close

'मेरो जग्गा बाँझो छैन'

'मेरो जग्गा बाँझो छैन'

Trulli
ADVERTISEMENT

मोरङ - मिक्लाजुङ गाउँपालिकाले 'मेरो जमिन बाँझो छैन' कार्यक्रम सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले बाँझो रहेका जमिनलाई खेतीयोग्य बनाउनका लागि सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । 

गाउँपालिकाका अध्यक्ष बबिकुमार राईका अनुसार पालिकाले चालु आर्थिक वर्षदेखि सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । पछिल्लो समय  जग्गा किनबेच गरेर प्लटिङ गर्ने र बाँझो राख्ने समस्या बढेपछि गाउँपालिकाले सो कार्यक्रम सञ्चालन गरेको उनले पालिकाखबरलाई बताए । 

वैज्ञानिक भू उपयोग प्रणालीको प्रयोग गरी उर्बर कृषि भूमीलाई गैरकृषि प्रयोगमा निरुत्साहित गराउनका लागि सो कार्यक्रम सञ्चालनमा ल्याएको उनको भनाइ छ । कार्यक्रमअन्तर्गत जग्गा खानी नराख्नको लागि उपयुक्त बाली लगाउनका लागि सहयोग गरिने उनले सुनाए । 

'जग्गा बाँझो नराख्नका लागि भूमीको अनुकूल बाली लगाउनका सहयोग गरिनेछ,' उनले भने, ‘पाखो बारीमा अम्रिसो, सिमसार क्षेत्रमा अलैँची तथा प्रकृतीअनुरुप तरकारी तथा फलफूल रोप्न लगाइने छ ।’

सोका लागि गाउँपालिकाले बीउ वितरण गरिने उनले सुनाए । साथै जमिन बाँझो नराख्नका लागि गाउँपालिकाले समय समयमा जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको उनको भनाइ छ । 

स्थानीय बासिन्दाको लागि गाउँपालिकाले सहयोग गर्नको लागि थोरै मात्रै बजेट विनियोजन गरेको उनको भनाइ छ । उनले भने, ‘यो सर्पोटको लागि मात्रै हो । त्यसैले हामीले कम मात्रै बजेट ल्याएका छौँ ।’

कार्यक्रम सञ्चालन गरेसँगै केही प्रभावसमेत देख्न थालेको उनले अनुभव साटेँ । उनका अनुसार गाउँपालिकाको अधिकांश जमिनमा विभिन्न बाली लगाउँदै आएको छ । 

पछिल्लो समय अरुप पालिकामा प्लटिङ जग्गा बढे पनि आफ्नो क्षेत्रमा निकै कम भएको उनले सुनाए । ‘हाम्रो पालिकामा केही क्षेत्रमा मात्रै प्लटिङ छ,’ उनले भने । ग्रामीण क्षेत्रका साथै अधिकांश स्थानीय बासिन्दा कृषि पेशामा आवद्ध भएकाले जग्गा बाँझो नभएको उनले सुनाए ।