागि गाउँपालिकाले प्रत्येक १५ दिनमा अनुगमन गर्ने, उत्पादन हेर्ने र राम्रो गर्ने कृषकलाई छनौट गर्ने उनले सुनाइन् । स्थानीय बासिन्दाको थोरै मात्रै जग्गा हुने भएकाले जिविकोपार्जनको लागि मात्रै कृषि गरिने उनले जानकारी दिइन् ।  

सो कार्यक्रम सञ्चालनमा ल्याएसँगै स्थानीय बासिन्दाले उत्पादनमासमेत जोड दिएको  उनको भनाइ छ । उनका अनुसार गाउँपालिकामा सुन्तला, तरकारी, प्याज, कागतीलगायत विभिन्न बाली उत्पादन हुँदै आएको छ । 

उत्पादित तरकारीलाई स्थानीय बजार तथा खाँदबारीमा बिक्री हुने उनले सुनाइन् । गाउँपालिकाले  कृषि बजारीकरणको लागि कार्यक्रम राखे पनि आवेदन नै नपरेको उनले जानकारी दिइन् । 

'गत वर्ष बजारीकरणका लागि ढुवानी खर्च उपलब्ध गराउने कार्यक्रम ल्याएका थियौँ । सोका लागि गाउँपालिकाले आवेदनसमेत माग गरेको थियो,' उनले भनिन्, 'तर कसैको आवेदन नपरेपछि चालु आवबाट सो कार्यक्रम बन्द गरेका छौँ ।'

बजारीकरणका लागि गाउँपालिकाले कृषि बजार सञ्चालनमा ल्याएको उनले बताइन् । उनका अनुसार वडा नम्बर ४ मा गाउँपालिकाले गत वर्षदेखि कृषि बजार सञ्चालनमा ल्याएको छ ।