close

रूपामा 'मह उत्पादन वर्ष'

न्युनतम ८०० लिटर उत्पादन गर्ने लक्ष्य

रूपामा 'मह उत्पादन वर्ष'

न्युनतम ८०० लिटर उत्पादन गर्ने लक्ष्य

Trulli
ADVERTISEMENT

कास्की– रूपा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ लाई मह उत्पादन वर्षको रुपमा मनाइरहेको छ । गाउँपालिकाले यस वर्ष मह उत्पादन बढाउन ‘एक घर, एक घार’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

२ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेर यो वर्षलाई मह उत्पादन वर्षको रुपमा मनाउन लागेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बतााए । गाउँपालिकाको साथ: किसानको हात भन्ने नारालाई सार्थक तुल्याउन यस वर्ष मह उत्पादन वर्षको रुपमा मनाउन लागेको उनले बताए । 

गाउँपालिकालाई मौरीपालनको हव बनाउने र उत्पादित महको ब्राण्डिङ गर्ने योजनाको साथ मह वर्षको रुपमा मनाउन लागेको हो । यस वर्ष गाउँपालिकाभित्र न्यूनतम ८०० लिटर मह उत्पादन गर्ने लक्ष्य रहेको पालिका अध्यक्ष ओझाले बताए । 

हाल गाउँपालिकाभित्र करिब तीन हजार लिटर वार्षिक रुपमा मह उत्पादन भइरहेको उनले बताए । रूपा गाउँपालिकामा तीस जना कृषक व्यावसायिक रुपमा मौरी खेतीमा आवद्ध रहेको र गाउँपालिकाले पालिका वर्ष मनाउँदा व्यावसायिक मौरी पालन गर्ने किसानहरु बढ्ने उनले बताए । 

प्रत्येक घरमा घार वितरणका लागि गाउँपालिका टेण्डर सम्झौताको प्रकृयामा रहेको उनले पालिकाखबरलाई सुनाए । ‘मौरीको घार राख्न चाहने घरलाई ५० प्रतिशत अनुदानमा घार र गोला उपलब्ध गराउँछौँ,’ उनले भने । 

गाउँपालिकाको साथ: किसानको हात नाराको साथ प्रत्येक वर्ष गाउँपालिकाले कृषि क्षेत्रका एउटा विषयलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । गत वर्षलाई गाउँपालिकाले कृषक वर्षको रुपमा मनाएको थियो । उनले भने, त्यो भन्दा अघिल्लो वर्षलाई बेमौसमी खेतीको वर्षको रुपमा मनाएका थियौँ ।’